|

गोरखा : हिन्दुहरुको ठूलो पर्व बडादशैंका लागि गोरखा दरबारको दशैँघरमा जमरा राखिएको छ। वैदिक विधि अनुसार साइत हेराएर बिहीबार बिहान ९ :४१ बजे एक पाथी चार माना जौंको जमरा राखिएको हो। भगवतीको मन्दिर र गोरखनाथ गुफामा जौंको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख शुष्मासिंह भण्डारीले जानकारी दिइन्।

‘बिहान नौ बजेर ४१ मिनेटको साइतमा पूजाआजा सहित एक पाथी चार माना जमरा राखियो’ उनले भनिन् ‘आज राखिएको जमरा दशमीको दिन भक्तजनहरुले यहाँ दरबारमा आएर टीका र आशिर्वादसँगै ग्रहण गर्न सक्नुहुनेछ।’

शाह राजाहरुको पालादेखि नै गोरखा दरबारमा जमरा राख्ने र प्रजाहरुलाई टीका तथा प्रसाद प्रदान रहेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। 

विजयको प्रतीकको रुपमा विजया दशमीमा टीकासँगै जमरा लगाउनले प्रचलन रहदै आएको छ। दशैंमा टीकासँगै जमराको प्रयोग गरेमा शक्ति मिल्ने र काममा विजयी भइन्छ भन्ने मान्यता रहदै आएको छ।

फूलपातीको तयारी

जमरा राखेसँगै गोरखा दरबारका हेरालु तथा सुसारेहरु फूलपातीको तयारीमा लागेको भण्डारीले जानकारी दिइन्। ‘जमरा राखियो अब फूलपातीको लागि तयारी हुँदैछ’ उनले भनिन्। गोरखा दरबारबाट फूलपाती काठमाडौँको हनुमान ढोका लैजाने चलन छ।

‘फूलपातीको दिन गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोकामा फूलपाती भित्र्याउने चलन छ’ उनले भनिन् ‘गोरखा दरबारका सुसारेहरुले पस्लाङ, धोद्रेवन, ठूलोवन, दरौँदीपारीको वनबाट  फूलहरु ल्याउँछन्। उनीहरुले ल्याएको नौथरीको फूल एकै ठाउँमा हालेर मिसाएर पछि त्यसलाई छुट्टछुट्टै दुई वटा पोको बनाइन्छ। एउटा गोरखा दरबारमा र अर्को हनुमान ढोकामा लगेर भित्राइन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.