|

काठमाडौं : प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये दुई वटामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटा उपमहानरपालिकामा राष्ट्रिय जनता पार्टी  नेपाल (राजपा) उम्मेदवारले अग्रता कायम गरेका छन्।

बाराका २ उपमहानगरपालिकामा एमाले

बाराको दुई उपमहानगरमध्ये जीतपुर सिमरा र कलैया नगर प्रमुखमा एमाले उम्मेदवारको अग्रता रहेको छ। जीतपुर सिमरामा एमालेका डा. कृष्ण पौडेलले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन पौडेललाई ९४० मतले पछि  पारेका छन्। पौडेलको ५ हजार ३५० मत आएको छ भने माओवादी उम्मेदवार पौडेलको ४ हजार ४१० मत आएको छ। त्यस्तै कांग्रेस उम्मेदवार कृष्णब्रत सिंह ३ हजार ५३४ मत ल्याएका छन् भने राजपाका अखिलेश सिंहले १९१ मत ल्याएका छन्।

सिमरा जितपुर उपमहानगरपालिकाको उपप्रमुखमा पनि एमाले उम्मेदवारको अग्रता रहेको छ। एमाले उपमेयर उम्मेदवार सरस्वती चौधरीले ४ हजार ८४२ मत ल्याएर अग्रता कायम गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नारायणी रायमाझीले ४ हजार ४४४ मत प्राप्त गरेकी छन्। माओवादीकी गायत्रीदेवी थरुनीले ३ हजार ८४२ र राजपाकी चित्ररेखा चौधरी १८५ मत प्राप्त गरेकी छन्।

कलैया उपमहानगरपालिकामा पनि एमाले उम्मेदवारको अग्रता कायम छ। कलैयामा एमालेका विनोद शाहले १ हजार ८०३ मत प्राप्त गरेर अग्रता कायम गर्दा संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले १ हजार ६८५ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेस उम्मेदवार राजेश यादवले १ हजार २४० मत प्राप्त गरेका छन्।  यो महानगरपालिकाको वडा नम्बर १ मा कांग्रेस उम्मेदवार हरिओम सोनार विजयी भएका छन्।

जनपुर उपमहानगरमा राजपा अग्रता कायमै

राजपाले जनकपुर उपमहानगरपालिकामा सुरुवातदेखि नै गर्दै आएको अग्रता कायम गरेको छ। यो उपमहानगरमा राजपा उम्मेदवारले झण्डै ३५ सय  मतको मतान्तर कायम गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार राजपा नेपालका लालकिशोर शाहले ५ हजार ४६ मत ल्याएर अग्रता कायम गर्दा कांग्रेसका मनोजकुमार शाह सुढीले १ हजार ७७० मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुखमा राजपाकी रिताकुमारी मिश्रले ३ हजार ६० मत प्राप्त गरेका अग्रता कायम गरेकी छन् भने कांग्रेस उम्मेदवार निलमदेवी कर्णले १ हजार ५४० मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.