|

चितवनः प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले ती गैँडाको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ।

प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।

बाढीले गैँडाको बासस्थान खलबलिएको, केही गैँडा बगाएको र केही गैँडाको मृत्युसमेत भएकाले तथ्यांक अद्यावधिकका लागि अनुगमन गर्ने केही दिनअघि चितवन निकुञ्जले प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्ताव सकारात्मक रहेको भन्दै विभागले गैँडाको अनुगमन गर्ने सोच बनाएको महानिर्देशक खड्का बताउँछन्। 

भ्याएसम्म २०७४ सालभित्रमा, नभ्याए चालु आर्थिक वर्षभित्रै गैँडाको अनुगमन गरिने उनले जानकारी दिए। यसबीचमा बाघको अनुगमन गर्नुपर्ने भएकाले समय केही ढिला हुन सक्ने देखिएको छ। बर्दिया शुक्लाफाँटा र पर्सामा भने बासस्थानमा असर नपरेको खड्काले बताए।

नेपालमा हरेक चार वर्षमा गैँडा गणना गर्ने योजनाअनुसार यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो। 

आगामी सन् २०१९ मा गैँडा गणनाको समय भए पनि प्राकृतिक प्रकोपले चितवन निकुञ्जका वन्यजन्तुलाई नराम्ररी प्रभावित बनाएकाले अवस्था पत्ता लगाउन चालु आर्थिक वर्षमा नै गैँडा गणना गर्ने तयारी गरिएको हो। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गैँडाको अनुगमन आवश्यक रहेकाले निर्णय गरेर निकुञ्ज विभागमा प्रस्ताव पेस गरिएको जानकारी दिए। ‘हामीले निर्णय गरेर निकुञ्ज विभागमा पठाएका छौँ’, कँडेलले भने, ‘बासस्थान बाढीले बिगारेको र कति बच्चा बगाएर मारेको पनि छ, त्यसैले तत्काल गणना गर्नुपर्छ भन्ने छ।’

साउन २८ गते आएको बाढीले चितवनबाट बगाएर भारत पुर्‍याएका आठवटा गैँडालाई निकुञ्जले उद्धार गरेको थियो भने बाढीले घाइते बनाएका दुईवडा गैँडा मरेको थिए। गैँडाका बच्चा बाढीले बगाएर मरेको हुन सक्ने आशंका निकुञ्जले गरेको छ। त्यसैले पनि गैँडाको गणना आवश्यक भएकाले प्रस्ताव पेस गरिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्याल बताउँछन्। 

अघिल्लो वर्ष चितवनमा विभिन्न कारणले २५ वटा गैँडा मरेका थिए। यस वर्ष साउन र भदौ महिनामा मात्रै नौवटा गैँडा मरिसकेको सूचना अधिकारी अर्यालले जानकारी दिए। 

यसअघि सन् २०१५ को गैँडा अनुगमनमा नेपालमा ६४५ गैँडा रहेकामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ। बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा रहेको बताइएको छ। गणनापछि चितवन निकुञ्जले बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिसकेको छ।

प्राकृतिक प्रकोप, रोगव्याधी तथा विभिन्न कारणले वन्यजन्तुहरू नाश हुन सक्ने भएकाले प्रजाति संरक्षणका लागि वन्यजन्तुहरूको स्थानान्तरण गर्न थालिएको हो। पछिल्लो सात वर्षमा तस्करका कारण तीनवटा गैँडा मारिएको छ। यसबीचमा एक हजार दिनसम्म शून्य चोरी शिकार समय मनाउन सफल भएको थियो। 

यो अवस्थालाई कायम राख्न ठूलो चुनौती रहेकाले सबै क्षेत्रको सहकार्यमा संरक्षण चुस्त पार्ने काम भइरहेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन्। समुदायको सहभागिताले नै संरक्षण सफल भएको मृगकुञ्ज उपभोक्ता समितिको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए। उनले भोलि शुक्रबार परेको विश्व गैँडा दिवशको अवसरमा पनि चेतनामूलक कार्यक्रम गरी दिवश बनाउन लागिएको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.