|

काठमाडौं:  धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई  पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो।

कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो। स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ। सो बैंकले  दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार रुपैयाँको हकप्रद शेयर जारी गर्न लागेको छ। नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार रु आठ अर्ब चुक्ता पुँजी पुर्‍याउन बैंकले हकप्रद शेयर जारी गर्न लागेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद शेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु नौ अर्बमाथि पुग्ने बताए। दशैँलगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ। त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ।

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छ वटा विकास बैंक रहेका छन्। मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन्। अधिकाशं विकास बैंकले चुक्ता पुँजी पुर्‍याउन हकप्रद शेयर जारी गर्न लागेका हुन्।

यस्तै, हकप्रद शेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन्। किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन्। विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद शेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा.नवराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी रु आठ अर्ब पुर्‍याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.