|

विराटनगरः विराटनगर–४ कञ्चनबारीमा रहेको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले विना चिरफार अत्याधुनिक उपकरणबाट टाउकाको ट्युमरको उपचार सुरु गरेको छ। 

नोवेलममा आँखा, नाक तथा टाउकाको ट्युमर, क्यान्सर, मासु पलाएको विना चिरफार उपचार गर्ने नोवेल अस्पतालले जनाएको छ। 

सर्जरीका प्रख्यात विशेषज्ञ चिकित्सकबाट टाउकामा हुने ट्युमरको जटिल उपचार हुने नोबेल अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए। न्यूरो सर्जरी सेवा सञ्चालन गर्न दक्षिण अफ्रिकाकै चर्चित न्यूरो सर्जनलाई ल्याइएको हस्पिटलले जनाएको छ। 

इन्डोस्कोपिक दूरविन प्रविधिको माध्यबाट हुने उपचारको शुल्क भने ४० हजारदेखि अधिकतम एक लाख ६० हजार रुपैयाँसम्म लाग्ने अस्पतालले बताएको छ।

अस्पतालमा अफ्रिकाका सर्जनसहित क्रिस्टियन मेडिकल कलेज एण्ड हस्पिटल भेल्लोर, भारतका प्राध्यापक आइप चेरियन, सोही अस्पतालका प्राध्यापक तथा न्यूरो सर्जन डा. विनोद फेलिक्स, डा. मीनाक्षी बस्नेत र डा. सञ्जीव ठाकुरले उपचार सेवा प्रदान गर्नेछन्। 

अस्पतालले अत्यन्तै न्यून शुल्कमा न्यूरो उपचार सेवा प्रदान गर्ने पनि दाहालले जानकारी दिए। टाउकामा रहेको ट्युमरको उपचार गर्दा नाकको प्वालबाट उपचार गर्ने न्यूरो सर्जन डा. विनोद फेलिक्सले बताए। ‘चिरफारविना टाउकाको उपचार गर्दा बिरामीलाई साइड इफेक्ट हुँदैन’, उनले भने, ‘उपचार गरेको २÷३ तीनमा बिरामी पूर्ण रूपमा ठीक भई डिस्चार्ज हुनेछन्।’ 

टाउकाको विना चिरफार उपचार सेवा सुरु गर्ने नेपालकै पहिलो हस्पिटल नोवेल रहेको अस्पताल प्रशासनको दाबी छ। नोवेलले विश्वभरका विभिन्न मुलुकबाट उपचारका लागि आफ्नो अस्पतालमा बिरामी आउनेगरी पूर्वाधारको विकास गर्ने तयारी गरिरहेको अस्पतालका निर्देशक डा. राजेश नेपालले बताए। ‘न्यूरोसम्बन्धी जुनसुकै उपचारका लागि पनि विदेश धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भयो’, डा. नेपालले भने, ‘टाउको जस्तो जटिल अंगको विना चिरफार उपचार गर्ने यति ठूलो काम नेपालमा नोवेलबाट सुरु भएको छ।’ 

नोवेलमा विना अपरेसन र बेहोस नबनाई मुटुको भल्भ खोल्ने र मुटुमा प्वाल परेका बिरामीको सफल उपचार हुँदै आएको छ। अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेश नेपालसहितको विशेषज्ञ चिकित्सकबाट यस्तो उपचार हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.