|

रौतहट : रौतहटको गरुडा नगरपालिकामा अझै पनि मतगणना हुन सकेको छैन। विवादको कारण बुधबार बिहान १० बजेदेखि स्थगन भएको मतगणना दलहरुबीच सहमति हुन नसक्दा अझै पनि मतगणना कार्य हुन नसकेको हो। गरुडा नगरपालिका ३ को वडाअध्यक्षमा १ मतको अन्तरले नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र पराजित भएको बिषयलाइ लिएर विवाद भएको थियो।

नेकपा माओवादी केन्द्रका गरुडा नगर प्रमुख उमेदवार विपिन जयसवालले सो वडाको पछिल्लो ठेलीको मतपत्र पुन गणना गर्न माग गरेका छन्। मतगणना कर्मचारीले सो वडाको नतिजालाइ पहिले बराबरी भनेको र फेरि केहीक्षणपछि माओवादी एक मतले पराजित भएको जनाएपछि विवाद भएको कारण बुधबार १० बजेपछि मतगणना स्थगन भएको माओवादी उमेदवार जयसवालले बताएका छन्।

यता नेकपा एमालेका नगर प्रमुख उम्मेदवार मोहमद कलिमुल्लाहले पनि पुन मत गणना गर्न माग गरेका छन्। मतगणनामा खटिएका कर्मचारीले पक्षपातमा लागेर विभेदको कार्य गरेको भन्दै कलिमुल्लाहले निर्वाचन अधिकृत सहितका कर्मचारी नै परिर्वतन गर्नुपर्ने बताएका छन्।

राजपाका केन्द्रीय सदस्य राजकुमार दासले पनि जनताले दिएको अमूल्य मतसंग कसैले खेलवाड गर्ने हक नभएको बताएका छन्। उनले पनि सो वडाको अन्तिम ठेली पुन गणना गर्न माग गरेका छन्। यता नेपाली कांग्रेसले भने यदि मतगणना पुन गर्ने हो भने वडा नम्बर १ देखि सबै वडाको फेरि गणना गर्नुपर्ने बताएको छ। पुन मतगणनाको लागि बिहीबार दिउँसो सर्वदलीय बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.