|

दमकः स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरूले पदभार सम्हालेको तीन महिना हुँदा पनि झापाको दमक नगरपालिकाका वडा कार्यालयहरू सम्बन्धित वडामा पुग्न सकेका छैनन्।

दमक नगरपालिकाका जनप्रतिनिधिले असार २६ गते पदभार सम्हालेयता दमक नगरपालिकाकै एक भवनमा संयुक्त रूपमा दशवटा वडा कार्यालयहरू सञ्चालन हुँदै आएका छन्। सम्बन्धित वडामा वडा कार्यालय नपुग्दा स्थानीयले भने सास्ती भोग्नुपरेको छ। ग्रामीण क्षेत्रबाट दमक नगरपालिकासम्म आइपुग्न उनीहरूलाई मुस्किल परेको छ। 

पदभार सम्हालेलगत्तै भएको पत्रकार सम्मेलनमा नगरका प्रमुख रोमनाथ ओलीले एक महिनाभित्रमा आफूहरूले सम्पूर्ण वडा कार्यालय स्थापन गरी सम्बन्धित वडाबाटै सेवा दिने प्रतिबद्धता जनाएका थिए। तर तीन महिना हुनै लाग्दासमेत वडा कार्यालय स्थापना नहुँदा स्थानीयहरू समस्यामा परेका छन्।

वडा कार्यालय सम्बन्धित वडामा स्थापना नहुँदा दमकको ग्रामीण क्षेत्रका जनतालाई समस्या भएको दमक– १० नलवाडीकी बबिता धिमालले बताइन्। ‘नलवाडी खोलाले घेरिएको गाउँ हो, हामी त दमकमा भए पनि उर्लाबारीबाट दमक आउनुपर्ने हुन्छ’, उनले भनिन्, ‘यो समस्या नेताहरूले देखेनन्।’ उनले वडा कार्यालय आफ्नै वडामा आएदेखि सजिलो हुने थियो बताइन्। ‘मावा खोलापूर्व बसे पनि हिउँदमा त सहजै जान सक्ने थियौँ होला’, उनले भनिन्। उनले चुनावको बेलाको प्रतिबद्धताले गर्दा चुनावमा ज्यानै जोखिममा पारेर भोट दिन गएको बताइन्। ‘चुनावको बेलामा रातभरि पानी परेर खोला तर्न पनि नसकिने अवस्था थियो’, उनले भनिन्, ‘तर पनि आज एक दिन दुःख गरेपछि अब हाम्रो काम सबै गाउँबाटै हुन्छ भन्ने सोचेका थियौँ तर अहिलेसम्म वडा कार्यालय नगरपालिकामा नै राखेका छन्।’

वडा कार्यालयहरू सम्बन्धित ठाउँमा नपुग्दा धेरै समस्या भएको दमक– ३ का दीपक खड्काले पनि बताए। उनले सानो कामका लागि पनि दमक आउनुपर्ने बाध्यता सुनाए। ‘सिंहदरबारको अधिकार गाउँगाउँमा भनियो, तर प्रचार गरेजस्तो भएन’, उनले भने, ‘हामीले चाहेका थियौँ सानो काम त अब गाउँमै हुन्छ भनेर तर गाउँसम्म वडा कार्यालय नै आएको छैन।’ सानो कामका लागि पनि नगरपालिका नै धाउनुपर्ने बाध्यता कहिले हट्ला भन्ने उनलाई लागेको छ। 

यस्तै, दमक– २ का राजेन्द्र धिमालले पनि गाउँमा वडा कार्यालय नगएको समस्या एकातर्फ भए पनि वडा कार्यालयमा वडा अध्यक्ष नै नभेटिने गरेको गुनासो गरे। ‘यहाँ एउटा सानो कामले आएको थिएँ, वडा अध्यक्ष अहिलेसम्म भेटेको छैन’, उनले भने, ‘यहाँ अरूलाई सोध्यो भने मिटिङमा जानुभएको छ भन्छन्।’

यता, दमक नगरपालिकाले भने कही दिनभित्रमा वडा कार्यालयहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले दशैँअघि दुईवटा वडा कार्यालय सम्बन्धित वडामा स्थापना गर्ने तथा अन्य वडा कार्यालयसमेत छिट्टै स्थापना गर्ने लक्ष्य रहेको बताइन्। उने दमक ८ र ३ को वडा कार्यालयचाहिँ दशँै अगाडि नै स्थापना गरिने बताइन्। उनका अनुसार नगरमा रहेका पुराना वडा कार्यालय तथा सामुदायिक भवनको मर्मत कार्य भइरहेको बेलामा गत साउनमा आएको अविरल वर्षाले प्रभाव पारेको थियो।

‘हामी नगरका पुराना वडा कार्यालय तथा सामुदायिक भवनहरू मर्मत गर्दै थियौँ, वर्षाले प्रभाव पार्‍यो’, उनले भनिन्, ‘तर पनि हामी अहिले पनि धमाधम काम गरिरहेका छौँ, पुराना वडा कार्यालय तथा सामुदायिक भवनले हुने ठाउँमा त्यसैलाई मर्मत गरेर चलाउँछौँ।’ त्यस्तो नभएको ठाउँमा तत्काललाई भाडामा भए पनि लिएर जनतालाई वडास्तरबाटै सेवा दिने उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.