|

रौतहट : जिल्लाको १८ स्थानीय तहमध्ये शुक्रबार दिउँसो १२ बजेसम्म ८ वटाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये सबैभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसले चन्द्रपुर नगरपालिकासहित चारवटा स्थानीय तहको प्रमुख पद जितेको छ। चन्द्रपुर नगरपालिकामा कांग्रेसका रामचन्द्र चौधरी र उपप्रमुखमा नेकपा एमालेकी रामरती चौधरी विजयी भएका छन्।

त्यस्तै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोपाल राय यादव र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कान्ति देवी विजयी भएकी छन्। त्यस्तै गढिमाई नगरपालिका प्रमुखमा कांग्रेसका श्यामबाबु यादव र उपप्रमुखमा कांग्रेसकै सुभद्रा गुप्ता विजयी भएकी छन्। परोहा नगरपालिका प्रमुखमा कांग्रेसका शेष वकिल र उपप्रमुखमा कांग्रेसकै सुगान्धी देवी निर्वाचित भएका छन्।

त्यस्तै माओवादी केन्द्रले मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। यमुनामाई गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका श्रीप्रसाद मुखिया बिन र उपाध्यक्षमा गीता देवी साह निर्वाचित भएका छन्। मौलापुर नगरपालिका प्रमुखमा माओवादीकै रिनाकुमारी साह र उपप्रमुखमा गौरीशंकर प्रसाद जयसवाल विजयी भएका छन्।

रौतहटमा संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले १/१ सिट जितेका छन्। देबाहीगोनाही नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरम नेपालका धर्मेन्द्र पटेल विजयी भए। उपप्रमुखमा भने माओवादी केन्द्रकी कौशिल्यादेवी यादव विजयी भएकी छन्।

ईशानाथ नगरपालिका प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता र उपप्रमुखमा हुसनी आरा खातुन विजयी भएका छन्। अहिलेसम्म सार्वजनिक नतिजामा नेकपा एमालेले एक स्थान पनि जितेको छैन। नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको चन्द्रनिगाहपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.