|

वीरगंज : पर्साको कालिकामाई गाउँपालिकामा नेपाली जनता दलबाट अध्यक्षमा विजयी भएका नथुनीप्रसाद कुशवाह ७८ वर्ष पुगे। पञ्चायती शासनकालमा २०३५/३६ सालमा  उनी भेडिहारी गाउँ पञ्चायतको अध्यक्ष थिए। राजतन्त्र समाप्तिपछि बहुदलीय व्यवस्था आएपछि २०४९ सालको स्थानीय चुनावमा पनि उनी भेडिहारी गाविसबाट अध्यक्षमा (मुखिया) निर्वाचित भए। २०५४ सालको स्थानीय निकायको चुनावमा पनि कुशवाह नै गाविस अध्यक्षमा निर्वाचित भए।

अहिले २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा कालिकामाई गाउँपालिकाबाट उनै नथुनी कुशवाह अध्यक्षमा निर्वाचित भए।

नेपाल संघीय समाजवादीका नेता नथुनी कुशवाहा जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए। नयाँ शक्ति पार्टी नेपालले यसअघिका दुई चरणको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मलासबाट चुनावमा भाग लिएजस्तै नेपाल संघीय समाजवादीले पनि जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावमा भाग लिएको हो। अध्यक्षका उम्मेदवार कुशवाहा १५३ मत अन्तरले विजयी भएका हुन्।

राजतन्त्रदेखि लोकतन्त्रसम्म किन अध्यक्ष?

जमिन्दार परिवारमा जन्मिएका नथुनीप्रसाद कुशवाहा शुद्ध साकाहारी हुन भने उनी आर्य धर्म मान्छन्। गाँउका दिनदुखीलाई सक्दो सहयोग गर्ने भावनाले गाँउका सबैको प्रिय रहेका छन्।

चिने नचिनेको सबै गरिब व्यक्तिहरुलाई छोरीको विहेदेखि लिएर विरामी परेको बेला आर्थिक सहयोग पनि गर्छन्। गाउको स–साना झै झगडाको पञ्चायतीमा एकदम निष्पक्ष निर्णय गर्ने गरेको कारण सबैको लोकप्रिय रहेको बताउँछन स्थानीय पन्नालाल चौरसिया।

जनप्रतिनिधिविहीनताको अवस्थामा स्थानीय निकायमा भएको भ्रष्टाचारको विरुद्धमा नथुनी जहिले पनि  उभिरहे। स्थानीय तहको तेस्रो चरणको निर्वाचनका बेला आफूले अध्यक्षमा जितेमा शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माणको काम ५ वर्षभित्र गर्ने संकल्प गरेका छन्। कालिकामाई गाउँपालिका ४ का नरेन्द्र तिवारीले नवनिर्वाचित अध्यक्ष कुशवाहलाई आफूहरुले विश्वास गरेर मत दिएको बताउँदै त्यसको मुख्य कारण इमान्दारिता भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.