|

काठमाडौं  : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले सञ्चारमैत्री वातावरण निर्माणका लागि प्रयास गरिरहरेको बताएका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने,“सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ।”

मन्त्री बस्नेतले सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेको उदाहरण दिए। उनले धेरै देशले विकास र समृद्धि प्राप्त गरेको बताए। सूचना प्रविधिको क्षेत्रलाई देशभर बिस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको बताए। 

“कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पुर्‍‍याउने गरी काम भइरहेको छ,” उनले  भने,“राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्नेमा सरकार गम्भीर भएर कार्य गरिरहेको छ।” 

मन्त्री बस्नेतले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाममा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनले फोटो पत्रकारलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको धारणा राखे।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले विधागत पत्रकारिताको विकासका लागि फोटो पत्रकार संस्थागत रुपमा अगाडि बढेको बताए। उनले आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गरे।

उनले फोटो पत्रकारिताका नाममा पत्रकारले लाखौँ रुपैयाँ खर्च गरेर क्यामरा किने पनि क्यामरा र मान्छेको बिमा नहुँदा समस्या परेको बताए। 

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताए। 

समूहका अध्यक्ष धुव्र आले, पूर्वअध्यक्ष कवीन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारी लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा बताए। 

विसं २०५३ मा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आबद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिए। 
कार्यक्रममा विभिन्न विधामा फोटो पत्रकारितामार्फत योगदान पुर्‍याउने पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कवीन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, साहसिक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.