|
फोटो : रासस

काठमाडौं : यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार बालकृष्ण चापागाई पुरस्कृत भएका छन्। प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कारबाट पत्रकार धर्मेन्द्र झा पुरस्कृत भएका छन्। प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिक उत्सवको अवसर पारेर शुक्रबार प्रदान गरिएको पुरस्कारको राशी १ लाख ५ हजार रुपैयाँ रहेको छ। उनीहरुलाई शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन्।

त्यस्तै २५ हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सुनसरीको सप्तकोशी एफएम पुरस्कृत भएको छ। प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट चितवनका हरिहर खनाल र काठमाडौंका वियोगी बुढाथोकी पुरस्कृत भएका छन्। यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ। १० हजार राशीकै प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कारबाट सप्तरीका मुरलप्रसाद यादव, भाषागत पत्रकारिता पुरस्कारबाट काठमाडौंका विणा सिन्हा पुरस्कृत भएका छन्।

प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कारबाट अञ्जली थापा, कोपिला कँडेल, टीका विष्ट, कमला पन्थी, इन्दिरा अर्याल पुरस्कृत भएका छन्। यो पुरस्कारको राशी पनि १० हजार रुपैयाँ रहेको छ।

१० हजार राशीकै प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कारबाट ओमप्रकाश घायल, रामकुमारी रुबी श्रेष्ठ, राघेश्याम पटेल, नमनकुमार शाही र रामचन्द्र चौधरी पुरस्कृत भएका छन्।  

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट डण्ड गुरुङ, मानसिंह विक, रविन थपलिया, अनिलकुमार कर्ण, मदन ठाकुर, सन्तोष रुचाल, महेशकुमारी चौधरी र विजेता चौधरी पुरस्कृत भएका छन्। त्यस्तै प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कारबाट बसन्त गिरी, भरत शाह, सीता मादेम्बा, दीपेन्द्र रावल, बसन्त रुपाखेती र कृष्ण प्रजापति पुरस्कृत भएका छन्। यी दुवै पुरस्कारको राशी पनि १० हजार रुपैयाँ छ।

प्रेस काउन्सिल सशस्त्र लेखन पत्रकारिता पुरस्कारबाट पत्रकारहरु यम बिरही, नवराज महतरा, माधव अर्याल, नवराज भण्डारी र माया केसी पुरस्कृत भएका छन्। त्यस्तै प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट देवेन्द्र चुडाल, पद्मभक्त खरेल, मुरारी गौतम पुरस्कृत भएका छन्। यो पुरस्कारको राशी पनि १० हजार रुपैयाँ रहेको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका प्रमुख निकायलाई अनुगमन, नियमन, मूल्यांकन गर्ने भएकाले पत्रकारितालाई चौथो अङ्ग भनिएको भन्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नु बताइन्।

केही मिडिया, सामाजिक सञ्जालका प्रयोगकर्ताका कारण प्रेस स्वतन्त्रताको गलत प्रयोग भएको हो कि भन्ने अनुभूति भएको पनि राष्ट्रपति भण्डारीले बताइन्। प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले पत्रकारितालाई अझ जिम्मेवार, व्यवसायिक र उत्तरदायी बनाउन सुझाव दिइन्।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानले लेख्न, बोल्ने सुविधा दिएको भए पनि सँगै बन्देज गर्न सक्ने व्यवस्था पनि गरेको भन्दै प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी ऐन बन्न सक्ने खतरा औल्याए। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेसमाथि केही अङ्कुश लगाउने खतरा देखिएकोभन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.