|

  • महेश्वर अधिकारी-

बारा : नेकपा एमालेलाई पूर्वपश्चिम राजमार्ग छेउका स्थानीय तहमा जित्न नदिने कांग्रेस र माओवादी केन्द्रको योजना बाराको निजगढ र रौतहटको चन्द्रपुर नगरपालिकामा सफल भएको छ। यी तहमा एमाले रोक्न कांग्रेसमाओवादी तालमेलको प्रयास भएको थियो। निजगढमा कांग्रेसको नेतृत्वमा तालमेल भए पनि चन्द्रपुरमा माओवादी नेतृत्वमा तालमेल गर्ने भनिए पनि अन्तिममा भाँडिएको थियो।

तालमेल भएको निजगढमा प्रमुख पदमा गठबन्धनका उम्मेदवार कांग्रेस नेता सुरेशकुमार खनाल विजयी भए। उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्का भन्दा ८३० मत बढी ल्याएर विजयी भए। तर माओवादी केन्द्रबाट उपप्रमुखको उम्मेदवार भने पराजित भए। माओवादी नगर संयोजक समेत रहेका बेनीबहादुर मोक्तानलाई ३९७ मतले पछि पार्दै एमालेकी लिलादेवी लामिछाने खनाल उपप्रमुख निर्वाचित भइन्। खनालले ६७७३ मत ल्याउँदा मोक्तानले ६३७६ मतमात्र ल्याए।

रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसका रामचन्द्र चौधरी विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले ८८३१ मत ल्याए। माओवादी केन्द्रका युवराज भट्टराईले ७८९४ मत प्राप्त गरे। पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिका पनि तालमेल गर्ने माओवादी अध्यक्ष प्रचण्डको योजना अन्तिममा आएर असफल भएको थियो। त्यहाँ माओवादीका उम्मेदवार राजन पौडेल प्रमुख र कांग्रेसकी निरु रायमाझी उपप्रमुख रहने गरी तालमेल गर्ने भनिए पनि केही स्थानीय नेताले नमानेपछि तालमेल हुन सकेको थिएन।

अहिले जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार डा. कृष्ण पौडेलले अग्रता कायम राखेका छन्। २४ वडा मध्ये १५ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा माओबादी केन्द्रले ७ वडामा जित हात पारेको छ। ४ वडामा नेकपा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा राजपा नेपालका उम्मेदवार विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.