|

बैतडी : प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान एकैसाथ सञ्चालन गरेको छ। शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने मूल नाराका साथ ‘प्रहरी हाम्रो टोलमा’ भन्ने अभियान बैतडीमा पनि सुरु भएको छ।

प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ यो अभियानको सुरुआत गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए। 

यो अभियानको उद्घाटनका लागि शुक्रबार बिहान सदरमुकाम गोठलापानीबाट र्‍याली सुरु भएर गढीस्थित जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रममा परिणत भएको थियो।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षता तथा जिल्ला न्ययाधिश ध्रुबकुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा विभिन्न स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीहरु, राजनीतिक दल, पत्रकार प्रहरी ईकाईका प्रमुख लगायतको सहभागिता रहेको थियो।

सहरका समाजलाई टोलका रूपमा विकास गरी टोल सुधार समिती निमार्ण गर्ने र ग्रामिण भेगमा टोल सुधार समूह बनाएर स्थानीय प्रहरी, वडा प्रहरी, इलाका प्रहरी र प्रहरी पोष्ट र नागरिक मिलेर सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा तथा लागुऔषध लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्नका लागी यो कार्यक्रमको खाँचो रहेकोले प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियान संचालनमा आएको प्रहरी नायव उपरिक्षक शर्माले बताए।

‘प्रहरी र जनताबिच सम्बन्ध सुधार गर्दै समाजिक अपराध न्यूनीकरण गर्न यो अभियानले टेवा पुग्छ।’ उनले भने। गृहमन्त्री जनार्दन शर्माले सार्वजानिक गरेको ८४ बुँदे गृह सुधार मार्गचत्र अन्तर्गत नै यो कार्यक्रम ल्याएको हो।

अभियानकै क्रममा एक प्रहरी एक टोल निमार्ण गर्ने, स्थानीय टोल सुधार समितिहरू निमाण गर्ने, निर्धारित स्थानहरूमा सीसी टीभीहरु जडान गर्ने, आफ्नो टोल छिमेका भएका सामाजिक संस्था, उद्योग कलकारखानाको विवरण तयार गर्ने जस्ता योजना प्रहरीको छ।

प्रहरीले घटनास्थलमा पुगेर जनतासँग सहकार्य गर्दै अनुसन्धान गर्दा प्रहरी प्रतिको बिश्वास बढ्ने जिल्ला न्ययाधिश शाहले बताए। ‘यो कार्यक्रमार्फत प्रहरीले सत्यतथ्य बुझ्न जनतासँग नजिक बन्नु आवश्यकछ,’ उनले भने, ‘त्यसपछि अदालतले पनि सही ढंगले न्याय दिन सक्छ।’

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले प्रहरीले प्रहरीले ल्याएको यो कार्यक्रम जनतामै केन्द्रित हुने बताए। प्रहरी र प्रशासनको प्रयासमा मात्रै यो अभियानलाई कार्यन्वयनमा ल्याउन नसकिने भन्दै उनले नागरिक, जनप्रतिनिधीसँगको सहकार्य आवश्यक रहने बताए।

यस्तै जनप्रतिनिधीहरुले पनि कार्यक्रमले समाजमा अपराधिक क्रियकलाप न्यूनीकरण हुने भन्दै प्रहरीसँगै हातेमालो गर्दै नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने बताएका छन्। प्रहरी र स्थानिय जनप्रतिनिधीहरुविच नियमित अन्तरक्रिया गरेर यो अभियानलाई कार्यन्यवनमा ल्याउनुपर्ने दशरथचन्द नगरपालिका ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.