|

काठमाडौँ: स्थानीय तहको निर्वाचनमा दुई नम्बर प्रदेशमा मात्र भाग लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचनको परिणाम सन्तोषजन नभएको बताएको छ।

तराई-मधेसमा सबैभन्दा बढी प्रभाव भएको दाबी गर्दै आएको राजपाले नेपाली कांग्रेसको भन्दा झण्डै आधा संख्यामा मात्र विजय हासिल गर्न सकेको छ भने त्यतिकै संख्यामा अग्रता लिएको छ। १३६ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ भने राजपालाई अर्को मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमले टक्कर दिएको छ।

६ महिनाअघि मधेसकेन्द्रित ६ दल मिलेर गठन भएको राजापालाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले उछिनिरहेको छ। राजपाले दुई नम्बर प्रदेशमा नेपाली कांग्रेससँग प्रतिष्पर्धा हुने आकलन गरेको थियो। तर राजपाले यतिबेला दुई नम्बर प्रदेशमा दोस्रो स्थान प्राप्त गर्नका लागि संघीय समाजवादी  फोरम र माओवादी केन्द्रसँग प्रतिष्पर्धा गरिरहेको छ।

संघीय समाजवादी फोरम, माओवादी केन्द्र, नेकपा एमाले र राजपाले हाल विजय हासिल गरेको र अग्रता लिइरहेको स्थानीय तहको संख्यालाई हेर्दा ती दलले २० देखि २५ वटा स्थानीय तहमा जीत हासिल गर्ने देखिन्छ। राजपाले आशा र अनुमान गरेभन्दा कम स्थानीय तहमा जीत हासिल गर्नुको कारणबारे समीक्षा गर्न राजपा अध्यक्षमण्डलको बैठक शनिबार बस्ने भएको छ।

आन्दोलनबाट तराई-मधेसमा चर्चा र प्रभाव फैलाउन सफल राजपाले उम्मेदवारी दर्ता ढिलो गर्नु, मधेसलाई नैं राजनीतिको केन्द्रबिन्दु बनाएर राजनीति गरेका उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमले दुई महिनाअघि नै उम्मेदवारी चयन गर्नु नै राजपाले आशातीत सफलता प्राप्त नगर्नुको मुख्य कारण भएको राजापाका नेता बताउँछन्।

राजापाका नेताले नस्वीकारे पनि माओवादी केन्द्रले राजपाका सांसद तथा महामन्त्री जंगीलाल राय, पूर्व मन्त्री अनिस अन्सारीसहित धेरै जिल्लास्तरीय नेतालाई पार्टीमा टिकाइरहन नसक्नुले पनि राजापाले दाबी गरेअनुसार सफलता नपाएको हो। राजपा महामन्त्री केशव झा पार्टीले सन्तोषजनक सफलता नपाउनुमा निर्वाचनको तयारी नपुग्नु प्रमुख कारण भएको मान्दछन्।

झाको विचारमा राजपाले उल्लेख्य सफलता नपाउनुका ४ कारण

१. राजपाले स्थानीय तहको ६ वटा प्रदेशमा भएको निर्वाचन बहिष्कार गरेको राजापाले दुई नम्बर प्रदेशको निर्वाचनमा भाग लिने निर्णय ढिलो गर्नु।
२. छवटा पार्टी एकीकरणपछि गठन भएको राजापामा प्रत्येक स्थानीय तहमा ती सबै दलको संगठन भएका कारण आकांक्षीको संख्या धेरै हुनु र उम्मेदवार चयन गर्दा पुरानो दलको आधारमा भागबण्डा गर्नु।
३. राजापाका कार्यकर्ता धेरै उम्मेदवारका आकांक्षी हुँदा उम्मेदवार हुन नपाएका बागी उम्मेदवार धेरै हुनु।
४. उम्मेदवारको टिकट नपाएकाहरूले अन्तर्घात गर्नु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.