|

काठमाडौं : हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक ब्युरोले विभिन्न प्रकारका नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ। 

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ओखलढुंगाको पोकली झरना, नेपाली खाना परिकार (योमरी, सेलरोटी अनर्सा र लाखामरी), परम्परागत गरगहना (तिलहरी, बाला, कल्ली र बुलाकी), राष्ट्रिय झण्डा र निर्वाचन आयोगको प्रतीक चिह्नअंकित नयाँ हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए।  

त्यसैगरी जनकविकेशरी धर्मराज थापा र राजनीतिकर्मी सरोज कोइरालाको तस्विर तथा प्राचीन स्तनधारी जनावरअंकित टिकटको पनि आजै प्रथम टाँचा लगाइएको छ। ती टिकटको मूल्य रु एकदेखि पाँच सयसम्म तोकिएको छ। 

सो अवसरमा मन्त्री बस्नेतले यस किसिमको टिकट प्रकाशनले नेपालको परम्परागत संस्कृति, लोपोन्मुख प्रजाति तथा भौगोलिक विविधतालाई जोगाउने बताउँदै लोकसंस्कृति, परम्परा र देशका लागि बलिदान दिने शहीदको सम्मान गर्नुपर्नेमा जोड दिए। उनले नयाँ प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि मानिसको चाहनानुरुप नयाँ ढंगबाट अगाडि बढाउँदै लानुपर्ने बताए।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले हुलाक सेवालाई विस्थापितभन्दा पनि स्थापित गराउनेतर्फ लाग्नुपर्ने बताए। विभागका निमित्त महानिर्देशक राजन पौडेलले मुलुकलाई चिनाउने किसिमको सामग्री टिकटमा राखिएको बताए।  

आइतबारदेखि बिक्री गरिने उक्त टिककको डिजाइन हुलाक सेवामा कार्यरत कला अधिकृत पूर्णकला लिम्बूले गरेकी हुन्। प्रत्येक विधाको टिकट ५० हजार प्रति छापिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.