लापरबाहीले बिरामीको मृत्यु भए डाक्टरबाट क्षतिपूर्ति  नभराइने

|

काठमाडौं : चिकित्सकको लापरबाहीले कुनै बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार अन्ततः पछि हटेको छ। सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका अस्पतालको सेवा बन्द गराउँदै आन्दोलनमा उत्रिएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो। 

सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सकको लापरबाहीले कुनै बिरामीको मृत्यु भए बिरामीलाई दिने क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। चिकित्सकहरूले उक्त निर्णयविरुद्ध तत्कालै ७२ घण्टे 'अल्टिमेटम' दिएका थिए।

उनीहरूले देशभरका अस्पताल ठप्प पार्दै आन्दोलन सुरु गरेपछि शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रिपरिषदको निर्णय सच्याइएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको हो।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा लापरबाहीले बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने भन्ने भाषा उल्लेख छैन। असोज २ को मन्त्रिपरिषद्काे निर्णय उल्लेख गर्दै मन्त्रिपरिषद् कार्यालयको विज्ञप्तिमा ‘चिकित्सकको चरम लापरबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको अनुसन्धान, पेशागत वा व्यावसायिक बिमा र क्षतिपूर्तिलगायत आवश्यक विषयहरूलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने,’ उल्लेख छ। 

सरकारको पछिल्लो परिमार्जित भाषाप्रति चिकित्सकहरू नरम भए पनि उनीहरूले विज्ञप्तिकै भरमा आन्दोलन भने फिर्ता नलिने जनाएका छन्। चिकित्सकहरूले मन्त्रिपरिषद निर्णय नै फिर्ता लिनुपर्ने अडान राख्दै आएका छन्। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले पूर्वनिर्णय सच्याएर स्वागतयोग्य काम गरे पनि विज्ञप्तिको भाषा भने ठीक नभएको उल्लेख गरे।

चिकित्सक संघले शुक्रबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेर सरकारले निकालेको विज्ञप्तिको स्वागत गर्दै त्यसमा उल्लिखित भाषामा भने आपत्ति जनाएको छ। आफ्ना अन्य मागबारे भने केही उल्लेख नगरिएकाले शुक्रबार सुरु आन्दोलन फिर्ता नहुने जनाएको छ। ‘हामी अहिले आन्दोलन फिर्ता लिँदैनौं। अहिले पुन: वार्ताका लागि स्वास्थ्य मन्त्रालय जाँदै छौं । हेरुँ के हुन्छ,’ डा. कार्कीले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.