|

गोरखा : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग  चुनाव लड्न आफू तयार रहेको बताएका छन्।

शनिबार गोरखामा प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजीसँगको चुनावी दौड उर्जा पैदा गर्ने खालको हुने बताए। स्कुले जीवनमा अहिलेका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटासँग सँधै कक्षामा पहिलो हुनका लागि प्रतिस्पर्धा हुने र आफू सँधै पहिलो हुने स्मरण गर्दै उनले श्रेष्ठसँगको चुनावी प्रतिस्पर्धा पनि रोमाञ्चक हुने बताएका हुन्।

‘प्रतिस्पर्धी जति सक्षम भयो त्यत्ति उर्जा पैदा हुन्छ, डा. उपेन्द देवकोटा नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चित डाक्टर हुनुहुन्छ। स्कुलमा पढ्दा म सधैँ फस्ट हुने उहाँ सेकेण्ड। उहाँ त्यत्ति सक्षम प्रतिष्पर्धी हुनुहुन्थ्यो त्यही कारणले म सधैं फस्ट हुन्थेँ' भट्टराईले भने। आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफूले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने निर्णय गरिसकेको भट्टराईले प्रष्ट पारे। नेकपा माओवादी केन्द्रले पनि नेता नारायणकाजी श्रेष्ठसहित सम्भावित उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट खसेको मतको ८० प्रतिशत मतसहित विजयी भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट पनि उनी फराकिलो मतान्तरसहित विजयी भएका थिए। माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि गोरखामा उनले चुनाव जित्ने वा नजित्नेबारे चर्चा सुरु भइसकेको छ।  भट्टराईले पनि गोरखाको पालुङटारमा सम्पर्क कार्यालय खोलेर चुनाव प्रचार प्रसार सुरु गरिसकेका छन्।   

असोज ४ गते गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी पनि बाबुरामलाई हराउनु भनी निर्देशन दिएका छन् नि भन्ने पत्रकारहरुको जिज्ञासामा भट्टराईले बाबुरामलाई हराउनुभन्दा गरिबी बेरोजगारी र भ्रष्टाचार हराउन चुनौती दिए। ‘मैले मिडियाबाट सुने उहाँले जसरी पनि बाबुराम हराउ भन्नुभयो रे, मेरो उहाँलाई जवाफ छ । उहाँ भन्नुहुन्छ बाबुराम हराउ, तर बाबुराम भन्छ गरिबी, बेरोजगारी र भ्रष्टचार हराउ' उनले भने। 

भट्टराईले आफूले गोरखामा धेरै राम्रो  काम गरेकाले  चुनाव जित्ने पनि बताए। ‘मैले गरेका राम्रा कामहरु नै मेरा जित्ने आधारहरु हो’ उनले भने ‘गोरखा भनेको बुढीगण्डकी, दरौंदी, मर्स्याङ्दी र चेपे नदीले घेरेको क्षेत्र हो। उत्तर दक्षिण बाँडिएको क्षेत्र हो । त्यहाँ रणनीतिक सडक बनाउने, हुलाकी राजमार्ग अहिलेको मध्य पहाडी लोकमार्ग मार्फत गोरखालाई जोड्ने, यहाँका अन्य ग्रामीण सडक निर्माण, यहाँका नदीहरुमाथि बनेका पुलहरु लगायत कामको मूल्याङ्कन अवश्य जनताले गर्नुहुनेछ भन्ने विश्वास छ।’

उनले आफु राजनीति गर्ने ब्यक्ति मात्र नभई विकास निर्माणको विद्यार्थी भएको भन्दै गोरखाको विकासको नक्सा बनाइ काम सुरु आफूले नै गरेको र त्यसलाई रंग भर्न अरुले नसक्ने तर्क गरे।

 नयाँ शक्ति पार्टी माओवादीबाट फुटेको टुक्रा मात्र नभइ वैकल्पिक शक्ति भएको भट्टराईले जिकिर गरे। ‘हामी नयाँ वैकल्पिक शक्ति निर्माणको लागि लागेका हौं। हामी सँग माओवादीबाट आएका पनि हुनुहुन्छ, कांग्रेस, एमाले तथा अन्य दलबाट आउनुभएकाहरु पनि हुनुहुन्छ। भ्रष्टचाररहित समाज बनाउनेहरु एक जुट भएका हौं।’

आधारभूत मान्यताहरु मिल्ने राजनीतिक दलसँग चुनावमा तालमेल पनि हुनसक्ने भट्टराईले बताए। ‘वैकल्पिक राजनितिक धार सिर्जना गर्न लागेकोले आफ्नै बलबुताले भ्याएसम्म एक्लै लड्छौँ’ उनी भन्छन् ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता मिल्ने शक्तिहरु सँग तालमेल हुन सक्नेछ।  तर अहिले हाम्रो तालमेल गर्ने सोच छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.