|

असोज ७, २०७४
मणिलाल विश्वकर्मा

लहान । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत जिल्लाका १६ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। घोषित परिणाम अनुसार नेकपा माओवादी केन्द्रले जिल्लामा सबैभन्दा धेरै सिट जित्यो। 

माओवादीले ४ नगरपालिका र २ गाउँपालिकासहित ६ सिट जित्यो। माओवादी केन्द्रले सिरहाको धनगढीमाई, गोलबजार, मिर्चैया र  कर्जन्हा नगरपालिका तथा  अर्नमा र औरही गाउँपालिकामा विजय हासिल गरेको हो। 

अर्नमा गाउँपालिका यसअघि एमाले र औरही गाउँपालिका कांग्रेसको गढ मानिन्थे। सिरहामा २ नगर र २ गाउँपालिकामा नेकपा एमालेले जित हासिल ग¥यो भने संघीय समाजवादी फोरमले ४ गाउँपालिका जित्यो। नेपाली कांग्रेसले शनिबार अपरान्हसम्म १ नगरपालिकासहित २ स्थानीय तहमै चित्त बुझाउनु परेको छ। 

गुटबन्दीले कांग्रेसलाई समस्या 

स्थानीय तहको निर्वाचनका लागि पछिल्लो भदौ २१ गते उम्मेदवारी दर्ता हुने दिन बिहानै टिकट वितरणका लागि जिल्ला सदरमुकाम सिरहामा रहेको पार्टी कार्यालयमा टिकटका आकाङ्क्षीहरु नै आपसमा कुटाकुट गरे।

मतदाताहरुमा त्यसको नराम्रो छाप मात्र परेन, पार्टीभित्रको चरम गुटबन्दी पनि छताछुल्ल भयो। ‘सिरहा कांग्रेसलाई लहानबाट प्रदिप गिरी र सांसद् पदमनारायण चौधरी, धनगढी जिरोमाइलबाट जिल्ला सभापति तथा सांसद् रामचन्द्र यादव र जिल्ला सदरमुकामबाट कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष तथा सांसद् सीतादेवी यादवले चलाउँछन्’ कांग्रेसका एक कार्यकर्ताले भने। 

टिकट बाँड्ने विषयमा विवाद देखिएपछि कांग्रेसले घरदैलो कार्यक्रम समते राम्ररी गर्न सकेन। अन्य पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता हुँदासम्म दुई पटक मतदाता भेटघाट र घरदैलो गरिसकेको अवस्थामा कांग्रेसमा कसले टिकट पाउने भन्ने अन्योल अन्त्यसम्मै थियो। 

६ निर्वाचन क्षेत्र कायम रहेको सिरहामा दोस्रो संविधानसभामा कांग्रेसले १, ३, ४ र ६ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ जितेको थियो। तर स्थानीय तहको तेस्रो निर्वाचनसम्म आइपुग्दा १ नं. क्षेत्रको लहान र ४ नं. क्षेत्रको धनगढीमाई नगरपालिका गुमाएको छ। कांग्रेस जिल्ला सभापति यादवको घर रहेको धनगढीमाईमा पार्टीका उम्मेदवारले तेस्रो स्थानमै चित्त बुझाए। 

एमाले पनि कमजोर 

स्थानीय तहको दोस्रो र तेस्रो तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेले संसदमा संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेका कारण जित्ने ठाउँमा पनि पराजय व्यहोर्नुपर्‍‍यो।  

अरु त अरु, दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षसँग सिरहा क्षेत्र नं. ५ मा चुनाव लडेर चर्चा बटुलेका एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठको घर रहेको गोलबजार नगरपालिका–७ मा वडाध्यक्ष समेत माओवादी केन्द्रले जित्यो। 

एमालेले प्रतिष्ठाकै नगरको रुपमा लिएको लहानमा प्रमुख जितेको छ। तर २४ वडामध्ये बहुमत वडाहरु अन्य दलको पोल्टामा गएका छन्। एमालेले लहानको यस नगरमा ९ वटा वडा जित्यो। ५, ९, १०, ११, १३, १७, १८, १९ र २४ नम्बर वडा एमालेले जित्यो भने कांग्रेसले ९, संघीय समाजवादी फोरमले ४ र माओवादी केन्द्रले २ वडामा जित हासिल गरे।

नगरकार्यपालिका गठन हुँदासम्म एमालेबाहेकका तीन दलको गठबन्धन बनेमा प्रमुख र उपप्रमुखमका लागि कुनै पनि विषयमा निर्णय गराउन हम्मे–हम्मे पर्ने अवस्था छ। 

फोरमको कमब्याक 

सिरहाको कांग्रेसको गढ मानिएका भगवानपुर, विष्णुपुर, लक्ष्मीपुर पतारी र बरियारपट्टि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाहरु जितेर संविधानसभाको पहिलो निर्वाचनमा पहिलो बनेको संघीय समाजवादी फोरम नेपाल यो पटकको निर्वाचनमा दोस्रो बनेको छ।

राजपाको बिचल्ली

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राजपा नेपालले तेस्रो चरणमा सहभागी हुँदा मधेस आन्दोलन सुरु भएको लहानमा राम्रो मत ल्याउने आशा राखेको थियो।

इतिहासमा विद्यावारिधि गरेका डा. महादेव साह स्वर्णकारको शैक्षिक व्यक्तित्व, संविधान संशोधनको मागसहित भएको आन्दोलन लगायतका कारणले पनि यस जिल्लामा राम्रो मत पार्टीको ल्याउने विश्वास थियो। तर नतिजा प्रतिकुल आइदियो।  

राजपाले लहान नगरपालिकामा छठैं स्थानमै चित्त बुझाउनु परेको छ। राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका राजकिशोर यादवको घर रहेको नरहा गाउँपालिकामै राजपाका अध्यक्ष उम्मेदवार पाँचौ‌ स्थानमा समेटिए। उनले ८ सय ५५ मत मात्रै ल्याए। 

हेर्नुस् विजयी उम्मेदवारका फोटोहरु 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.