|

वीरगन्ज : विन्दवासनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीलाल साह कानु (मोदी) ले शपथग्रहण लगत्तै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्। उनले अहिले वितरण भइरहेको समाजिक सुरक्षा भत्तामा ५ सय रुपैयाँ वृद्धि गर्ने घोषणा गरे। 

शपथग्रहण कार्यक्रममा अध्यक्ष कानुले सामाजिक सुरक्षा भत्तामा वितरण हुँदै आएको रकममा थप ५ सय वृद्धि गर्ने, गरिब, असहाय र जेहन्दार विद्यार्थीलाई प्रत्येक महिना १ हजारका दरले छात्रवृति दिने, छोरी जन्मेपछि ५ हजार रुपैयाँ गाउपालिकाको खाताबाट उपलब्ध गराउने, शहिद परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने ,बच्चा–आमा सुरक्षा योजना अन्तर्गत गर्भावस्थादेखि जन्मेको ३ महिनासम्म मासिक १ हजारको दरले भता दिने लगायतका घोषणा गरेका छन्। 

कानुले गाउँपालिकालाई पूर्ण भ्रष्टाचारमुक्त प्रशासन बनाउन तथा जनताको काम छिटो छरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। सार्वजनिक काममा कुनै लापरवाही भए सिधै आफुलाई जानकारी दिन गाउँपालिकावासीलाई उनले अपिल गरेका छन्। ‘ म मोदी होइन। तर जनताले मेरो कामले गर्दा मलाई मोदी भन्ने गरेका छन्,’ शपथ ग्रहणमा कानुले भने। 

श्रीराधा कृष्ण चौरसिया मावि बहुअर्वाभाठा माविमा आयोजित कार्यक्रममा मोदीसहित गाउँपालिकाकी उपाध्यक्ष किरन देवी गुप्ता तथा सबै वडाका अध्यक्षहरुलाई निर्वाचन अधिकृत ईश्वरीप्रसाद ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। 

कत्तिको संभव ? 

अर्थ मन्त्रालयले यसअघि नै स्थानीय तहलाई आफुखुसी सामाजिक सुरक्षा भत्ता नबढाउन सचेत गराएको थियो। काठमाडौं महानगरपालिका र पोखरा उपमहानगरपालिकाका प्रमुखले सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गरेपछि स्थानीय विकास मन्त्रालयले उनीहरुलाई अर्को व्यवस्था नभएसम्म समाजिक सुरक्षा भत्ता नबढाउन परिपत्र गरेको थियोे।

यस विषयमा कानुसँग थाहाखबरले प्रश्न राख्दा उनले घोषणा कार्यान्वयन गरेरै छाड्ने जवाफ दिए। ‘हामी आफ्नो हिसाबले लागु गर्छौ। अधिकारको सदुपयोग गर्छौं तर दुरुपयोग गर्दैनौं। संविधानले हामीलाई गाउँपालिकाको राजश्व उठाउने, स्थानीय कानुन निर्माण गर्ने लगायतका अधिकार दिएको छ। कानुनमा भएको व्यवस्था अनुसार अघि बढ्छौं,' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.