|
प्रतीकात्मक तस्विर

लहान : गणना गरिएको मत संख्याको विषयमा भएको विवादले सप्तरीको जिल्ला सदरमुकाम समेत राजविराज नगरपालिकाको मतगणना पछिल्लो करिब ३६ घण्टादेखि रोकिएको छ। 

राजविराज नगरपालिका– १ को मतगणना चलिरहेका बेला निर्वाचन अधिकृत र उम्मेदवारका गणक प्रतिनिधिहरुको टिपोट गरेको मत संख्या फरक परेपछि शुक्रबार राति ११ बजेदेखि रोकिएको मतगणना आइतबार बिहानसम्म पनि सुरु हुन सकेको छैन। गणना गरिरहेका प्रतिनिधिहरुले पहिले टिपोट गरेको मत संख्या थप गर्दा झन् घटेर आएपछि उत्पन्न विवादले मत गणना रोकिएको हो। 

सप्तरीका मुख्य निर्वाचन अधिकृत समेत तोकिएका राजविराज नगरपालिकाका निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले दलीय प्रतिनिहिरुको विवादपछि सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको जनाएका छन्। मतगणना रोकिएपछि राजविराज नगरपालिका–७ स्थित जिल्ला खेलकुद विकास समितिको हलमा रहेको मतगणनास्थलमा नगरका १५ वडाका मतपेटिकाहरु कडा सुरक्षा घेरामा राखिएको छ।

हिन्दू धर्मावलम्बीहरुको ठूलो चाड दशैं शुरु भसकेको अवस्थामा मतगणना सुरु हुने\नहुने भन्ने अन्योल बढेपछि जिल्ला प्रशासन कार्यालयनजिकै रहेको मतगणना स्थल वरपर ठूलो घुइँचो लाग्ने गरेको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीका  निर्वाचन अधिकारी महेश ठाकुरले आफ्नो कार्यालयले निर्वाचन व्यवस्थापनको काम मात्र गर्ने भएकाले मतगणना सुरु गर्ने विषयमा केही भन्न नसक्ने जानकारी दिए। 

सर्वदलीय बैठक बस्दै 
राजविराज नगरपालिकाको पछिल्लो करिब ३६ घण्टादेखि रोकिएको मतगणना सुरु गर्ने विषयमा छलफलका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए। ‘सर्वदलीय बैठकमार्फत् विवादको विषय निरुपण गरी सकेसम्म आइतबार बिहानसम्म मतगणना सुरु हुन्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने। 

अन्योलमा मतदाता
राजविराज १५ देउरी भरुवामा राजपाकातर्फबाट वडाध्यक्ष पदका उम्मेदवारको भदौ ३१ गते निधन भएपछि तीन दिन ढिलो गरी असोज ५ गते मतदान भएको थियो। उम्मेदवारको मृत्युको कारणले तीन दिनपछि भएको मतदानको नतिजा पर्खिरहेका सर्वसाधारणहरु नगरको मतगणना नै रोकिएपछि अन्योलमा छन्।  १८ स्थानीय तह रहेको सप्तरीमा कञ्चनरुप, शम्भुनाथ र राजविराज नगरपालिकाबाहेक अन्यको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.