दशैंका भेडाच्याङ्ग्रा बाटोमै रोकिए

|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक चार दिनदेखि बन्द हुँदा मुस्ताङ पुगेका सयौं तीर्थयात्री अलपत्र परेका छन्।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभिरमा सडकमाथिबाट खसेको सुख्खा पहिरो ३ दिनसम्म पनि पन्छाउन नसक्दा बाटो खुल्न नसकेको हो। बुधबारदेखि बेनीबाट छुटेका सवारीसाधन दानामा र मुस्ताङको जोमसोमबाट छुटेका सवारीहरु घाँसामै रोकिएका छन्।

पितृपक्षमा श्राद्ध गर्न मुस्ताङको कागबेनी पुगेका सयौं तीर्थयात्री अलपत्र परेका छन्। त्यसबाहेक, दशैंलाई लक्षित गरी मुस्ताङबाट झारिएका स्याउ, भेडाच्याङ्ग्रा पनि अलपत्र परेको व्यपारीहरुले बताएका छन्।

गत बुधबार दिउँसोको वर्षापछि अवरुद्ध भएको सडकमा ठुलो चट्टान हटाउन 'स्काभेटर' र 'डोजर' असफल भएपछि शनिबार विस्फोटक पर्दाथ प्रयोग गरी बाटो खुलाउन खोजिएको थियो।

काभ्रेभिरमा माथीबाट खसेको सुख्खा पहिरोले करिब ५० मिटर सडक पुरेपछि अवरुद्ध बनेको छ। तीनदिन सम्म बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरलगायत ४ ओटा मेशिन प्रयोग गरिएपनि असफल भएपछि नारच्याङमा रहेका श्री बक्स गुल्मबाट नेपाली सेनाको टोलीले पहिरो नजिक रहेका ठ"ला चट्टान विस्फोटक पर्दाथको प्रयोग गरेर पन्छाएका थिए।

‘पहिरो गएकै दिनबाट बाटो खुलाउन निकै कसरत गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय म्यग्दीकी प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धारा खड्काले भनिन्, ‘स्काभेटर र डोजरले नसकेपछि शनिबार विस्फोटक पदार्थ पड्काएर चट्टान त हटायौं तर पुनः पहिरो खस्यो।’

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडकको अवरुद्ध पन्छाउन आवश्यक सबै बल प्रयोग गरिएको बताए। आइतबार दिउँसो वा साँझसम्ममा पहिरो पन्छाउन सकिने सम्भावना रहेको कालीगण्डकी करिडोरका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

७६ किलोमिटर दूरी रहेको बेनी–जोमसोम सडकअन्तर्गत काभ्रेभीर निकै जोखिमपूर्ण मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.