|

उदयपुर : पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयका निर्देशक किशोरचन्द्र गौतमले ‘सेभ द एलिफेन्ट’ लेखिएको टिर्सट लगाएर मरेको हात्तीसँग शनिबार दिउँसो सेल्फी खिचे। मरेको हात्तीलाई गणेश भगवान् भन्दै हेर्न पुगेका सर्वसाधारणले डुङडुङ गन्हाएको हात्तीलाई ढोग्दै गौतमको छातीमा लेखिएको ‘सेभ द एलिफेन्ट’ पढे।

मरेको हात्तीसँगै ‘सेभ द एलिफेन्ट’ देखेपछि धेरैको ध्यान उतै तानियो। गौतमले मृत हात्तीलाई सिन बनाएर जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विषणुप्रसाद भण्डारीलाई साथमा राखी मोबाइलमा फोटो खिच्न पनि भ्याए।

हात्ती बचाउने अभियानको नारा लगाउने वन कर्मचारीलाई जंगली हात्ती मर्नु हर्ष न विस्मातजस्तो देखियो। तर, सर्वसाधारणहरु निकै भावुक भए। ‘जंगली जनावरको रक्षा गर्ने मान्छेहरुलाई नै रमाइलो भइरहेको छ, सेल्फी खिचेर हाँस्दै छन्,’ स्थानीय पृथ्वी  घिमिरेले भने, ‘तस्करीको खोजी गरी कारबाही गर्छन् भन्ने कसरी विश्वास गर्नु?’

मृत हात्ती देखेपछि के भयो?

सुनसरी र उदयपुरमा पर्ने कोसी टप्पु वन्यजन्तु आरक्षको सिमानामा उदयपुरको बेलका नगरपालिका ८ को नुनचट्टा भन्ने जंगलमा शुक्रबार साँझ एक हात्ती मृत भेटिएको थियो। शनिबार हात्ती मर्नुको कारण अनुसन्धान गर्न पुगेका वनका कर्मचारीले एकछिन रमिता नै देखाए।

कसैले सेल्फी खिचे, कसैले टिभीमा देखेको हात्ती नजिकबाट देखेको अनुभव सुनाए। स्थानीयवासी जंगल जाने क्रममा फेला परेको मृत हात्तीको पुच्छर र दारा छैन। पुच्छर र दारा निकालिएकोले तस्करको समूहले हात्ती मारेको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। ‘अब वन कार्यालयका कर्मचारीले के कारणले मरेको भन्ने पत्ता लगाउनुहुन्छ होला,’ स्थानीय आकृति राईले भनिन्, ‘हात्ती कुनै रोग र कालगतिले मरेको भने होइन।’

उदयपुरमा हात्ती मारिएको यो दोस्रो घटना भएको जिल्ला वन कार्यालयले जनाएको छ। जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले गएको तीन/चार वर्षअघि पनि त्यही क्षेत्रमा एउटा हात्ती त्यसरी नै मारिएको सुनाए। ‘अहिले यो हात्ती मर्दा दोस्रोपटक भएको रहेछ,’ उनले भने, ‘सरकारी रेकर्डअनुसार कतै कारबाही भएको र तस्कर फेला परेको देखिएन।’

‘कतै शरीरमा गोलीसोली लागेको पनि पत्ता लाग्ने अवस्था थिएन, शरीर नै पटपट फुट्न थालिसकेको थियो,’ भण्डारीले भने, ‘हात्ती आएको बाटो हेर्दा पनि पूरै रन्थनिँदै आएको छ, अक पोस्टमार्टमको रिर्पोट आएपछि थाहा पाइएला।’

के भन्छ वन कार्यालय?

भण्डारीले दारा र पुच्छर गायव बनाउने तस्करको अनुसन्धान सुरु गरेको जानकारी दिए। यसैगरी मरेको हात्तीसँग सेल्फी खिच्ने क्षेत्रीय वन निर्देशनालयका निर्देशक गौतमले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक, नेपाली सेना, वन्यजन्तु संरक्षण विभाग सबै लागेर अनुसन्धान गर्ने बताए।

‘अपराधी पक्राउ परे नेपाल सरकारको ऐनअनुसार ५० हजारदेखि एकलाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म जेल सजायँ हुन्छ,’ गौतमले भने, ‘पुच्छर दारा अनुभवी मान्छेले काटेको देखिएकाले वन्यजन्तु तस्करीको ठूलो गिरोह छ।’ मृत हात्तीलाई पशु चिकित्सकको टोलीले पोस्टमार्टमको लागि आवश्यक अंगहरु लिइसकेपछि स्काभेटर लगाएर खाल्डो खनी गाडिएको छ।

प्रहरी र वन कर्मचारीप्रति सर्वसाधारणको आशंका

उदयपुरको वेलका नगरपालिका-८ मा पर्ने  माछापुच्छ्रे र विच्केसरी सामुदायिक वनको नुनचट्टबाट ७ सय मिटरमा कोशी टप्पु वन्यजन्तु आरक्ष छ। त्यसनजिकै वेलका ८ मा रहेको चिलिया टप्पु गाउँ पर्छ। त्यस क्षेत्रमा सुन्दरपुर सेक्टर वन कार्यलय अन्तर्गत रहेको मैनामैनी इलाका वन कार्यालय र अनुमानित ११ किलोमिटरको दूरीमा उत्तरपट्टी सशस्त्र प्रहरीको बेस क्याम्प छ।

जंगली जनावरको डरले आसपासका गाउँलेहरु कमै मात्र जंगल जाने गर्दछन्। ‘गाउँलेले शुक्रबार मात्र थाहा पाए,’ स्थानीय शिव विकले भने, ‘गएको मंगलबार र बुधबारतिरै हात्ती मारिएको हुनुपर्छ, अनि हात्ती कुहिन थालेपछि प्रशासन आएर कसरी गोली नै हानेको भन्ने थाहा पाउँछ र?’

इलाका वन कार्यालयमा वन रक्षकको टोली समेत छ। तर, त्यो टोलीले समेत अहिलेसम्म वनको गस्ती नगरेको आरोप स्थानीयवासीको छ। ‘यस क्षेत्रमा मृग, बँदेल, हरिणको सिकार गर्न सुनसरीतिरबाट धेरै सिकारी आउने गर्दछ,’ नामभन्दा प्रहरीले पिछा गर्छ भन्दै एक स्थानीयले भने, ‘सायद त्यही सिकारी गर्ने टोलीले हात्ती मारेको हुनुपर्छ।

कोसी टप्पुसँग जोडिएको उदयपुरको वन क्षेत्रबाट प्रहरी, सामुदायिक वनका पदाधिकारी, अनि वनका कर्मचारीसमेत लागेर काठ तस्करी गर्ने गरेको समेत जगजायर छ। स्थानीयका अनुसार विगतमा हुने काठ तस्करी, अनि सिकारी खेल्नेहरुको टोलीमा संलग्न भएको अरोपमा विवादमा पर्ने प्रहरी र वन कर्मचारीको  हात हुन सक्ने सर्वसाधारणको बुझाइ छ।

दोषी पक्रने जिम्मा कसको?

प्रहरीले भने दोषी खोज्ने जिम्मा आफ्नो नभएको बताएको छ। ‘हामीले वनलाई सबै कुरा भनेका छौं,’ रामपुर बजारमा भेटिएका इलाका प्रहरी कार्यालयका रामपुरका प्रमुख इन्सपेक्टर सुभास राईले  भने, ‘सबै काम इलाका वन कार्यालय र सेक्टर वनका कार्यालयको हो, हाम्रो भने होइन।’

यता, इलाका वन कार्यालय मैनामैनीका प्रमुख वन अधिकृत सत्यनारायण साह जंगली जनवारकै कारण वन गस्ती गर्न नसकेको बताउँछन्। ‘यस क्षेत्रमा हात्तीले दुई महिनाअघि मात्र दुई सर्वसाधारण मारेको थियो,’ उनले भने, ‘यस क्षेत्रमा वन रक्षकको टोलीले पनि कमै मात्रमा गस्ती गर्ने गरेको छ, गर्न पनि सकिँदैन, समूहले जे गर्छ उही गर्छ।’

किन हुन्छ यस क्षेत्रमा जंगली हात्तीको बिगबिगी?

परापूर्वक कालमा सप्तकोसी नदी उदयपुरको नजिकबाट बग्ने गरेको थियो। पछि सप्तकोसी सुनसरी क्षेत्रबाट बग्न थालेपछि उदयपुरको भूभाग वन क्षेत्रमा परिणत भएको बताइन्छ।

विच्केसरी सामुदायिक वन उपभोक्ता समिति वेलका नगरपालिका ८, माछापुच्छे सामुदायिक वन उपभोक्ता समिति वेलका नपा ८, ३, ९, हात्तीसार सामुदायिक वन उपभोक्ता समिति वेलका ८ र ९, कुङरिवा सामुदायिक वन उपभोक्ता समिति वेलका ८ गरी चार वटा सामुदायिक वन क्षेत्र पर्दछन्।

त्यसनजिकै बेलकातरी राष्ट्रिय वन क्षेत्र छ। अनि वनैवनको बीचबाट सप्तकोसी हुँदै कोसीटप्पु वन्यजन्तु आरक्ष जोडिन्छ। इलाका वन कार्यालय मैनामैनीका प्रमुख वन अधिकृत सत्यनारयण साह हात्तीको लागि यस क्षेत्र उपयुक्त भएकाले १० देखि १२ वटा हात्तीले बसोबास गर्ने गरेको बताउँछन्। ‘अब हात्ती मुख्य गरी पारी कोसी टप्पुबाटै आउने गर्दछ,’ उनले भने, ‘दैनिक रुपमा पनि हात्तीको लागि घाँसे मैदानसमेत भएकाले बासस्थान बनाउने गरेको पाइन्छ।’

अहिले मानव बस्ती बढ्दै गएकाले ४० वर्ष अघिसम्म पाइने हात्तीको संख्या अहिले घट्दै गएको स्थानीय बुढापाकाको भनाइ छ। यस क्षेत्रमा विशेष गरी बँदेल, हरिण, मृग, नील गाई, हुँडार लगायतका जनावर पाइने वन कर्मचारीको दाबी छ। उदयपुरको क्षेत्र पर्ने भए पनि यस क्षेत्रमा बसोवास गर्ने अधिकांश भूमिहीन सुकुम्बासी अर्थात् वन क्षेत्र अतिक्रमण गरी बस्ती बसेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.