|

कालिकोट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचनमा आफू चितवनबाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। मंगलबार हुने तीन आमसभालाई सम्बोधन गर्न आइतबार कालिकोट आइपुगेका प्रचण्डले आफूलाई विभिन्न जिल्लामा कार्यकर्ताले बोलाए पनि चितवनबाटै चुनाव लड्ने बताएका हुन्।

सिन्धुली, कालिकोट, सिरहा, रुकुम, बर्दिया र गोरखा जिल्लाबाट आउँदो संघ र प्रदेशको निर्वाचनमा चुनाव लड्न पार्टीका कार्यकर्ताले आग्रह गरेको तर आफू चितवनबाटै निर्वाचनमा प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेको प्रचण्डले बताए। ‘धेरै जिल्लाका साथीहरुले आफ्नो जिल्लामा आएर निर्वाचन लड्न आग्रह गरेका छन्’ उनले भने, ‘अब मैले आफ्नै गृह जिल्ला चिवतनबाट निर्वाचन लड्ने तयारी गरेको छु।’

प्रचण्डले २०६४ सालको निर्वाचनमा रोल्पा र काठमाडौंबाट विजयी भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा सिरहाबाट विजयी भएका थिए। उनले देशका धेरै ठाउँबाट चुनाव लडेकाले आफ्नो कुनै निर्वाचन क्षेत्र नभएको भन्दै अब भने गृहजिल्ला चितवनबाटै लड्ने बताएका हुन्। ‘मैले पहिलो संविधानसभामा रोल्पा र काठमाडौं चुनाव लडेँ। दोस्रो चरणमा काठमाडौं र सिरहाबाट लडे। सिरहामा विजयी भएँ’ उनले भने ‘अब आफ्नै गृह जिल्ला चितवनबाट निर्वाचन लड्ने तयारी गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.