|

विराटनगरः ‘आन्दोलनको गलत अर्थ नलगाइयोस्, लापरवाही गर्न पाऊँ भनेको होइन’, सामाजिक संजाल फेसबुकमा डाक्टर बालकृष्ण साहले आफूहरूको पीडा व्यक्त गर्दै उल्लेख गरेका छन्। 

सरकारले असोज २ गते गरेको मन्त्रिपरिषद्को निर्णयको विरोधमा देशैभर आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका डाक्टरलाई विभिन्न मिडिया तथा सामाजिक संजालमा लापरवाही गर्न पाउने छुट माग गरेको आरोप लागिरहेको छ। तर, डाक्टर साह ‘लापरवाहीलाई परिभाषित गरियोस्, अकाल मृत्युलाई प्रमाणित गरियोस्, अस्पताल तोडफोड नहोस्, कस्तोलाई लापरवाही भन्ने सरकारले ठोस गरोस्’ भन्छन्। डाक्टर साहले भन्छन्, ‘कानुनी राज्यको स्थापना होस् भन्ने उद्देश्यले गरिएको आन्दोलनलाई भ्रामक प्रचारबाजी गरेर हामीलाई अपमान गर्ने काम नहोस्।’

डाक्टरहरूले लापरवाही गर्न पाउनुपर्छ भनेर कहिल्यै नभनेको र भन्नु पनि व्यावासायिक मर्यादाविपरीत भएको डाक्टर साहको भनाइ छ। ‘डाक्टरको काम भनेकै बिरामीलाई बचाउने हो, हामीले कुनै पनि उपचारमा लापरवाही गर्ने भन्ने प्रश्नै आउँदैन’, साह भन्छन्, ‘लापरवाही गरेको भनेर आरोप लगाएर डाक्टरको पेसा तथा धर्ममाथि आक्रमण भएको छ, यो सैह्य छैन।’

डाक्टर गोविन्द केसीले उठाएका अधिकांश मागसँग यहाँका डाक्टरहरू पनि सहमत छन्। त्यही सेरोफेरोमा अहिले भएको आन्दोलनले स्वास्थ्य क्षेत्रलाई बदनाम हुनबाट जोगाउन उपयुक्त कानुन तथा ऐनहरूको व्यवस्था गर्न दवाब दिने डाक्टरहरू बताउँछन्। 

‘लापरवाही भनिदिने र डाक्टरमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने कार्यलाई निरुत्साहित गर्नचाहिँ सरकारले तदारुकता नदेखाउने, लाखौँ रकम खर्चेर पढेका बौद्धिक तप्कालाई हल्काफुल्का ढंगले हेर्न खोज्ने?’, नेपाल चिकित्सक संघ कोसी शाखाका अध्यक्ष डाक्टर फरवाड सिलवाल भन्छन्, ‘चिकित्सकले तिर्नुपर्ने कर घटाऊ भनेको पनि होइन, बिमारीलाई लगाएको स्वास्थ्य सेवा शुल्क हटाऊ भनेको हो। यस्तो पवित्र मागलाई सरकार, जनता र केही मिडियाले साथ नदिएको देख्दा दुखित छौँ।’

तीन दिनदेखि मोरङका चिकित्सक पनि आन्दोलनमा छन्। तर सरकारले अझै सुनुवाइ गर्ने चासो देखाएको छैन। बिरामीले स्वास्थ्य सेवा पाउन पनि सकेका छैनन्। पूर्वको स्वास्थ्य क्षेत्रको केन्द्र मानिने विराटनगरमा दैनिक सयौँ सर्वसाधारण उपचारका लागि आउने गरेका छन्। तर, ओपीडी सेवा प्रभावित हुँदा स्वास्योपचार प्रभावित भएको छ। 

यहाँका गोल्छा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल तथा विराट आँखा अस्पतालहरू पूरै ठप्प छन्। यहाँ आकस्मिक उपचार हुँदैन। यस्तै, विराटनगरको कोसी अञ्चल अस्पताल, नोबेल अस्पताल, विराटनगर अस्पताल प्रा.लि., न्यूरो अस्पताललगायतका ठूला तथा अन्य साना अस्पतालमा पनि ओपीडी सेवा ठप्प छ। निजी क्लिनिक पनि बन्द अवस्थामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.