|

काठमाडौँ: दशैँ मान्नेहरूका लागि वर्षको सबैभन्दा बढी किनमेल गरिने समय हो यो समय। नयाँ लुगा किन्ने, मीठो मसिनो खाने भन्ने परम्परा अहिले पनि छ।

आर्थिक सम्पन्नता भएकाहरूको पनि खर्च सामान्य अवस्थाको तुलनामा ४/५ गुणा वृद्धि भए तापनि उनीहरूलाई खासै फरक परेको देखिँदैन। दशैँमा मात्रै नभई अन्य बेलामा पनि नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढी छ। अहिले मुलुकको अर्थतन्त्रको करिव २७ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको छ। तर दशैँमा हुने अर्थतन्त्रको ३५ प्रतिशतसम्म योगदान रेमिट्यान्सले पुर्‍याएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली बताउँछन्।  

दशैँमा सामान्य अवस्थाको तुलनामा दुई गुणासम्म बढी अर्थतन्त्र चलयमान हुने हुँदा दशैँ र रेमिट्यान्सबीचको सम्बन्ध निकै गहिरो रहेको पुष्टि हुन्छ। रेमिट्यान्सको योगदान ३५ प्रतिशत पुग्नुले पनि दशैँ र रेमिट्यान्सबीचको सम्बन्ध प्रष्ट पार्छ।

देशको परम्परागत आर्थिक गतिविधिमा प्रत्यक्ष्य जोडिएको रेमिट्यान्सलाई दशैँसँग मात्रै नभई समग्र व्यवसायसँग पनि जोडिएको छ। रेमिट्यान्स कम्पनीले दशैँको समयमा पैसा पठाउँदा विभिन्न प्रकारका अफरहरूको समेत घोषणा गरेका छन्। गाउँगाउँमा रेमिट्यान्स वितरण गर्ने ससाना एकाईका वित्तीय संस्थाहरूको पनि कमी छैन यतिबेला।

यस्तो छ चुनौती?

प्रत्येक वर्ष नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढिरहेको छ। तर, प्रतिशतको आधारमा वृद्धिदर भने घटेको पाइन्न्छ। 'मान्छे विदेश जान कम गर्नु या रेमिट्यान्स कम हुनु नराम्रो पक्ष हो तर स्वदेशभित्र कुनै किसिमको रोजगारीको अवसर सिर्जना नभएको अवस्थामा वैदेशिक रोजगारीमा नेपाली कामदारको माग कम हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण हो', अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्।   

धेरै नेपालीका लागि रोजगारीको गन्तव्य मानिने कतार, यूएईलगायतका देशहरूमा रोजगारीको अवसर गुमेको छ। कतारमा मात्रै रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशत घटेको छ। गत वर्षदेखि यसै पनि कतारमा जाने नेपालीको संख्या घटेकोमा गत महिनादेखि पुन: घट्न थालेको हो। अघिल्ला महिनाहरूमा कतार जान दैनिक चारदेखि छ सय युवायुवतीले श्रम स्वीकृति लिने गरेकामा यतिखेर दैनिक दुईदेखि तीन सयले मात्र श्रम स्वीकृति लिने गरेका छन्।

कतार मात्रै नभई अन्य खाडी मुलुकमा जाने नेपाली कामदारको संख्या पनि घट्दै गएको छ। पछिल्लो ४ वर्षदेखि लगातार खाडी मुलुकमा जाने नेपालीको संख्या घटेको श्रम विभागको अन्तिम श्रम स्वीकृति लिनेहरूको संख्याले पुष्टि गर्छ। 'समयमै रोजगारीको अवसर सृजना हुदाँ त राम्रै हो, होइन भने प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुको प्रभाव अब एक दुई वर्षमै देखिन्छ, त्यसले अर्थतन्त्रलाई अस्थिर बनाउँछ', अर्थविद् डा. अधिकारी भन्छन्।

विज्ञहरूको विश्‍लेषण र तथ्यांकले नेपाली अर्थतन्त्रमा २७ प्रतिशतको योगदान दिएको रेमिट्यान्स क्षेत्रमा चुनौती निरन्तर बढेको छ। यसले सामाजिक सूचकांकमा लिएको सुधारलाई समेत प्रभाव पार्न सक्ने देखिएको अर्थविद्हरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.