|

  • भविन कार्की-

संखुवासभा :  जिल्लाका विभिन्न भूभागमा चिनियाँ व्यापारीले  रुद्राक्षलाई अप्राकृतिक बनाउन थालेपछि प्रशासनले रोक लगाउने भएको छ। चिनियाँहरुले संखुवासभा र भोजपुरका अधिकांश किसानका रुद्राक्ष बगान खरिद गरेर मेसिनको प्रयोगबाट रुद्राक्षको आकार अप्राकृतिक बनाउन थालेका छन्।

स्थानीय रुद्राक्ष व्यवसायी र कृषकहरुले दिएको उजुरीअनुसार कानुनी आधारभन्दा पनि कुनै वस्तुलाई परिमार्जन गर्न नहुने भएकाले तत्काल रोक्न बाध्य भएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।

प्राकृतिक उत्पादन बिगारेर उनीहरुले आवश्यकताअनुसार दानालाई चेप्टो बनाउने गरेका छन्। गोलो, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप बनाउने गरेका छन्। त्यस्ता अप्राकृतिक बनावटले कृषकका बगानमा उत्पादन भएका दानाको किनबेचमा समेत गिरावट आएको व्यवसायीहरु बताउँछन्।

 गाउँ–गाउँमा प्रवेश गर्दा स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका र खाँदबारी नगरपालिका प्रमुखले सूचना जारी गरेका छन्। गत वर्ष पनि चिनियाँहरुले नेपालमा उत्पादन गरिएका दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यवसायीहरुको भनाइ छ। प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा कमी आएको कृषक बताउँछन्।

छिमल छिमलका दाना भएकाले पनि बोटमै कुहिने, सुक्ने जस्ता समस्या भएको र उत्पादनमा गिरावट आएको कृषक कुवीर भारतीले बताए। जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले भने चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए।

अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए।

रुद्राक्षको प्राकृतिक आकार र रूप जोगाउन व्यापारिक भिसामा आएका चिनियाँ व्यापारीलाई मात्र खरिद–बिक्री गर्न दिने पाँचखपन नगरपालिकाका मेयर विपिन राईले बताए। बिगत केही वर्षयता चिनियाँ व्यापारी गाउँ-गाउँ पुगेर रुद्राक्ष खरिद गर्दै आएका छन्।

अहिले रुद्राक्षको खेती धनकुटा, सुनसुरी, मोरङ, इलाम, पाँचथरमा समेत लगाउन थालिएको छ। यसलाई हिन्दु, बौद्ध परम्पराअनुसार भारत र चिनमा धार्मिक आस्था,सजावट,गहनाका रूपमा रुद्राक्ष खरिद–बिक्री हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.