|

बैतडी :  आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएसँगै अन्य दलहरुपनि चुनावी तयारीमा जुटेका छन्। उम्मेदवार छनोट गर्ने तयारी स्वरुप दलहरुले आन्तरिक छलफल तीब्र बनाएका छन्।

नेपाली कांग्रेसले अनौपचारिक रुपमै उम्मेदवार छनोटका लागि छलफल सुरु गरेको छ। सदरमुकाममा उपलब्ध पार्टीका जिल्ला पदाधिकारीको अनौपचारिक बैठकले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाभित्र रहेका पार्टीका समितिलाई यही असोज १० गतेभित्र क्षेत्रीय समितिमा राय पठाउन आग्रह गरिएको जिल्ला कार्यसमितिका सचिव वीरबहादुर विष्टले बताए।

असोज १६ गते जिल्ला कार्यसमितिको बैठक बसेर उम्मेदवारको टुंगो लगाउने उनले जानकारी दिए। अहिले जिल्लाभरी पार्टीका नेताहरुले टिकटका लागि लबिङ शुरु गर्न थालेका छन्। प्रदेश सभा र प्रतिनिधि सभामा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेसमा टुंगो नलागे पनि पुराना नेताहरुकै दाबी रहेको स्रोतले जनाएको छ। कांग्रेस केन्द्रीय समितिले असोज १७ गतेसम्म आकांक्षीका नाम सिफारिस गर्नका लागि निर्देशन दिएकाले सोही अनुसार नै सिफारिस गर्ने सचिव विष्टले बताए। ‘अनौपचारिक रुपमा हामी कसरतमै छौं,’ उनले भने, ‘असोज १७ गते आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्छौ।’

यस्तै नेकपा एमालेले पनि उम्मेदवार छनोटका लागि तयारी गरिरहेको कार्यालय सचिव सरस्वती नेपालीले बताइन्। ‘पार्टीको जिल्ला कमिटी सचिवालयको बैठक बसेर संगठन विस्तार र आगामी निर्वाचनमा कसरी जाने भन्ने बिषयमा छलफल गरेको छौ’ उनले भनिन् ।

उम्मेदवार छनोटका बिषयमा यही असोज १९ गते बस्ने जिल्ला कमिटिको बैठकमा छलफल हुने उनले बताइन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि केही दिनअघि बसेको जिल्ला कार्यसमितिको बैठकमा आगामी निर्वाचनका बारेमा घनीभूत छलफल गरेको पार्टी अध्यक्ष प्रेमबहादुर चन्दले बताए।

यी हुन माओवादी केन्द्रका उम्मेदवार

माओवादी केन्द्रले भने प्रतिनिधि सभाका लागि जिल्ला ईन्चार्ज तथा पूर्व सभासद नरेन्द्र कुँवर ‘विजयसुन्दर’लाई उम्मेदवार बनाएको छ। कुँवर २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर एकबाट अत्याधिक मतका साथ बिजयी भएका थिए। तर ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी एमालेका दामोदर भण्डारीसँग पराजित भएका थिए।

यस्तै माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि रेणु चन्दलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ। प्रदेश सभाका लागि माओवादी केन्द्रले क्षेत्र नम्बर एकमा जिल्ला संयोजक प्रेमप्रकाश भट्ट ‘आदित्य’ लाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्र बैतडीमा जुझारु युवा नेताका रुपमा चिनिने उम्मेदवार आदित्यलाई क्षेत्र नम्बर एकमा प्रमुख दाबेदारका रुपमा लिइएको छ।

यस्तै माओवादीले क्षेत्र नम्बर दुईमा जिल्लाका वरिष्ठ नेता गोपालचन्द्र चन्दनलाई उम्मेदवार तोकेको छ। उनी पूर्व सभासद तथा प्रतिनिधि सभाका उम्मेदवार रेणु चन्दका बाबु हुन्। उनी पार्टी टुटफुट भएको बेला जिल्ला संयोजकको भुमिकामा रहेका थिए। भुवन विक ‘शान’ लाई प्रदेश सभाको समानुपातिक उम्मेदवार तोकिएको छ। माओवादी केन्द्रले अब निर्वाचन परिचालन समितिहरु गठन गरेर प्रचारप्रसारको तयारी गरिरहेको जिल्ला संयोजक तथा क्षेत्र नम्बर एकबाट प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार आदित्यले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.