|
फाइल फोटो

काठमाडौं : व्यवस्थापिका संसद बैठकले सोमबार नाराबाजीकै बीच सोमबार मुलुकी देवानी कार्यविधि संहिता २०७३ पारित गरेको छ। नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले संसदको गणपूरक संख्या यकिन गर्न माग गर्दागर्दै सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गरेर सर्वसम्मतिले पारित भएको घोषणा गरिन्।

सभामुख घर्तीले देवानी कार्यविधि संहिता निर्णयार्थ प्रस्तुत गर्दा सांसदहरु सुवाल र अनुराधा थापामगर आफ्नो सिटबाट उठेर गणपूरक संख्या यकीन गर्न माग गरिरहेका थिए। संसदमा कोही संसद उठेमा संसद अवरुद्ध भएको मानिनेछ, तर सभामुख घर्तीले सांसदहरु उठेको परवाह नै नगरी विधेयक पारित प्रक्रिया अघि बढाएकी थिइन्।

संसदमा विधेयक निर्णयार्थ पेश गर्दा हुन्न भन्ने आवाज सुनिएको छैन भन्दै घर्तीले मुलुकी देवानी कार्यविधि संहिताको प्रस्तावना र नाम विधेयकको अंग बनेको घोषणा गरिन्। सांसदहरु सुवाल र थापामगरले नाराबाजी गरिरहँदा सभामुख घर्तीले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापालाई मुलुकी देवानी संहिता पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिइन्।

थापाले प्रस्ताव पेश गर्न रोस्टममा जाँदा सांसदहरु सुवाल र थापा मगरले 'गणपूरक संख्या यकिन गर' भन्दै नाराबाजी गरिरहेका थिए। नाराबाजीकै बीच कानुनमन्त्री थापाले प्रस्ताव पेश गरे र सभामुखले त्यसलाई निर्णयार्थ पेश गरिन्। अनि भनिन् 'हुन्न भन्ने आवाज सुनिएन त्यसैले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।'

त्यसपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गरिन्। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन र दशैं चाड नजिकिएकाले धेरै सांसद गृह जिल्ला गइसकेका छन्। त्यसैले संसदमा सांसदको संख्या निकै कम थियो। यद्यपी सभामुखले गणपूरक संख्या यकीन नगरेकाले कति जना उपस्थित थिए भन्ने खुल्न सकेन।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.