|

चितवन : सरकारले वडादसैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ। कैद मिनाहा भएका कैदीहरुलाई सोमबार नै आफन्तको जिम्मा लगाएर घर पठाइएको जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार यसरी कैद माफी पाउनेहरुमा सबैभन्दा बढी सवारी ज्यान सम्बन्धी मुद्धाका ६ जना परेका छन्। हातहतियार सम्बन्धीको मुद्धाका ४ जना र कर्तव्य ज्यान मुद्धाका ४ जनाको पनि कैद माफी भएको छ।

यस्तै चोरी मुद्धाका ३ जना, बहुविबाह मुद्धाका ३ जना डाँका मुद्धाका १ जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिए। असल आचरण देखाउनेहरुलाई कारागारको सिफारिसको आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो। उनीहरु सबै ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदीहरु हुन्।

जिल्ला कारागार चितवनले ३० जनालाई आममाफीका लागि सिफारिस गरेकोमा २१ जनाले माफी पाएका हुन्।  यसअघि अघिल्लो बर्ष संविधान दिवसमा १७, जना र दशैंमा ५ जना कैदी छुटेका थिए। गएको गाणतन्त्र दिवसमा २४ जनाले माफी पाएका थिए।

जिल्ला कारागार चितवनमा अहिले क्षमता भन्दा तेक्बर बढी कैदी र थुनुवाहरु रहेका छन्। काफ्लेका अनुसार कारागारमा अहिले कैदी, थुनुवार आश्रित बालबालिका गरी ६०१ जना छन्। जसमा ५९ जना महिला र तिनमा आश्रित ५ जना बालबालिका छन्।

कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाई हुने गरेको कारागार चितवनले जनाएको छ। जसका कारण विभिन्न प्रकारका विरामीलाई पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.