|

पर्वत : म्याग्दीको काभ्रेभिरमा पहिरो गएको पहिरोका कारण् अवरुद्ध बनेको बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आएको छ। हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने या सडक खण्ड म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको थियो।

७६ किलोमिटर दुरीको सडकमा सिधा सवारी सञ्चालन नहुँदा पितृपक्षमा मुस्ताङको कागबेनी पुगेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारण समस्यामा परेका थिए। सडक सञ्चालन नहुँदा दशैंका लागि मुस्ताङबाट ल्याउँदै गरिएका च्याङ्ग्रा र स्याउ समेत बाटोमै अलपत्र परेका थिए।

डोजरले पहिरो पन्छाएपछि अहिले  यातायातका साधन निर्वाध सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रमुख प्रहरी नायब उपरीक्षक बसुन्धरा खडकाले बताइन्। उनले भनिन, 'जति पन्छायो उति नै माथिबाट सुख्खा पहिरो झरिरहेका कारण यति लामो समय लागेको हो।’ बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीले लगातार ६ दिन सम्म डोजर र स्काभेटर प्रयोग गरी बाटो खुलाएका हुन्।

पहिरोसँगै निकै ठूलो चट्टान सडकमा खसेपछि बम पड्काएरफुटाइएको थियो। बाटो खुलेपछि घाँसामा अलपत्र परेका तीर्थयात्री तथा पर्यटकहरू सोमबार रातिदेखि नै गन्तव्यतिर लागेका छन्। दसैं र तिहारका लागि झारिँदै गरेका च्याङ्ग्रा र स्याउ पनि बजार पठाउन लागिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.