|

सोलुखुम्बु :  बडादसैको अवसरमा सरकारले सोलुखुम्बुका ३ जना कैदीको कैद मिनाहा गरेको छ । कैद मिनाहा गराउनका लागि नियामानुसार मापदण्ड पुगेका ४ जना सिफारिस गरिएकोमा ३ जनाले कैद माफी  पाएको  जेलर महेश निरौलाले जानकारी दिए।

कैद माफी पाउनेमा कर्तव्य ज्यान मुद्दाका दोषी साविकको जुभिङ ६ सोलुखुम्बुका कीर्तिराम राई, चोरी मुद्दाका दोषी काकुका निमा ग्यालजेन राई र साविकको वेणि ३ हाल दूधकुण्ड नगरपालिका वडा नं २ सोलुखुम्बुका कर्तव्य ज्यान मुद्दाका दोषी फूर्वाछिरी शेर्पा छन्। कीर्तिरामले  ४० प्रतिशत, निमाग्यालजेनले  ७५ र फूर्वाछिरीले ४० प्रतिशत कैद भुक्तान गरसकेको निरौलाले जानकारी दिए।

प्रतिबन्धित मुद्दाजस्तै हातहतियार खरखजना, जबरजस्ती करणी, लागुऔषध कारोबार सहित ९ प्रकारका मुद्धा बाहेक अन्य मुद्धामा  ४० प्रतिशत सजाय काटिसकेको, असल आचरण देखाउने कैदीलाई कैद मिनाहाका लागि सिफारिस गर्न सक्ने व्यवस्था रहेको छ। गएको जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा ८ जनाको कैद मिनाहा भएको कारागार शाखा सोलुखुम्बुले जनाएको छ।

सोलुखुम्बु कारागारमा अहिले क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन्। निरौलाका अनुसार  २५ जनाको क्षमता रहेको कारागारमा महिला कैदी ५, पुरुष ६३ गरी ६८ जना बन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदी भएकाले व्यवस्थापनमा कठिनाइ भएको कारागार शाखाले जनाएको छ।

क्षमताभन्दा बढी कैदी बन्दी, स्थायी दरबन्दी रिक्त तथा स्वास्थ्यतर्फको दरबन्दीमा पदपूर्ति हुन नसक्दा समस्या भएको निरौलाले उल्लेख गरे। कैदी बन्दीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन हेल्थ असिसटेन्टको दरबन्दी रहे पनि विगत ९ महिनादेखि खाली रहँदा समस्या आएमा जिल्ला अस्पताल फाप्लु लग्ने गरिएको उनले जानकारी दिए। उनले पदपूर्ति गर्नका लागि लोकसेवा आयोगमा माग गरिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.