अर्थ

विद्युत् कटौतीले उदयपुर सिमेन्ट उद्योगमा मासिक १ करोड घाटा
SHARES

असोज १०, २०७४

    उदयपुर : उदयपुर सिमेन्ट उद्योगलाई विद्युत् कटौतीले एक करोड बराबरको घाटा भएको छ। विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण देशकै सबैभन्दा ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योगमा दैनिक रुपमा विद्युत् कटौतीले नोक्सान भइरहेको हो।

    उद्योगका अनुसार एक सातामै अढाई करोडले घाटा भएको छ। उत्पादन र बिक्रीका हिसाबले उद्योग नाफामा गए पनि विद्युत् प्राधिकरणले नियमित बिजुली आपूर्ति नगर्दा एक सातामै २ करोड ५० लाख मुनाफामा कमी आएको हो।

    अघिल्लो आर्थिक वर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो वर्ष विद्युत् समस्याका कारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अवस्था नरहेको नायव महाप्रबन्धक तथा प्लान्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए। विद्युत् आपूर्तिका कारण मुनाफामा कमी आए पनि उद्योगको बैंक मौजाद अहिले पनि ५ करोडबढी रहेको साहले बताए।

    एक घन्टा लाइन जाँदा ६ लाख घाटा

     प्राधिकरणले उद्योगलाई २४ घन्टा विद्युत् आपूर्ति उपलब्ध गराउने आश्वासन दिए पनि दैनिक सरदर १५ घन्टाभन्दा बढी उपलब्ध गराउन नसक्दा मुनाफामा कमी आएको साहले बताए। उनले भने, ‘जब उद्योगले गति लियो त्यही बेला दैनिक १० देखि १२ पटक झ्याप्प–झ्याप्प जान्छ, जुन दैनिक सरदर ५ घन्टा हुन आउँछ।’

     एक घन्टा लाइन जाँदा उद्योगलाई ६ लाख घाटा हुने र यस्तो घाटा दैनिक २५ देखि ३० लाख रहेको साह बताउँछन्। ‘कहिले दुई मिनेटमै आउँछ कहिले २ घण्टासम्म आउँदैन्,’ साहले भने, ‘पछिल्लो समय मुनाफामा गएको उद्योग विद्युतकै कारण घाटा जाने अवस्थामा पुगेको छ।’ दैनिक ६ सय ५० टन सिमेण्ट उत्पादन गर्दै आएको उद्योगले अहिले विद्युत् समस्याकै कारण ४ सय टन मात्र उत्पादन गर्दै आएको उनको भनाइ छ।

    २४ सै घन्टा लाइन आए दैनिक १६ हजार बोरा उत्पादन

    लाइन २४ घन्टा आउने हो भने दैनिक १६ हजार बोरा उत्पादन गर्ने उद्योगको क्षमता छ रहेको नायव महाप्रबन्धक साहले बताए। लाइनकै कारण उद्योग सरदर महिनामा २५ देखि बढीमा २७ दिनसम्म चल्ने गरेको उनको भनाइ छ।

    बत्तीकै समस्याका कारण सिमेन्ट उत्पादनको महत्वपूर्ण मेसिन मानिने ‘विक्र’ वेला–वेलामा जाने गर्दछ। विक्रमा हिटिङ र कुलिङ हुँदा विक्र खस्ने, फुट्ने र अन्य उपकरणहरु जल्ने, टुटफुट हुने गर्दछ। एकपटक विक्र जाँदा त्यसको समान ल्याउँदा र बनाउँदा १५ दिन लाग्ने गर्दछ। १५ दिनसम्म उद्योग नचल्दा र त्यो सामान खरीदगर्दा उद्योगलाई झन्डै १० करोड घाटा जाने गरेको उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्लेले बताए।

    प्रतिघन्टा ३५ टन उत्पादन

    विद्युत् नियमित सुचारु हुँदा उद्योगले प्रतिघन्टा ३५ टन उत्पादन हुने काफ्लेले बताए। उनले भने, ‘यही बेला सिमेन्टको माग छ, तर लाइनले गर्दा माग पूरा गर्ने सिमेन्ट उत्पादन गर्न सकिएको छैन।’ बजारमा दैनिक १५ हजार बोरा सिमेन्टको माग रहेको काफ्लेले सुनाए।

    पटक–पटक विद्युत् काटिने समस्याले सिमेन्ट उत्पादन प्रभावित हुनुका साथै ठूला मेसिनहरुमा समस्या आउने गरेको उनको भनाइ छ।

    ३ करोड २० लाख मासिक महसुल

    लाइनका विषयमा लहान सवस्टेसनको ०३३–५६०४०० नम्बरमा जानकारी लिन खोज्दा सवस्टेसन प्रमुखले फोन नै नउठाउने गरेको काफ्लेले गुनासो गरे। उनले पिकआवरमा चलाउने भन्दै २४ घन्टा विद्युत् उपलब्ध गराउने सर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महसुल बुझाउने गरे पनि सर्तअनुसार काम नभएको बताए।

    बेलुकी ५ बजेदेखि बिहान ६ बजेको समयलाई पिकआवर मान्ने गरिएको छ। यस्ता ग्राहकसँग प्राधिकरणले डेलिकेटेड फिडर भन्दै प्रतियुनिट १७.५० पैसा लिने गर्दछ। उद्योगले प्राधिकरणलाई मासिक ३ करोड २० लाख रुपैयाँ महसुल मात्र बुझाउँछ। तर, पनि विद्युत् नियमित आउन सकेको छैन् काफ्लेले भने।

    ०४४ मा स्थापित उद्योग सञ्चालनको केही वर्ष राम्ररी सञ्चालनमा आए पनि त्यसपछि भने विभिन्न कारणले प्रभावकारी ढंगले चल्न सकेको छैन। मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो।

    विद्युत् आपूर्तिमा देखिएको समस्याबारे विद्युत् प्राधिकरणको उच्च तहमासमेत पटक-पटक कुरा भएको तर समस्या समाधान नभएको साहले बताए। २ वर्षयता कुनै दिन पनि २४ सै घन्टा विद्युत् आपूर्ति हुन सकेको छैन्,’ नायव महाप्रबन्धक साहले भने, ‘लोडसेडिङबाहेक विद्युत् आपूर्ति भइरहेको बेला प्रत्येक २ घन्टाको अन्तरालमा छिन–छिनमा लाइन जान्छ, यसरी जाने लाइन दैनिक ५ घन्टा बढी हुन आउँछ।’

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]