|

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले पदमुक्त गरिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अदालतले पुनर्बहाली गरेमा पनि आयल निगममा काम गर्न नदिने बताएका छन्।

अदालतले खड्कालाई सफाइ दिइ पुनर्बहाली गर्न सक्ने अड्कल चलिरहेको बेला मन्त्री मण्डलले मंगलबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनलाई काम गर्न नदिने बताएका हुन्।

संसदीय समितिको प्रतिवेदनको आधारमा सोझै बर्खास्त गरिएकाले खड्कालाई सफाइको पर्याप्त मौका दिएको जिकिर गर्दै मन्त्री मण्डलले उनलाई स्पष्टिकरणको मौका नदिएको भन्न नमिल्ने बताए। मन्त्री मण्डलले खड्कालाई अब अख्तियारले कानुन बमोजिम कारबाही गर्नुपर्ने बताउँदै त्यसका लागि प्रमाण दिनुपरे आफू सहयोग गर्न तयार रहेको स्पष्ट पारे। ‘कम मूल्यमा जग्गा बेच्नेहरुको बयानै म लिन सक्छु र दिन लगाउन सक्छु,’ मण्डलले भने, ‘खोला किनारका जग्गा किनिएको छ, त्यसैले नाङ्गो रुपमा भ्रष्टाचार भएको सबैलाई थाहा छ, खड्का उम्किन पाउँदैनन्।’

काठमाडौंको दरबारमार्गमा शिलबन्दी गरिएका पसलहरु खोलिएको प्रसंगमा उनले पसलेहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउने शर्तमा पसल सञ्चालन गर्न दिइएको बताए। उनले भने, ‘हामीले उनीहरुलाई एक पटकलाई सच्चिनका लागि करारनामा गराउँदै विगतको गल्तीमा कारबाहीको भागिदार बनाउने गरी पसल खोल्न दिएका हौं, यहाँ कुनै चलखेल र कैफियत छैन।' पत्रकारहरुले उनलाई चलखेलमा खोलिएको आशयसहित प्रश्न गरेपछि मण्डलले प्रतिक्रिया दिँदै आफू कुनै प्रकारको लोभलालचमा नफस्ने बताए।

अर्को फरक प्रसंगमा आफू मोरङका ५ नम्बर क्षेत्रबाट चुनाव लड्ने घोषणा उनले गरेका छन्। यसअघि मोरङ क्षेत्र नम्बर ४ बाट विजयी बनेका मण्डलको क्षेत्र अहिले ४ र ५ दुवैतिर बाँडिएपछि उनले ५ लाई नै रोजेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.