|

झापा : उनलाई पनि त्यसबेला रक्तदान गर्न निकै डर लागेको थियो रे। त्यसबेला सबैले रगत दिन हुँदैन कमजोर होइन्छ भन्थे। तर, ०५० को फागुन महिनामा उनले बाध्यतामा परेर रक्तदान गर्नुपर्यो। आफ्नै संगठनले आयोजना गरेको र आयोजकका अध्यक्ष भएका कारण पनि उनले रक्तदान गर्नैपर्ने भयो।

उनी अर्थात् झापा दमक ६ का ५० वर्षीय राजकुमार श्रेष्ठ। ०५० मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपाल दमक नगर समितिले अधिवेशनको क्रममा आयोजना गरेका रक्तदान गर्ने क्रममा कोही अग्रसर भएन। अरुलाई उत्साह जगाउँन पनि रक्तदान गर्नु परेको उनलाई अहिले जस्तो लाग्छ।

‘त्यतिबेला २५/२६ वर्षको युवा थिएँ, जोस जाँगर थियो, त्यसैले केही गर्नु, भनेर रक्तदान कार्यक्रमको आयोजना गरियो तर, खासै कोही पनि रक्तदान गर्न आएनन्’, उनी भन्छन्, ‘अरुलाई उत्साह जगाउँनकै लागि भए पनि मैले रक्तदान गर्नुपर्यो सुरुमा त धेरै डर लागेको थियो।’

रक्तदान गर्ने मान्छे नै पाइँदैनथ्यो

रक्तदान गरिरहेको समयमा पनि उठ्न सकिँदैन जस्तो लागेको उनले सुनाए। ‘मलाई धेरै डर लागेको थियो, कतै रगत दिइसकेपछि उठ्न सक्दिन कि भनेर, हेर्दा लक्का जवान छु, भरे उठ्दा बेहोस भएर लडें भने के होला भनेर डर लागिरहेको थियो’,उनले भने।

त्यतिबेला रक्तदान गर्ने पाउँनै समस्या हुने गरेको उनी सम्झन्छन्। उनी भन्छन्, ‘त्यतिबेला कमजोर होइन्छ भनेर रक्तदान गर्ने मान्छे नै पाइँदैनथ्यो, सबै डराउँथे, रक्तदान गर्नेलाई धेरै सम्मान गरिन्थ्यो, मलाई पनि दोस्रो, तेस्रोपटक ब्लड डोनेसन गरेपछि धेरैले जुसहरु दिने गरेका थिए, डाक्टरहरुले पनि रक्तदान गरेको ठाउँमा कोहीलाई बस्न दिँदैनथे।’ उनले आफूले पहिलोपटक रक्तदान गरेपछिमात्र आफ्नो रगत समूह थाहा पाएको बताए। श्रेष्ठ भन्छन्, ‘मैले पहिलोपटक थाहा पाएँ, मेरो ब्लड ग्रपु ए भोजेटिभ रहेछ।’

उनले पहिलोपटक पछि चारपटक रक्तदान गरेपछि अब नगर्नु पर्ला भन्ने सोच बनाएका थिए। उनी भन्छन्, ‘चारपटकसम्म रक्तदान गरेपछि अब रक्तदान गर्दा कमजोर होइन्छ, गर्दिनँ अब भन्ने सोचेको थिएँ, तर एक दिन साथीहरुले तँ यति पटक रक्तदान गरेको मान्छे भन्दै सम्मान गर्नुभयो अनि मलाई झनै हौसला मिलेर आयो त्यसपछि लगातार रक्तदान गर्दै आएको छु।’

उनले अहिलेसम्म १०० पटक रक्तदान गरिसकेका छन्। स्वास्थ्यले साथ दिएसम्म अझै रक्तदान गरिरहने सोच रहेको उनी बताउँछन्। ‘१०० पटक त गरिसकें, अझै स्वास्थ्यले साथ दिएसम्म गरिरहने छु।’

आफूले रक्तदान गरेको बिरामी बाँचेको सुन्दा खुसी भएँ

रक्तदानका क्रममा दुईवटा क्षण आफूले कहिल्यै बिर्सन नसक्ने अनुभव उनले सुनाए। उनले ०६२/०६३ सालतिर दमकको आम्दा अस्पतालमा रगत दिएर सुत्केरीको ज्यान बचाएकोमा गुन सम्झेर उनका श्रीमानले १५ दिनपछि सय रुपैयाँ दिन आएका तर, आफूले नलिएको स्मरण गरे।

यस्तै, अर्को एउटा घटना छ बुधबारेमा पानखाने क्रममा नचिनेका एकजना मान्छे भेटिएका र उनकी श्रीमतीलाई आफूले रक्तदान गरेको रहेछ तर उनलाई बचाउन सकिएनछ। आफूले रगत दिएको मान्छेको मृत्यु भएको खबर सुन्नुपर्दा साहै्र नरमाइलो लागेको उनले सुनाए।

उनले १०० पटक रगत दान गर्दा अहिलेसम्म कहिले पनि आफूलाई कमजोरी महसुस नलागेको बताउँछन्। भन्छन्, ‘मलाई अहिलेसम्म रक्तदान गर्दा कहिले कमजोर भएको जस्तो लागेन, रक्तदान गरेको बेलामा त म फ्रेस भएको अनुभव गर्छु, जतिबेला मान्छे नुहाएर बाहिर निक्लन्छ, मलाई पनि त्यस्तै लाग्छ।

 प्रत्येक तीन महिनामा रक्तदान गर्नु राम्रो कुरा हो, रगत कहिले शरीरमा सकिँदैन, यो त उत्पादन भइरहने चिज हो।’ पछिल्लो पटक आफूले ०७३ को पुस १७ गते रक्तदान  गरेको र विशेष अवस्थामा अहिले जो कोहीलाई समस्या परेमा रक्तदान गर्ने उनले बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.