|

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पाँचौं बनेको छ। मंगलबार तीन वटा स्थानीय तहको नतिजा आउन बाँकी रहँदा १३६ स्थानीय तहमध्ये एमालेले १८ तहमा जितेको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेकपा माओवादीले एमाले भन्दा धेरै सिट जितेका छन्। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तेस्रो चरणको निर्वाचनमा पनि आफू पहिलो हुने दावी गरेको थियो। तर उसको अनुमान किन मिलेन?

मधेस केन्द्रित दल र कांग्रेस-माओवादीले समेत एमालेलाई मधेस विरोधी दलको रुपमा प्रचार गरेका थिए। हुनत एमालेले मधेसको माग संबोधन गर्ने भनी ल्याइएको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेकाले पनि उसलाई मधेस मुद्दामा अनुदार रहेको आरोप लागेको थियो। यसै सन्दर्भमा एमाले महासचिव ईश्वर पोखरेलसँग थाहाखबरकी देविका घर्ती मगरले गरेको कुराकानी :

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले तेस्रो चरणको चुनावमा पाचौं स्थानमा खुम्चिएको छ। यो परिणामको सन्देश के हो? 

पहिलो, संविधान जारी गर्न नदिनेहरु, जारी भइसकेपछि कार्यान्वयन हुन दिन्नौं भनेर धम्की दिनेहरुको सोच तथा योजनाहरु पराजित भएको छ। दोस्रो, नेकपा एमालेलाई सम्पूर्ण शक्तिले घेराबन्दी गरेर 'एमाले मुक्त मधेस' भन्ने दम्भपूर्ण आपराधिक उद्घोष जुन गरिएको थियो। त्यो पराजित भएको छ। 

तेस्रो, आफ्ना मत, विचारहरु लोकतान्त्रिक विधिबाट जनताको बीचमा लैजाने संविधानको स्पिरिट स्थापित भएको छ। चौथो सन्देश के हो भने, जतिसुकै घेराबन्दी गरे पनि नेकपा एमाले लोकप्रिय मत र स्थानीय तहमा निर्वाचितहरुको संख्याका आधारमा हामी उल्लेखनीय नै छौं। प्रमुख पदहरुमा यताउता भए पनि लोकप्रिय मतका आधारमा त्यहाँ एमालेको राम्रो बर्चस्व छ। 

यो सबै जटिलता, षड्यन्त्र र प्रतिकूलताको बीचमा पनि निर्वाचन भएको छ। संविधान अस्वीकार गर्नेहरुले समेत पनि संविधानले गरेको व्यवस्था अनुरुप निर्वाचनमा जानु सकारात्मक हो। तमाम धाक, धम्की, निर्वाचन आचारसंहिताको ठाडो उल्लंघनका बाबजुद पनि मतदाताहरु मतदानस्थलसम्म आउनुभयो। यो अत्यन्तै प्रसंशनीय छ। 

एमालेको लक्ष्य त २ नम्बर प्रदेशमा पहिलो पार्टी हुने थियो नि होइन? कम्तीमा ५० प्रतिशत ल्याउछौ भन्नुभएको थियो। किन तपाईहरुको अनुमान मिलेन?

निर्वाचनमा गएको बेला हामी तेस्रो हुन्छौं कि चौथो हुन्छौं भन्ने कुरा आएन। हामी अत्यन्त प्रतिकुलताका बीचमा चुनावमा गइरहेका थियौं। यदि साँच्चिकै भन्नुहुन्छ भने, तपाईंहरुले पनि थाहा पाउनुभयो होला। कतिपय ठाउँमा गणना गर्दागर्दै सुरक्षाकर्मी, कर्मचारी, निर्वाचन आयोगको जस्तो खालको रबैया रह्यो त्यो रबैयाको बीचमा र देखिने र नदेखिने शक्तिहरुले जसरी एमालेलाई तराई मधेसबाट मुक्त गराउन खोजे त्यसलाई चिरेर यो ठाउँमा आउनु पनि हाम्रो लागि ठूलो कुरा हो। 

केही ठाउँमा पार्टीभित्रैको विवादका कारण पनि एमाले पराजित भएको देखियो नि?

परिणामबाट प्रभावित भएर प्रतिक्रियाहरु आउन सक्छन्। त्यस्ता प्रतिक्रियाहरु पार्टीभित्रै पनि विभिन्न कर्नरबाट आउन सक्छन्। त्यसलाई सुन्नु त पर्छ तर परिणामबाट प्राप्त भएका प्रतिक्रिया हुन् भनेर बुझ्नुपर्छ। भर्खरै हाम्रो केन्द्रीय कमिटीको बैठकमा पनि पार्टी अध्यक्षले प्रतिवेदन पेश गर्नुभएको छ। त्यसमा समीक्षा छ। प्रतिवेदनमा ८ वटा समूह बनाएर घनिभूत छलफलहरु भएका छन्। 

सोचेको जस्तो परिणाम नआइसकेपछि कसैलाई केही त्यस्तो लागेको होला। अथवा अरु प्रदेशमा आएको परिणामलाई देखेर ज्यादा उत्साहित भएर पनि आँकलन भएको हुन सक्छ। तर हामी जस्तो प्रतिकूलताको बीचमा निर्वाचनमा गएका थियौं, लगभग यस्तै परिणाम नै आएको छ।

हामीले आन्तरिक व्यवस्थापन केही राम्रो गर्न सक्थ्यौं। त्यो चाहिँ नभएको हो। हाम्रो आन्तरिक व्यवस्थापन, टिकट वितरण, त्यसपछिको परिचालन। कुन व्यक्तिलाई कुन ठाउँमा राख्ने भन्ने कुरामा केही कमजोरीहरु पनि भएका छन्। 

संविधान संशोधन, मधेस आन्दोलनका क्रममा एमालेले खेलेको भूमिकाका कारण पनि मत घटेको हो भन्ने लाग्दैन ? 

यो त एमालेलाई कमजोर देखाउनका लागि संविधान संशोधनको नाटक गरिएको हो। संशोधनले चाहिँ तराई मधेसका जनताको हित गर्थ्यो, संशोधनको पक्षमा माओवादी-कांग्रेस थियो। तर एमाले थिएन भन्ने लगत सन्देश लैजाने योजना थियो।

त्यही योजनाअनुसार एमालेको विरुद्धमा त्यसलाई पनि प्रयोग गर्ने काम गरियो। त्यसले पनि एमालेलाई बद्नाम गराउने, एमाले मधेस विरोधी हो भन्नेहरुले एउटा निहुँ पाएका हुन्। तर एमाले संविधान संशोधनको विपक्षमा होइन। जे मुद्दा अगाडि आएका छन् ती औचित्यपूर्ण छैनन् पो भनेका हौं।  

प्रदेश नम्बर २ का मतदातालाई के भन्नुहुन्छ?

संविधानले गरेको व्यवस्था अनुरुप धेरै किसिमका प्रतिकुलताहरुलाई चिर्दै भए पनि निर्वाचनको प्रक्रिया अगाडि बढेको छ। संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धी यो पनि हो। खासगरी नेकपा एमालेको पक्षमा मतदान गर्न चाहने मतदाताहरुलाई डर, त्रास, प्रलोभन अनेक खालका कार्य गरियो। त्यसका वाबजुद पनि मतदान गर्नुभयो। त्यसका लागि म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।

मूल कुरा  अहिलेको निर्वाचन र निर्वाचनमा सहभागिताले जनतालाई सबल बनाएको छ। लामो समयदेखि स्थानीय तह प्रतिनिधिविहीन अवस्थामा थिए। त्यसलाई अन्त गरेको छ। स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरु आएका छन्। प्रतिनिधिहरुले जनताको हितमा काम गर्नुपर्छ। जनताले सजगता र खबरदारी गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.