सडकमा गुणस्तरहीन क्याट आई लगाउँदा चालकलाई हैरानी
सडकमा गुणस्तरहीन क्याट आई लगाउँदा चालकलाई हैरानी
कपिलवस्तु : विपरीत दिशाबाट आएका गाडीहरु एक आपसमा देखिने गरी घुम्ती सडकहरुमा राखिने घुम्ती ऐना (कन्भेक्स मिरर) ले सडक दुर्घटना र ध्वनि प्रदूषण कम हुने विश्वास गरिएको हुन्छ। सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र पहिचान गरी कपिलवस्तुका विभिन्न स्थानमा कन्भेक्स मिरर राखिएको भए पनि त्यसको उपलब्धि शून्यसरह भएको छ।
सडकको मोडमा लगाइने क्याट आई (चम्कने विशेष किसिमको सिग्नल) गुणस्तरहीन हुँदा रात्रिकालीन सवारी चालकले सास्ती भोग्नुपरेको छ। पूर्व–पश्चिम मुख्य राजमार्गअन्तर्गत कपिलवस्तुको १ सय १५ किमी क्षेत्रमा क्याटआई जडान गरिएको छ।
जडान गरेको २ महिनामै फुटे ऐना
पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. ५ शिवपुरले १ हजार क्याट आई लगाउन गुप्ता निर्माण सेवा दाङलाई ठेक्का दिएको थियो। दुर्घटनाको सम्भावना रहेको घुम्ती तथा मोडहरुको सडकका दुवै किनारमा जडान गरिएका क्याट आई जडान गरेको दुई महिनामै बिग्रिएपछि रात्रिकालीन रुटका सवारीसाधन झुक्किने गरेका छन्। जसकारण दुर्घटनाका सम्भावनाहरु समेत बढेको छ।
जिल्लाको शिवराज नगरपालिकाको चोर खोला, सुरई खोला र खरेन्द्रपुरको मोडमा दुर्घटनाको जोखिम कम गर्न कन्भेक्स मिरर र क्याटआई राखिएको छ। ती मोडहरुमा वर्षेनी दर्जनौं दुर्घटना हुने भएकाले अत्यन्त जोखिमपूर्ण स्थान पहिचान गरि उक्त कन्भेक्स मिरर र क्याटआई राखिएको हो। गतबर्ष मात्र जडान गरिएका अधिकांश घुम्ती ऐना अहिले तोडफोड भएपछि सुरक्षाभन्दा पनि दुर्घटनाको जोखिम बढेको छ।
घुम्तीमा राखिएका अधिकांश कन्भेक्स मिरर अहिले फुटेका छन्। जिल्लाको शिवराज नगरपालिका अन्र्तगत पर्ने चोर खोला र सुरई खोलामा राखिएका ऐना काम नलाग्ने गरि तोडफोड गरिँदासमेत सम्बन्धित निकाय मौन रहेको छ।
पूर्व-पश्चिम मुख्य राजमार्ग अन्र्तगत कपिलवस्तुको ११५ किमी क्षेत्रमा बिभिन्न घुम्तीमा सुरक्षित यात्राका लागी कन्भेक्स ऐना राख्नैपर्ने भए पनि ३ वटा घुम्तीमा मात्र उक्त ऐना राखिएका छन्। गत बर्ष वाणगंगा यातायात व्यवसायी समिति, नेपाल किसान ट्याक्टर समिति र कृष्णनगर जिप व्यवसायी समितिको सहयोगमा कन्भेक्स मिरर त्यस ठाउँमा राखिएको थियो।
के भन्छ ट्राफिक कार्यालय?
ऐना फुटेपछि सडकमा आएका समस्याबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गुनासो आउने क्रमसमेत बढेको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरी उक्त ऐनाको मर्मत सम्भार गर्नतर्फ आफूले सक्दो पहल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अम्मर बहादुर कार्कीले बताए।
मिरर जडान गरी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका संघ संस्थाको सहयोगका लागिसमेत कुराकारी भइरहेको उनले बताए। ‘सडक डिभिजन कार्यालयसँग हामीले त्यस विषयमा कुरा उठाएका छौं, बजेट अभाव छ भन्ने कुरा गर्नुहुन्छ’ प्रहरी निरीक्षक कार्कीले भने। जिल्ला प्रशासन, सडक डिभिजन र प्रहरीको सहमतिपछि कपिलवस्तुका उक्त क्षेत्रमा ऐना राखिएको थियो।
कन्भेक्स मिररको टुटफुटसँगै सवारीसाधनको बत्तीको प्रतिउत्तरस्वरुप चम्किएर अगाडि मोड रहेको अग्रिम जानकारी दिने क्याटआइले फरक दिशा देखाएको र नचम्कने हुँदा समस्या बढेको गुनासो आइरहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।
गुणस्तरहीन क्याटआई तत्काल हटाउन सडक डिभिजन कार्यालयसँग अनुरोध गरेको कार्यालयका प्रहरी निरीक्षक कार्कीले बताए। मोड, घुम्ती जस्तो संवेदनशील स्थानमा झुक्याउने र नचम्कने क्याट आई लगाउनु भनेको दुर्घटना गराउने कारण बन्नु भएको भन्दै उनले गुणस्तरीय क्याटआई लगाउन डिभिजन सडक कार्यालयलाई पत्राचार गरिसकेको समेत बताए।
गुणस्तरहीन क्याटआई हटाउन पहल
मोड, घुम्तीमा लगाइएका गुणस्तरहीन क्याटआई तत्काल हटाउन पहल भइरहेको पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ। कार्यालयसँग पर्याप्त बजेट नहुँदा सो समस्या तत्काल समाधान हुन नसक्नेसमेत बताइएको छ। क्याटआइको उचित व्यवस्थापन गर्दै कन्भेक्स ऐना अझै ७ स्थानमा राख्न सके कपिलवस्तु जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरी कार्यालयको भनाइ छ।
१३ वर्षदेखि नारायणगढ दाङमा बस चलाउँदै आएका ४४ वर्षीय लिलबहादुर कुँवरले घुम्तीमा दुवै तिरका चालकले देख्ने गरी राखिएको ऐनाले आफूहरुलाई निकै सजिलो हुने गरेको बताए। टाढैबाट आएको गाडी ऐनामा देखिएपछि सजिलो भएको हुन्थ्यो, उनी भन्छन्, ‘घुम्तीमा लगाइएको ऐना फुटेपछि अहिले निकै गाहे भएको छ। कन्भेक्स ऐनालाई प्रतिऐना ३० हजारभन्दा बढी रकम पर्ने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।