|

वीरगञ्ज : मधेस आन्दोलनको इपिसेन्टर मानिएको पर्सामा राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले एउटै स्थानीय तहसमेत जित्न सकेन। १४ मध्ये वीरगञ्ज महानगरपालिकाबाहेक १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा राजपाले जित हात पार्न सकेको छैन। मतगणना जारी रहेको वीरगञ्ज महानगरपालिकामा पनि राजपा संघीय समाजवादी फोरम र कांग्रेसभन्दा पछि छ।

६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राजपालाई पर्सामा शुन्य हात लागेको छ। एकताका पार्टी प्रवेश गर्नेहरुको लहर नै चले थियो, तर त्यसको प्रभाव चुनावमा देखिएन। नर्वाचनअघि प्रदेश नम्बर २ लगायत पर्सामा राजपा सशक्त पार्टी बन्न सक्ने आंकलन गरिएको थियो।

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्ज तथा पोखरिया र बहुदरामाई नगरपालिकालगायत स्थानीय तहमा राजपाको पकड रहेको चर्चा थियो, तर चुनावको नतिजा त्यसअनुसार आएन। पर्सामा राजपाको पकड रहेको वीरगञ्ज महानगरमा फोरम नेपालले लिड गरिरहेको छ।

टिकट विवादका कारण राजपाका पूर्वमहामन्त्री तथा पूर्व मेयर विमल श्रीवास्तव लोकतान्त्रिक फोरम प्रवेश गरेर चुनावी प्रतिस्पर्धामा छन्। सोही कारण पनि वीरगञ्जमा राजपालाई धक्का लागेको छ। राजपाबाट वीरगञ्ज महानगरपालिकामा उम्मेदवार बनेका पार्टी महामन्त्री राजेशमान सिंह हालसम्मको मतगणना अनुसार तेस्रो स्थानमा छन्।

महामन्त्री र सह–महामन्त्रीको हार

पर्साको बहुदरामाई नगरपालिकामा राजपाका महामन्त्रीसमेत रहेका शिव पटेल पराजित भए। त्यहाँ नेपाली कांग्रेसका युवा नेता नितेन्त्र साह विजयी भएका छन्।

पोखरिया नगरपालिकामा नेपाल सद्भावना पार्टीका संस्थापक नेता एवम् राजपाका सह–महामन्त्री निजामुदिन समानी पराजित भए। सो नगरपालिकामा रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय सामाजवादी फोरमका तर्फबाट उम्मेदवारी दिएका २८ वर्षीय दीपनारायण रौनियार विजयी भएका छन्।

राजपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद् लक्ष्मणलाल कर्णको घर रहेको वीरगञ्ज महानगरपालिका– ९ मा संघीय समाजवादी फोम नेपलका उम्मेदवार मनोज कलवार विजयी भएका छन्। 

राजपाका केन्द्रीय सदस्य तथा सांसद् रमेश पटेलको वडामा संघीय सामाजवादी फोरम नेपालले जित हात पारेको छ। मधेस आन्दोलनको केन्द्रविन्दु रहेको वीरगञ्ज  महानगरपालिकाको वडा नम्बर २५ मा संघीय समाजवादी फोरम नेपालका विसराज राउत कुर्मी ६ सय ६३ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। पर्सामा राजपा बहुदरमाई नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहमा निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकेको छैन।

विन्दवासिनी गाउँपालिकामा राजपाका तर्फबाट अध्यक्षका प्रस्तावित उम्मेदवार श्रीलाल मोदी टिकट नपाएपछि उम्मेदवारी दर्ताको एक दिनअघि संघीय सामाजवादी फोरम नेपाल प्रवेश गरेर चुनाव जितेका छन्। 

पर्साका राजपाको लजास्पद् हार किन?

पर्सामा राजपाको कमजोर नतिजाको मुख्य कारण आन्तरिक विवाद नै रहेको बताइन्छ। टिकट वितरणलाई लिएर देखिएको विवादका कारण पार्टी महामन्त्री विमल श्रीवास्तव, केन्द्रीय सदस्यहरु शशिकपुर मिया, जनार्दन यादव, विपिन यादवलगायतले पार्टी नै परित्याग गरेर अर्को पार्टीमा लागे।

नवप्रवेशीलाई प्राथमिकता दिइएको भन्दै आन्दोलनकारी नेता, कार्यकर्ता असन्तुष्ट बने। परिणामस्वरुप राजपाले पर्साबाट एउटै पनि स्थानीय तह जित्न सकेन। 
राजनीतिक विश्लेषक एवम् मधेस मामिलाका जानकारसमेत रहेका अधिवक्ता वीरेन्द्र यादव नेताहरुको व्यक्तिगत स्वार्थकै कारण राजपाले हार व्योहोर्नुपरेको बताउँछन्।

राजपाको अहिलेको नतिजाबाट कार्यकर्ता पनि निरास छन्। ‘हिजो हामीले आन्दोलन गर्दा जिस्क्याउनेहरु आज राजपाका नेता बन्दैछन्, पार्टीले आर्थिक प्रभावमा नवप्रवेशीलाई टिकट वितरण गर्‍यो, पुरानालाई पाखा लगाएपछि कसरी नेतृत्व स्वीकार गर्नु?’ राजपाका एक कार्यकर्ताले भने।

टिकट वितरणमा भएको आर्थिक चलखेलले पनि प्रभाव परेको कार्यकर्ताको बुझाई छ। केहीले यसको दोष वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई लगाएका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.