एमालेलाई घाटा, फोरमलाई फाइदा

|

काठमाडौँ: दुई नम्बर प्रदेशका मतदाता यति धेरै अस्थिर र परिवर्तनशील छन् कि साढे तीन वर्षअघि आफूले व्यक्त गरेको जनमतमा अडिन सकेनन्।

दुई नम्बर प्रदेशका आठ जिल्लाका मतदाताको मनस्थिति कति अस्थिर रहेछ भन्ने उदाहरणको रूपमा संघीय समाजवादी फोरमले गत असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको मत परिणामबाट स्पष्ट हुन सकिन्छ। २०७० मंसिरमा भएको संविधानसभा निर्वाचनमा दुई नम्बर प्रदेशका ४८ निर्वाचन क्षेत्रमध्ये तात्कालीन मधेसी जनअधिकार फोरम नेपालले एउटा पनि क्षेत्रमा जीत हासिल गर्न सकेन।

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेको उपेन्द्र यादव नेतृत्वको पार्टीले अहिले सोही प्रदेशको स्थानीय तह निर्वाचनमा २५ तहमा विजय हासिल गरेर यो प्रदेशमा दोस्रो दलको हैसियत देखाएको छ। संविधानसभा निर्वाचन २०७० मा १४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो दलको हैसियत बनाएको एमाले १८ स्थानीय तहमा मात्र जितेर पाँचौँ स्थानमा खुम्चिएको छ।

कुन दलले कहाँ प्रभाव गुमाए, कहाँ कब्जा जमाए?

नेपाली कांग्रेस 

२०७० को संविधानसभा निर्वाचनमा २१ निर्वाचन क्षेत्रमा सांसद जितेको कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी क्षति सिरहामा व्यहोर्नुपर्‍यो। संविधानसभा निर्वाचनमा चार निर्वाचन क्षेत्र जितेको कांग्रेस स्थानीय तहको निर्वाचनमा भने दुईवटा मात्र तहमा सीमित भयो। अन्य जिल्लामा भने कांग्रेसले पकड गुमाएको छैन।

दुई नम्बर प्रदेशको रौतहटमा भने कांग्रेसले धेरै सफलता हासिल गरेको छ। संविधानसभा निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र जितेको कांग्रेसले स्थानीय तहको निर्वाचनमा भने एमालेलाई शून्यमा झारेर आठ तहमा विजय हासिल गरेको छ। धनुषा जिल्लाबाट पाँच सांसद जिताएको कांग्रेसले प्रदेशको संभावित राजधानी जनकपुर उपमहानगरमा नरामैसँग हार व्यहोरे पनि धनुषाका आठ स्थानीय तहमा जितेको छ।

स्थानीय तहको यो निर्वाचनमा कांग्रेसले सप्तरी, सर्लाही र बाराका ५/५ तहमा जितेर सन्तोषजनक परिणाम ल्याएको छ भने महोत्तरी र पर्सामा तीन/तीनवटा मात्र स्थानीय तहमा सीमित भएर क्षति व्यहोरेको छ। संविधानसभा निर्वाचन २०७० मा पनि कांग्रेस पहिलो ठूलो दल भएको थियो।

नेकपा एमाले

समग्र दुई नम्बर प्रदेशबाट एमालेका पक्षमा जनमत आएन। त्यसमा पनि महोत्तरी र रौतहटबाट त एमालेले एउटा पनि स्थानीय तहमा जीत हात पारेन। संविधानसभा निर्वाचन २०७० मा एमालेबाट यी दुवै क्षेत्रबाट दुई/दुई जना सांसद निर्वाचित भएका थिए। अघिल्ला दुई चरणमा भएको निर्वाचनमा एमालेले रुकुम (पूर्वी र पश्चिम) र गोरखाबाट एक जनालाई पनि स्थानीय तहमा जिताउन सकेको थिएन। एमालेले जीतपुर सिमरा उपमहानगर र मधेस आन्दोलनको उद्गम स्थल लहानमा जितेर प्रभाव देखाएको छ।

संविधानसभा निर्वाचनमा रौतहट १ बाट एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र ६ बाट रामकुमार भट्टराई विजयी भएका थिए। एमालेले सिरहा, धनुषा र सर्लाहीमा भने चार/चारवटा स्थानीय तहमा जीत हासिल गरेर पार्टीको प्रभावलाई घट्न दिएन। यी जिल्लाबाट एमालेका एक/एक सांसद निर्वाचित भएका थिए।

रौतहट र महोत्तरीमा नील भएको एमालेले पर्षा र बाराबाट पनि ठूलै क्षति बेहोर्नु पर्‍यो। तीन ÷तीन वटा निर्वाचन क्षेत्रमा यि जिल्लाबाट विजय हासिल गरेको एमालेले स्थानीय तहको निर्वाचनमा भने दुई/दुई तहमै चित्त बुझाएको छ। एमालेले सप्तरीमा भने दुई तहमा जीत हात पारेको छ। यो प्रदेशबाट एमालेका १४ सांसद निर्वाचित भएका थिए।

माओवादी केन्द्र

स्थानीय तहको दुई नम्बर प्रदेश निर्वाचनमा माओवादी केन्द्रलाई भने समग्रमा सफलता प्राप्त भयो। उसले २१ स्थानीय तहमा (तीन तहको परिणाम आउन बाँकी) जीत हासिल गरेको छ। अघिल्लो संविधानसभा निर्वाचनमा यो प्रदेशबाट माओवादी केन्द्रका आठ सांसद मात्र विजयी भएका थिए। माअोवादीलई सबैभन्दा बढी सफलता सिरहामा ६ वटा स्थानीय तहमा प्राप्त भयो।

महोत्तरीमा ४ र पर्सामा ३ स्थानीय तहमा जितेर माओवादीले पार्टीको प्रभाव फैलाएको छ। अघिल्लो संविधानसभा निर्वाचनमा एउटा पनि सांसद जिताउन नसकेको माओवादी केन्द्रले पर्साबाट ३ तहमा र एक सांसद निर्वाचित गरेको महोत्तरीमा ४ स्थानीय तहमा जीत हासिल गरेको छ।

माओवादीले सबैभन्दा ठूलो क्षति सप्तरीमा व्यहोर्नुपर्‍यो। अघिल्लो संविधानसभा निर्वाचनमा तीन सांसद जिताएको माअोवादीले सप्तरी र बारा जिल्लामा एक तहमा पनि जीत हासिल गर्न सकेन। पर्साका तीन तहमा जीत हासिल गरेर माओवादीले सफलता पाएको छ भने रौतहटमा दुई सांसद जिताएर पनि स्थानीय तहमा तीन मात्र स्थानमा चित्त बुझाउनुपरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपाल

संविधानसभा निर्वाचनमा ६ वटा दलको रूपमा प्रतिष्पर्धा गरेको राजपाले यस पटक २४ स्थानीय तहमा विजय हासिल गरेर संगठनको प्रभाव फैलाएको छ।

हाल संसदमा राजपाका चार सांसद छन्। तात्कालीन सद्भावनाबाट धनुषा ४ बाट विजयी संजय साह (हाल निलम्बन), तमसपाबाट महेन्द्र राय यादव, तमलोपाबाट जंगीलाल यादव (पार्टी परित्यागको घोषणा) र महोत्तरीमा स्वतन्त्रबाट निर्वाचित चन्द्रेश्वर झा हाल राजपामा छन्।

राजपाले सबैभन्दा बढी महोत्तरीमा ७, सर्लाहीमा ६ र सप्तरीमा ४ तहमा जीत हासिल गरेको छ। महोत्तरी राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको गृहजिल्ला हो भने सर्लाही अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला हो। राजपाले जनकपुर उपमहानगरपालिका र रौतहट सदरमुकाम गौर नगरपालिकामा जीत हासिल गरेर पकड जमाएको छ।

राजपाले १७ तह भएको सिरहा र १४ तह भएको पर्सामा एक स्थानमा पनि जीत हासिल गर्न सकेन। राजपा धनुषा र रौतहटमा २/२ र बारामा ३ स्थानमा सीमित भएको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको गृहजिल्ला सिरहामा एक तह पनि नजित्नु र अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाको गृहजिल्ला रौतहटमा दुई तहमा सीमित हुनुले राजपाको संगठन कमजोर भएको देखाउँछ।

संघीय समाजवादी फोरम, नेपाल

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले २ नम्बर प्रदेशका परिणाम घोषणा भएको १३३ तह (जम्मा १३६) मध्ये २५ तहमा जीत हासिल गरेर यो प्रदेशमा दोस्रो दलको हैसियत बनाएको छ। फोरमले सबैभन्दा बढी सफलता यादव समुदाय बाहुल्य क्षेत्रमा पाएको छ। सप्तरी र सिरहामा ५/५ स्थानीय तहमा जितेको फोरमले रौतहटमा चार तथा बारा र पर्सामा ३/३ स्थानीय तहमा जीत हासिल गरेको छ। सिरहा नगरपालिकामा जीत हासिल गरेर फोरमले आफ्नो हैसियत बढाएको छ।

फोरमले दुई नम्बर प्रदेशका कुनै पनि जिल्लाबाट प्रतिनिधित्वविहीन हुनु नपरे पनि महोत्तरी र सर्लाहीमा भने एक/एक स्थानमा चित्त बुझाउनुपरेको छ। सप्तरी सदरमुकाम राजविराज, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम तथा २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा फोरमले प्रतिष्पर्धा गरिरहेको छ।

नेपाल लोकतान्त्रिक फोरम

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा तीनवटा तहमा मात्र विजय हासिल गरेको छ। यसअघिको संविधानसभा निर्वाचनमा रौतहटबाट यस पार्टीबाट एक जना मात्र सांसद निर्वाचित भएका थिए। फोरमले सर्लाही, रौतहट र बाराका एक/एक तहमा मात्र जीत हासिल गरेको छ।

अन्य दल

दुई नम्बर प्रदेशको निर्वाचनमा नेपाल संघीय समाजवादी पर्सा जिल्लाबाट दुई तह र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी सप्तरीको एक स्थानीय तहमा मात्र विजयी भएका छन्।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.