|

रमेश तिमलसिना-

    रौतहट : रौतहटका शिक्षकहरुले दसैंमा पनि तलब पाउन सकेका छैनन्। जिल्लाका सबै कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएपछि शिक्षकहरुले दसैंमा तलब पाउन नसकेका हुन्।  रौतहटका करिब २ हजार १ सय शिक्षकहरुको यसपालिको दसैं ऋणमा मनाउनुपर्ने अवस्था आएको छ।

    तलब नपाएपछि शिक्षकहरु निराब भएका छन्। शिक्षकहरुको तलब रौतहटको राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिकाबाहेक १६ वटा स्थानीय तहमा पठाइसकेको जिल्ला शिक्षा कार्यालय रौतहटका जिल्ला शिक्षा अधिकारी राम विनय सिंहले बताएका छन्।

    सबै स्थानीय तहमा जनप्रतिनिधिको चयनमा स्थानीय तहका कर्मचारी लागेपछि नगरपालिकाहरुले विद्यालयको खातामा शिक्षकको तलब नहालिदिँदा शिक्षकहरु समस्यामा परेका हुन्। दसैं जस्तो पर्वमा  शिक्षकले तलब नपाउने भएपछि शिक्षकहरुको दसैं खल्लो भएको जुडिबेला माध्यमिक विद्यालयका प्रचार्य युगल किशोर सिंहले बताए।

    रौतहटको इतिहासमा दसैंमा शिक्षकहरुले तलब नपाएको यो पहिलोपटक मात्र भएको समेत प्राचार्य सिंहको भनाइ छ। आर्थिक अवस्था कमजोर भएका शिक्षक दसैं मान्न ऋणको खोजीमा लागेको दुखेसो पोख्न थालेका छन्। शिक्षकहरुको तलब चौमासिक निकासा हुने हुँदा चार महिना ऋण गरेर गुजारा चलाउने कठिन हुने तथा दसैंमा तलब नपाउँदा चाड मान्नै नसकिने अवस्था भएको दुर्गा माविका शिक्षक गोपाल दाहालले बताए।

    पूmलपातीको अघिल्लो दिनसम्म पनि विद्यालयको खातामा रकम नआएको शिक्षकहरुको गुनासो छ। शिक्षा कार्यालयले स्थानीय तहको खातामा पैसा हालेको भए तापनि नगरपालिका तथा गाउँपालिकाले विद्यालयको खातामा रकम नहालिदिँदा शिक्षकहरु मारमा परेका हुन्।

    यता, राजदेवी नगरपालिका  र यमुनामाई गाउँपालिकाका शिक्षकहरुको रकम निकासा हुन सकेको छैन। शिक्षा विभागले पुरानै स्थानीय तहमा रहेका विद्यालयहरुको शिक्षकहरुको मात्र तलब निकासा गरेपछि नयाँ थपिएका राजदेवी र यमुनामाई गाउँपालिकामा निकासा नभएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.