|

वर्षदिनमा लै लै 
हर्षका दिन यी लै लै 

दशैं तिहार चाडबाड 
खुशीले सारा भर्‍यो नि संसार ...

सुगम पोखरेलको गीत गुञ्जिन थालेको छ।  बुटवलको बसपार्कमा घर फर्किनेहरुको मुहार हसिला, रसिला देखिन्छन्। कसैका अनुहारमा भने निराशाको पोको। 

रुपन्देहीका विभिन्न स्थानका साथसाथै कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, वाग्लुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, दाङ, बाँके, बर्दियालगायत देशका अधिकांश जिल्लाका लागि यहाँबाट बस छुट्छन्। 

ती बससँगै अनेक सम्झना र खुशीका पोका बोकेर घर फर्किनेहरुको लाम छ बसपार्कमा। वर्षदिनका कथाकहानी, सुख–दुःखका पन्तुरा फुकाउँदै आफन्तहरु, साथीभाईहरु भेट्न र आशिर्वाद लिन अनेक झन्झट र झमेला झेल्दै यात्रा तय गर्न तयार देखिन्छन् सबैजना। 
हिन्दुहरुको ठूलो चाड बडादशैं मनाउन फर्किनेहरुलाई सुविस्ता दिन बस, जीप व्यवसायीहरुले मेसो मिलाएका छन् । प्रहरी प्रशासनले गुनासो सुन्ने डेक्स खडा गरेका छन्। 

जागिर र अध्ययनको चाप र तनाब बिसाउनका लागि पनि उपयुक्त मानिने यो चाड घुमघामका लागि पनि उत्तिकै ‘फेमस’ छ। वर्षभरिका सुखदुखका पोका बोकेर घर फर्किएकाहरु फेरि उही दिनचर्या सम्हाल्न आइपुगुन्जेल ठूला शहर र छोटामोटा शहरहरु उनीहरुलाई पर्खिरहनेछन्। 

फोटोहरु : सी. पी. खनाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.