|

झापाः कमल गाउँपालिका– १ सराङपाडाकी २९ वर्षकी अञ्जु मिस्त्रीलाई यस पटकको दशैँ कसरी मनाउने भन्ने चिन्ता छ। साउन आन्तिम साता कमल खोलामा आएको बाढीले घरसँगै भएको सबै सामान बगायो। अहिले चार जनाको परिवार खोलाले बगर बनाएको आफ्नै जग्गामा सानो टहरा बनाएर बसेका छन्। 

दाताले दिएको भरमा बँचिरहेका छन् उनीहरू। एक महिना नजिकैको सराङपाडा विद्यालयमा बसे। तर सधैँ विद्यालयमा बस्न संभव नभएपछि उनीहरू १५ दिनअघि आएर बगर बनेको आफ्नै जग्गामा टहरा बनाएर बसेका छन्। ‘खोलाले बगाएको घरका जस्ताहरू भेला गरेर अहिले टहरा बनाएर बसिरहेका छौँ, भएको सबै बाढीले बगायो’, उनी भन्छिन्, ‘अब दशैँ त कसरी मनाउनु र! भएको सबै बगायो।’

यस पटक टहरामै दशैँ मनाउनुपर्ने बाध्यता रहेको उनले बताइन्। ‘गरिबलाई दशैँ त कहिले आउँछ र! तर अरू दशैँमा त कम्तिमा आफ्नै घरमा बसेर मनाउन पाइन्थ्यो, अहिले त यो टहरमा मनाउनुपर्ने भएको छ’, उनले भनिन्। दुई छोरालाई राम्रो लुगा किन्न पैसासमेत नभएको उनी बताउँछिन्। 

यस्तै चिन्ता छ अर्का बाढीपीडित लोम्दा टुडुलाई पनि। यस पटकको दशैँ त नआएकै जाती हुने उनी बताउँछन्। ‘दशैँका लागि जोहो गरेको सबै बाढीले बगायो। दशैँका लागि राखेको धान पनि काम नलाग्ने अवस्थामा पुग्यो’, उनी भन्छन्, ‘अब दशैँ त कसरी मनाउने?’ उनले टहराको दशैँ यस पटक नरमाइलो हुने बताए। घर बगाएर बगरमा परिणत भएको र सम्पतिको नाममा त्यही बगर बाँकी रहेको उनको भनाइ छ। ‘त्यहाँ टहरा बनाएर बसेका छौँ, दशैँ कसरी मनाउनु?’, उनी भन्छन्, ‘कसैले दिन्छ र खान पाउँछौँ भन्दै बसेका छौँ।’

उनले आफूहरूलाई घर बनाउन कसैले सहयोग नगरेको गुनासो गरे। ‘भएको जग्गा सबै खोलाले बगायो, घर पनि लगिदियो, धन्न ज्यानचाहिँ बाँच्यो’, भन्छन्, ‘अहिलेसम्म घर बनाउन कसैले सहयोग गरेनन्, नयाँ घरमा दशैँ मनाउन पाउँछौँ होला भनेको, त्यो पनि भएन।’ 

सोही ठाउँका चन्द्र मुर्मुको घर पनि बगायो बाढीले। उनले दशैँका लागि जोहो गरेको सबै खाद्यान्न पनि बगायो। अहिले घर भएको ठाउँमा खोला कुदिरहेको छ। तर कसैले खोलाको तटबन्ध गर्ने काम पनि गरेनन् अहिलेसम्म। ‘दशैँका लागि राखेको सबै धान, चामल सकियो, अर्काको अधियाँ गरेर साढे चार विगाह जग्गामा लगाएको धान पनि सबै नष्ट भयो’, उनी भन्छन्, ‘दशैँ भन्दा पनि अहिले त खानाकै चिन्ता छ।’

आकाश कालो हुँदा पनि डर लाग्ने गरेको मुर्मु बताउँछन्। ‘फेरि पनि त्यही बगरमा टहरा बनाएर बस्नुपरेको छ, आकाश कालो भयो भने पनि त्यही ठूलो बाढीको याद आउँछ’, भन्छन्, ‘फेरि खोला पस्ने हो कि भन्ने लाग्छ।’

यस पटकको दशैँ बाढीपीडित ७५ वर्षका अराधन मिस्त्रीलाई पनि आएको छैन। उनी आफैँ बिरामी परेर थाला परेका छन् उनी। त्यहीँमाथि घर बाढीले बगाएर घर बनाएको ठाउँमा खोला बगेको छ। अहिले उनीसँग जमरा राख्ने ठाउँसम्म छैन। उनी भन्छन्, ‘म पनि बिरामी छु, घर छैन, खोले खानलाई चामल त अर्काले दिएको भर छ, जमरा राख्ने अन्न कहाँ पाउनु र!’ 

कमल खोला किनारमा रहेको झुप्रो घरको नामो निशान नराखी खोलाले बगाएपछि कहाँ बस्ने भन्ने पिरलो भइरहेका बेला दशैँ पर्वको कुनै उल्लास छाउन नसकेको कमल गाउँपालिका वडा– १ का भरत परियारले बताए। अहिले टहरा बनाएर बसेका उनलाई तीन नानीहरूलाई कहाँ लगेर राख्ने भन्ने चिन्ता छ। ‘त्यसै पनि हामी त सुकुम्बासी, जम्मा सम्पत्तिको नाममा एउटा घर थियो’, उनले दुःखेसो पोखे, ‘त्यही भएको घर पनि बाढीले लगिदियो, अब कहाँ जानु?’ 

विभिन्न दाताहरूले खानाको व्यवस्था गरे पनि बसोवासको व्यवस्था मिलाउनु मुख्य आवश्यकता रहेको उनले बताए। बाढीले घरवास गुमाए पनि बेलाबेला भइरहेको झरीले थप समस्या पारेको छ उनीहरूलाई। केहीले केही अन्नपात जोगाएर ल्याएको भए पनि सुकाउन नपाउँदा त्यसै कुहिन थालेको उनले बताए। उनले भने, ‘यस पटक त अहिलेसम्म झरी परिरहेको छ, बाढीले बगाएर अलिकति धान रहेको थियो त्यो पनि सबै बिग्रियो, अब के खाएर दशैँ मनाउने?’ 

कमल– १ की मनकुमारी नेपालीको पीर पनि उस्तै छ। उनी भन्छिन्, ‘हामीलाई न तीज न दशैँ, केही नआउने भो।’ उनले सरकारसँग बस्ने व्यवस्था मिलाई दिन माग गरिन्।

अविरल वर्षापछिको बाढीबाट विस्थापित बनेका झापाका अधिकांश स्थानका पीडितहरूको हालत यस्तै छ। डुबानमा परे पनि घर नगुमाएकाहरू आफ्नै घरवास फर्केका छन्। घरमा सामान्य क्षति मात्र भएकाहरू घर फर्किसकेका छन्। तर बाढीबाट विस्थापितहरू पुनः आफ्नै ठाउँ फर्किए पनि घरमा रहेका अन्नपात तथा सम्पूर्ण सरसामग्री भिजेर नष्ट भएपछि उनीहरूको अवस्था निकै कष्टकर बनेको छ। 

बाढीले घरमा रहेका भौतिक सामग्रीहरूदेखि चल अचल सम्पतिमा समेत असर पुर्‍याएपछि पीडितले दशैँ मनाउन सकेनन्। आफूसँग भएका सम्पूर्ण सामग्रीहरू बाढीले नष्ट गरेपछि बिहान बेलुकाको छाक टार्न र रात कटाउनसमेत हम्मेहम्मे परेको भएको बेला कसरी दशैँ मनाउने भन्ने चिन्ता भएको बताउँछन् पीडितहरू।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.