|

काठमाडौं : स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले लापरबाहीले बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति दिने गरी कानुन बनाउने व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन्। मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सक संघले उठाएको मागलाई सम्बोधन गर्ने तर मन्त्रिपरिषदले असोज २ गते गरेको उक्त निर्णय फिर्ता नहुने जानकारी दिए।

मन्त्रिपरिषदको उक्त निर्णयको विरुद्धमा नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलनका कारण देशभरका अस्पतालको बहिरंग सेवा बन्द छन्। चिकित्सक संघले सरकारको उक्त निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएको छ।

मन्त्री पोखरेलले भने 'मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सही ढंगले लागू गर्दै र चिकित्सकको मागलाई पनि  सम्बोधन गर्दै  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गरी अगाडि जान सकिन्छ। त्यस मार्फत  समाधान गर्न मन्त्रालय लागिपरेको छ।'

स्वास्थ्य मन्त्री पोखरेलले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक पनि सबै पक्षको सहमतिमा छिट्टै पारित गरिने जानकारी दिए। उनले भने ' संसदमा रहेको चिकित्सा शिक्षा विधेयक सबैको सहमतिमा पास हुन्छ, तर यो व्यवस्थापिका संसदको म्याद सकिन लागेको हुँदा सबैपक्ष सहमत नभएका विषयमा छलफल गरी चाँडै सहमतिमा पुगेर विधेयक पास गर्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.