प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : स्थानीय निर्वाचन २०७४

देशकै सबैभन्दा कान्छा नगर प्रमुख उदय भन्छन्, 'राजनीति फोहोरी खेल होइन'
SHARES

फोटाहरू : गोविन्द महतो
असोज १०, २०७४

    जनकपुरधामः ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ धनुषा जिल्लाको शहीद नगरपालिकाका उदयकुमार बरबरिया सानैदेखि फरक सोच राख्ने गर्थे। विद्यालयमा अध्ययन गर्दैदेखि सामाजिक सेवामा लाग्न उनी उत्साहित हुन्थे। उनी पठनपाठनमा पनि उत्तिकै मिहिनेती र लगनशील थिए।

    सिरहा जिल्लाको मिर्चैयास्थित सगरमाथा इङलिस बोर्डिङ स्कुलबाट प्राथमिक शिक्षा सुरु गरेका उनले इन्जिनियरिङसम्मको शिक्षा प्राप्त गरेका छन्।

    १० वर्षे जनयुद्धकालमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनेका उनले माओवादी र सरकारको शान्ति सम्झौतापछि अवकाश लिएर पुनः आफ्नो बाँकी रहेको अध्ययनलाई निरन्तरता दिए। इन्जिनियर बन्ने सपना बोकेर काठमाडौँतिर लागे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आफ्नो अध्ययन पूरा गरेका उनी भन्छन्, ‘सफलता प्राप्त गर्न दिनरात मिहिनेत गर्नुपर्छ।’

    झट्ट हेर्दा अपरिपक्व देखिने उनमा परिपक्वता भने एकदमै धेरै छ। २४ वर्षका उदय एकपछि अर्को जिम्मेवारी सम्हाल्दै आज धनुषा जिल्लाको एउटा नगरपालिकाको प्रमुख बन्न सफल भएका छन्। उनको हँसिलो स्वभाव र नेतृत्वदायी क्षमताका कारण उनी जनताबाट चुनिएका हुन्। उदयको एक मात्र सपना रहेको छ, शहीद नगरवासी र आफ्नो शानलाई देशमै अगाडि बढाउनु। उनको नेतृत्वदायी क्षमता र खुबीका कारण नै हुनसक्छ, उनी साथीभाइ, छरछिमेक र शहीद नगरीका जनता माझ लोकप्रिय छन्।

    उनले काठमाडौँमा इन्जिनियरिङ अध्ययनको क्रममा विकासलाई राम्ररी नियालेका छन्। उनी काठमाडौँका युवाहरू जस्तै यहाँका युवाहरू पनि सक्षम बन्न सक्छन् भन्ने सोच राख्छन्। त्यसका लागि उनले ‘भिजन’समेत बनाएका छन्। ‘भिजन’ भएकाले ‘मिसन’ बनाएर काम गर्ने उनको ध्येय छ।

    देशकै कान्छा प्रमुख 
    निर्वाचन आयोगको रेकर्डअनुसार देशभरमा भएका पहिलो, दोस्रो र तेस्रो चरणका स्थानीय तह निर्वाचनमा ७५ जिल्लाका ७५३ स्थानीय तहमा २४ वर्ष पुगेका उनी एक मात्र कान्छा प्रमुख हुन्। निर्वाचन कानुनअनुसार २१ वर्षका व्यक्तिले स्थानीय तहमा उम्मेदवार हुन पाउँछन्। उदयले पाँच हजार ८३ मत प्राप्त गरेर नगरपालिकाको प्रमुखमा जित्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवेन्द्र भरखेतले चार हजार ३५१ मत ल्याए। स्थानीय गाउँमा प्रधानमन्त्री कोषबाट गाउँ विकासका लागि ल्याएको रकमको काम गर्दागर्दै उदय देशैभरमा निर्वाचित प्रमुखमध्ये सबैभन्दा कान्छो जनप्रतिनिधि बन्न पुगे।

    ‘राजनीति फोहोरी खेल होइन’
    उनको उमेर समूहका आम युवाले जस्तै उनी पनि राजनीति फोहोरी खेल हो भन्थे। तर अब राजनीतिप्रति उनको सोच फेरिएको छ। राजनीतिबाट मात्रै समाजको परिवर्तन र समृद्धि संभव छ भन्ने निष्कर्षमा पुगेका छन् यी युवा।

    सिभिल इन्जियरिङ विषयमा स्नातक गरेका उदयको काँधमा एकाएक पढाइभन्दा ठूलो जिम्मेवारी आएको छ। तर पनि उनले पढाइ, राजनीति र जनताको सेवा सँगै अघि बढाउने निर्णय गरेका छन्। ‘राजनीति नगर्ने निधो गरेका उनमा अहिले राजनीतिले छुट्टै स्थान बनाइसकेका छ। ‘अब सम्पूर्ण जीवन पार्टी र जनताको लागि समर्पित गर्ने भएँ’, कुराकानीका क्रममा आफ्नो मनको कुरा खोले उनले।

    विहेवारी केही वर्ष पारि
    नगरपालिकाको प्रमुखको पाँच वर्षे कार्यकाल पूरा गर्दा उनी २९ वर्ष पुग्ने छन्, जबकि आम युवाले २५÷२६ वर्षको उमेरसम्म जीवनकालको लक्ष्य नै किटान गरिसकेका हुँदैनन्। तर, उनले भने त्यसपछिको योजनासमेत बनाइसकेका छन्। त्यसभन्दा माथि राष्ट्रिय राजनीतिमा स्थापित हुने उनको सोच रहेको छ।
    २४ वर्ष लागेर जीवनको निर्णायक मोडमा टेक्दै गरेका उदय अविवाहित हुन्।

    पाँच वर्ष गाउँको सेवा गर्न कस्सिएका यी कान्छा प्रमुखले विवाहबारे २/३ वर्षपछि सोच्ने बताए। ‘विहेवारीको कुरा अब केही वर्षका लागि स्थगित नै भयो। तन, मन र धन दिएर जनताको काम गर्ने हो’, उदयले भने, ‘विहे गर्ने उमेर पनि के भएको छ र!’ 

    भावी योजना
    जोगकुमार यादव बरबरिया (श्रवण) पिता र शिवोदेवी यादवका जेठा छोराको रूपमा २०५० जेठ २ गते जन्मेका उदयको आफ्नो कार्यकालभित्रै यस नगरलाई नमूना नगरपालिका बनाउने योजना छ।

    सबैभन्दा कम उमेरको जनप्रतिनिधि बन्न सफल भएको र राजनीति अब आफ्नो भाग्य र भविष्य भएको बताउँदै उनले भने, ‘भविष्यमा राजनीतिले कहाँ पुग्नेछु÷पुग्नेछैन त्यो त भन्न सकिन्नँ तर गाउँबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्छु भन्ने विश्वास छ।’

    उनको उमेरका अरू साथीहरू जस्तै उनी पनि राजनीतिप्रति निराश थिए। तर संयोग यस्तै पर्‍यो, पार्टीले पत्याएर उनलाई टिकट दियो। जनताले पत्याएर चुनाव जिताए। ‘अब त राजनीतिको नशा चढिसक्यो, यसैलाई निरन्तरता दिने हो’, उनले भने।

    उम्मेदवार बन्दै गर्दा उनलाई धेरै साथीहरू र आफन्तले सोधेका थिए रे, ‘हारिस् भने के गर्ने?’ भनेर। ‘मेरो उमेरका कारण उक्त प्रश्न उब्जिएको थियो। तर मैले त्यतिबेलै भनेको थिएँ’, उनले भने, ‘जिते पनि हारे पनि अब राजनीतिमा लागियो, चुनाव नजिते पार्टीमा काम गर्छु। राजनीतिको मैदान छाडेर भाग्दिनँ।’ 

    उनलाई आखिर जनताले नै भाग्न दिएनन्। पहिले त राजनीति गरेका मान्छेहरू देख्दा राजनीति गर्दिनँ भन्ने लाग्थ्यो रे! तर जब भूमिगत राजनीतिमा सहभागी भए, पार्टीप्रतिको लगाव बढ्दै गयो रे उनमा। ‘सामाजिक कामहरूमा पनि लागियो अनि त राजनीतिविना केही पनि हुँदैन जस्तो लाग्न थाल्यो’, उनले भने, ‘हामी जस्ता युवाले राजनीतिलाई घृणा गर्ने होइन, बरु राजनीतिमा लागेर फोहोरले भरिएको राजनीतिलाई सफा बनाउनुपर्ने रहेछ।’

    प्रचण्डका विश्वास पात्र बुबाका कारण माओवादी
    प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न थिए उनी आठ कक्षामा पढ्दाखेरि नै। सिरहाको मिर्चैया सगरमाथा स्कुलमा प्रारम्भिक माओवादीको तालिममा सहभागी भएका थिए उनी। त्यसपछि कक्षा १० को पढाइ प्रथम श्रेणीमा उत्तीर्ण गर्दै गर्दा पनि बीचबीचमा माओवादीका तालिमहरूमा सहभागी भइरहे। 

    आफ्ना बुबा जोगकुमार यादव बरबरिया (श्रवण) माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विश्वास पात्र भएको उनले बताए। ‘जनयुद्धकालमा पहाडबाट प्रचण्ड मधेस झर्दा मधेसको सबैभन्दा विश्वासिलो विश्वासपात्रको रूपमा मेरो बुबा भएकाले घर आउने जाने लगातारको क्रममा म प्रचण्डबाट ज्यादै प्रभावित थिएँ’, उनले भने, ‘जनयुद्धकालमा प्रचण्डलाई दिल्लीमा सुरक्षित रूपमा राख्नेदेखि लिएर अन्य थुप्रै कार्यहरू प्रचण्डको प्रत्यक्ष निर्देशनमा मेरो बुबाले गर्नुभएकाले हाम्रो घर आउने जाने र पारिवारिक सम्बन्ध जस्तै थियो।’

    बुबा माओवादी जनयुद्धकाल सुरु हुनुअघिदेखि नै माओवादीमा लागेका कारण बुबाकै योगदान र आफ्नो सक्रियता देखेर पार्टीले आफूलाई पमुखको टिकट दिएको उनले बताए। ‘पार्टीले विश्वास गरेर अघि बढायो, जनताले विश्वास गरेर झन् अघि बढाइदिए’, उनले भने, ‘उम्मेदवार नबनेको भए म आफ्नै इन्जिनियरिङ पेसामा कुनै ठाउँमा जागिर खान्थेँ होला।’

    करिअर र गाउँको समृद्धिको चिन्ता
    नगर प्रमुख जित्नुभन्दा पनि चुनौती अब कसरी काम गर्ने भन्ने हो उनका लागि। ‘अब म जुनसुकै पार्टीको मान्छे भए पनि जनताको साझा प्रतिनिधि हुँ। त्यसमा पनि म एक्लो छैन। मेरो साथमा पार्टी छ, बुबाहरू हुनुहुन्छ। जनताको साथ छ’, उनले भने, ‘पार्टीले जे निर्देशन दिन्छ, त्यहीअनुसार काम गर्ने हो। कतिपय कुरामा पार्टीको निर्देशनभन्दा जनताको भावना बुझेर काम गर्नुपर्छ।’

    आफूले राम्रो काम गर्न सके मात्र अरू युवालाई प्रेरणा हुने उनको भनाइ छ। ‘मैले राम्रो काम गर्नु भनेको आफ्नो राजनीतिक करिअर पनि सोच्ने हो। गाउँको समृद्धि भयो भने आफू पनि अघि बढ्न सकिन्छ’, उनले भने। आफ्नो अगाडि सिंगो जीवन बाँकी नै रहेकाले सानो गल्तीले पनि राजनीतिक र सामाजिक जीवन धरापमा पर्छ भन्नेमा आफू सचेत रहेको उनले बताए।

    कुनै ठूलो महत्त्वाकांक्षा आफूसँग नभएको तर राष्ट्रियस्तरको राजनीतिमा पुग्न सक्छु कि भन्ने लागेको उनले बताए। ‘यो पाँच वर्ष मैले कसरी काम गर्न सक्छु, जनताको मन कत्तिको जित्न सक्छु, त्यहीअनुसार मेरो भविष्य निर्धारण हुनेछ’, उनले भने। आफूम कुनै पनि लोभलालच नभएको र अबका चुनावहरूमा पनि भाग लिने उनको भनाइ थियो। 

    शहीद नगरमा समस्याको थुप्रो
    तराई–मधेसको धनुषा जिल्ला समथर भए पनि सदरमुकामबाट मोटरसाइकल चढेर जान करिब दुई घण्टा लाग्छ। साविकको बालाबाखर, चोराकोयलपुर, यदुकोहा, ननुपट्टी, पछहेरवा, धवौली, हठीपुर हरबरा, गोठकोयलपुर, नाथपुरसहित नौवटा गाविस जोडिएर बनेको यो नगरपालिकामा सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ।

    गत असार–साउनमा आएको बाढीका कारण सडकहरू अस्तव्यस्त छन्। सडकहरूलाई मर्मत सम्भार गर्न नसकिएको उनले बताए। ‘केही दिनमै मर्मत सम्भारमा लाग्छौँ’, उनले भने, ‘खानेपानी, शिक्षाको समस्या पनि छ। स्वास्थ्य चौकी भए पनि औषधि र स्वास्थ्यकर्मी छैनन्। न्यूनतम सुविधा पनि नभएको अवस्थामा हामीले काम थाल्नुपरेको छ।’ चुनौती धेरै भए पनि पार लगाउन सकिन्छ भन्ने आत्मविश्वास आफूमा रहेको उनले बताए।

गोविन्द महतो

जनकपुरका पत्रकार महतो थाहाखबरका धनुषा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]