|

काठमाडौ: माथेमा कार्यदलले दिएको प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने माग राख्दै १२ औँ अनशन बसेका डा. गोविन्द केसीले दसैंको मध्यनजर गर्दै केही दिनका लागि अनशन स्थगित गरेका छन्।

केसीले केही दिनका लागि आफूले अनशन स्थगित गरेको विज्ञप्तिमार्फत जनाएका छन् । ९ असोजबाट आफ्नो १२ औं अनशन सुरु गरेका डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आफूले अनशन सुरु गरेको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद् हाललाई स्थगित भएको तथा नेपालीहरुको प्रमुख चाड दसैं आएकाले देशभरका सहयोगी, समर्थक र शुभचिन्तकलगायत सबैको दसैं उल्लासमय रहोस् भन्ने आशयका साथ हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको घोषणा गर्दछु' यस्तै १९ असोजबाट पुन: अनशन सुरु गर्ने पनि उनले बताएका छन्।

हेर्नुहोस् डा. केसीले जारी गरेको विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

चिकित्सा शिक्षा ऐनमार्फत स्वास्थ्य र मेडिकल शिक्षामा सुधार गर्न तथा यी क्षेत्रमा हाम्रो अभियानले हालसम्म गरेका उपलब्धि संस्थागत गर्नका लागि हामी निरन्तर लडिरहेको कुरा विदितै छ । यसै पुष्ठभूमिमा यही असोज ९ गतेका दिन संसदमा जनता र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने अन्तिम प्रयास भएको अवस्थामा हामीले चिकित्सा शिक्षा ऐनलाई सही रुपमा पारित गर्नुपर्ने लगायत ५ बुँदे मागहरु राखेर सत्याग्रह सुरु गरेका थियौं ।

सत्याग्रह कार्यक्रम सुरु भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद् हाललाई स्थगित भएको तथा नेपालीहरुको प्रमुख चाड दसैं आएकाले देशभरका सहयोगी, समर्थक र शुभचिन्तकलगायत सबैको दसैं उल्लासमय रहोस् भन्ने आशयका साथ हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको घोषणा गर्दछु ।

तर, अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा प्रतिवेदन तथा हाम्रा सुझावहरु समेटेर सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य मागहरु पूरा गराउनका लागि यही असोज १९ गतेदेखि पुनः सत्याग्रह कार्यक्रम शुरु हुने पनि जानकारी गराउन चाहन्छु।

 

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं

२०७४।६।११

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.