|

काठमाडौ : दसैं हाम्रो घर आँगनमा भित्रिसकेको छ। दसैं मनाउन देशपरदेशबाट सबैजना घर जाने काम जारी छ। त्यही भएर होला अहिले सहर शून्य  र गाउँ भरिभराउ भएको छ।

वर्षभरि रोजगारी तथा शिक्षा र अन्य कारणले घरबाहिर बसेकाहरु सकेसम्म गाउँ पुग्ने गर्दछन्। घर परिवार आफन्तसँगै बसेर आशीर्वाद लिने गरिन्छ। त्यसैले भनिन्छ काम र दामका लागि देश विदेश जहाँ भए पनि दसैं गाउँमै रमाइलो। तर, दसैंले ढपक्कै छोपेको बेलामा विदेश जानेहरुको लागि भने दसैं खल्लो बनेर आएको छ।

बुधबार त्रिभुवन विमानस्थल पुग्दा दसैंको मुखमा घर परिवार छाडेर विदेश जानु पर्दा अँधेरो मन बनाउँदै अगाडि बढ्दै गरेका चितवनका रामचन्द्र विक भेटिए। असारमा तीन वर्षपछि बिदामा घर आएका रामचन्द्रलाई यसपालि दसैं परिवारसँगै मनाउने मन थियो तर, कम्पनीले आजकै लागि टिकट काटेर पठाइदिएपछि आफू विदेश जान बाध्य भएको बताए।

'तीन वर्ष भो परिवारसँगै बसेर दसैं मान्न नपाएको विदेशै हुँदा  त खासै चासो हुँदैनथ्यो ड्युटीमै भइन्थो तर, यसपालि दसैंको मुखैमा विदेश जानु पर्नेमा सारै नरमाइलो लागेको छ, के गर्नु आजै कम्पनीले टिकट पठाइदियो के गर्नु अहिले नगए पछि जान पाइँदैन दसैंमा परिवारसँगै बस्न त मन छ नि' उनले भने

यस्तै, ललितपुरका  मनोज खड्का पनि दसैंको मुखैमा  रोजगारीको लागि जानुपर्ने आफ्नो बाध्यता भएको गुनासो गर्छन्। भन्छन्, 'घरमा ७० वर्ष कटेकी बूढीआमा हुनुहुन्छ यसपालि पनि टीका लगाउन पाइनँ धेरै नरमाइलो लागेको छ।'

'वर्ष दिनको चाड घर परिवारसँग मनाउने त रहर छ नि केर्नु घर परिवार पाल्नै पर्‍यो।' उताबाट आजैका लागि टिकट पाठाइदिएपछि जानुपर्ने बाध्यता आइपरेको खड्काले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.