|

काठमाडौं : नेपालीहरुको महान् पर्व वडादसैं २०७४ सुरु भएको छ। नेपालीहरुको घरदैलोमा भित्रिएको बडादसैंको अवसर पारेर दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।

चलचित्र 'छक्का पञ्जा-२' देशैभर एकसाथ प्रदर्शन भएको छ भने चलचित्र 'मेरो पैसा खोइ' राजधानीमा प्रदर्शन सुरु भएको छ। 'मेरो पैसा खोइ' राजधानीबाहिर अर्को हप्ता रिलिज हुने चलचित्र निर्माताहरुले बताएका छन्।

दसैं बिदाको सन्दर्भमा चलचित्र 'छक्का पञ्जा-२' प्रदर्शनमा आएसँगै देशैभरका हलहरुमा दर्शकको भिडभाड देखिएको छ। 'छक्का पञ्जा'बाट उल्लेख्य सफलता प्राप्त गरेपछि निर्माण गरिएको 'छक्का पञ्जा २' मनोरञ्जनात्मक तथा सन्देशमूलक रहेको बताइएको छ। 

राजधानीमा मात्र प्रदर्शनमा आएको 'मेरो पैसा खोइ'मा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिन्छ। 'छक्का पञ्जा' मा नरहेका नायिका स्वस्तिमा खड्का र स्वरूप पुरुष ढकाल 'छक्का पञ्जा २'को मुख्य कलाकारको रुपमा देखिएका छन्। दीपाश्री निरौलाद्वारा निर्देशित यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन्।

यस चलचित्रको कार्यकारी निर्माता विकास आचार्य हुन् भने पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका छन्। 
दीपक-दीपाको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा जितु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाई‌ं, सुमन गिरीको समेत लगानी छ।

यसैगरी, रोज राणाले निर्माण तथा निर्देशन गरेको 'मेरो पैसा खोइ'मा यौन व्यवसायमा संलग्न महिलाहरुको कथा समेटिएको छ। फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, कमलमणि नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरि र रविन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। उक्त चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.