|

झापाः झापा दमकका ३३ वर्षका मदन बोहोरालाई २०७२ सालदेखि दसैँ आएको छैन। उनलाई दसैँ कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ। 

दसैँकै समयमा सबैलाई उज्यालोमा राख्न खोज्दा आफू अँध्यारोमा पर्नुपरेको पीडा छ उनीसँग। २०७२ सालको दसैँको अष्टमीका दिन आफ्नो दायाँ हात गुमाउनुको पीडा अझै भुल्न सकेका छैनन् उनले। दमक– ३ स्थित बाघखोर चोकमा सडक बत्ती जडान गर्ने क्रममा उनले आफ्नो दायाँ हात गुमाए। 

उनले इलेक्ट्रिसियनको एक लेभलको तालिम लिएका थिए। त्यसैले उनलाई स्थानीयले सडक बत्ती बिग्रिएकाले बनाइदिन आग्रह गरे। कात्तिक २ गते अष्टमीका दिन बिजुलीको पोलमा चढे। उनले सडक बत्ती जडान गरेर झलल बल्ने बताए। ‘त्यो दिनदेखि मेरो दुःख सुरु भयो। त्यही दिन थियो मेरो कालो दिन। बत्ती त राम्ररी बल्ने बनाएँ’, उनी यसरी सम्झन्छन् त्यो कालो दिन, ‘पोलबाट झर्दै थिएँ, कसोकसो गर्दा ११ हजार भोल्टको हाइटेन्सन करेन्ट मेरो शरीरमा लाग्यो, त्यसपछि म बेहोस भएँ। केही थाहा पाइनँ। मैले थाहा पाउँदा म घोपामा अस्पतालको बेडमा थिएँ।’ 

उनलाई आफू बाँच्छु जस्तो लागेको थिएन रे! ‘म त अपवादको रूपमा मात्र बाँचेको हुँ, धन्न ज्यानचाहिँ बच्यो, एउटा हातै गयो’, भन्छन्, ‘मैले यसरी करेन्ट लागेकाहरू बाँचेको पनि सुनेको छैन।’

उनका लागि दसैँ त नआए पनि हुने बताउँछन्। ‘मेरा लागि दसैँ त नआए पनि हुने। दसैँ आउनासाथ यही घटनाको याद आउँछ’, उनी भन्छन्, ‘जन्मँदा सांग मान्छे पछि आएर अपांग बन्नुपर्दाको पीडा त मलाई मात्र थाहा छ।’

उनको उपचारमा करिब १६ लाख रुपैयाँ सकियो। विभिन्न संघसंस्थाले नौ लाख रुपैयाँजति सहयोग गरे। तर अझै उनीसँग आठ लाख रुपैयाँभन्दा धेरै ऋण छ। एउटा हात पनि गुम्यो, ऋण पनि उस्तै छ, अब कसरी कमाएर तिर्ने?’, उनी भन्छन्, ‘चार जनाको परिवार चलाउन मुस्किल छ। सबैभन्दा ठूलो समस्या त छोराछोरी पढाउन र उनीहरूको आवश्यकता पूरा गर्न छ।’

उनी अहिले दैनिकी चलाउन दमकमा किराना पसल गर्दै छन्। उनले दमक– ३ स्थित बाघखोरमा भएको घरसमेत साहुलाई जिम्मा लगाए। तर अझै ऋण सकिएको छैन। उनी भन्छन्, ‘बल्लतल्ल विदेश बसेर घर जोडेको थिएँ, त्यही घर पनि सकियो।’ अहिले उनी दमकमा डेरा बस्न थालेदेखि बाघखोरतिर जान छाडेका छन्। ‘त्यहाँ गएँ भने त्यही घटनाको याद आउँछ’, उनी भन्छन्, ‘जति बिर्सन खोजे पनि याद आइहाल्छ।’ 

उनको घाउ त निको भइसक्यो तर मनमा लागेको चोट अझै निको भएको छैन। धेरै मह्लम पट्टी लगाउने प्रयास त गरे तर उनले त्यो पीडा भुल्न सकेका छैनन्।

सुरुसुरुमा त उनलाई धेरै सहयोगको आश्वासन आएको थियो रे! तर अहिलेसम्म त्यो आश्वासन पूरा हुन नसकेको उनी बताउँछन्। भन्छन्, ‘त्यतिबेला त धेरैले छोराछोरी पढाइदिन्छु भन्दै आश्वासन दिन्थे तर अहिले त कोही छैन।’ त्यतिबेला त हात गुमाएर पनि खासै फरक नपर्ने रहेछ भन्ने सोचेका थिए रे उनले। ‘तर अहिले अवस्था ठीक उल्टो भयो’, उनी भन्छन्, ‘अहिले छोराछोरी पढाउन समस्या भएको छ। अब यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो?’

उनलाई अब अपांगता भएकाको लागि केही गर्ने सोच रहेको छ रे! अहिले उनले दमक अपांग सेवा समितिमा रहेर काम पनि गर्न सुरु गरिसकेका छन्। उनी भन्छन्, ‘अब म अपांगका क्षेत्रमा काम गर्छु। दमकमा रहेका विभिन्न सरकारी संरचनालाई अपांगमैत्री बनाउन पहल गर्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.