प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

साहित्य

फौजीको दसैँ: छुट्टी नपाउँदा पड्किएको बन्दुकको ब्यारेल जस्तो हुन्छ मन
SHARES

असोज ११, २०७४

    दसैँ आउनु एकाध महिनाअघि नै घरबाट हरेक फौजीलाई आफ्ना बाआमाले फोन गरेर सोध्ने गर्छन्, 'दसैँमा घर आउँछस् कि आउँदैनस्? वा कहिले आउँछस् बाबू?' यसरी सोधिने प्रश्नको जवाफ निराशाजनक आउँछ भन्ने जान्दाजान्दै पनि बाआमाहरू प्रत्येक वर्ष प्रश्न यही दोहोर्‍याउन छाड्दैनन्। अनि फेरि पनि सुन्न बाध्य हुन्छन्, 'खै, ठेगान छैन, मिल्यो भने टीका लाउनसम्म आउँछु कि!'

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत लगभग सबै फौजीहरूका आफन्तका लागि साझा जवाफ हो यो। यहाँ जवाफकर्तामा अनिश्चितता र बाआमाको सदाबहार चिन्तालाई आश्वस्त पार्ने कमजोर प्रयाससम्म मात्र सुनिन्छ। तर घरपरिवारसँग भेटेर दसैँ मनाउन पाउने/नपाउने कुनै ग्यारेन्टी भने छैन। एउटा फौजी हुनुको नाताले यो पीडा मैले हरेक दसैँमा गहिरोसँग अनुभूत गरेको छु।

    कार्यप्रकृति र जिम्मेवारीका हिसाबले नेपाल प्रहरीसमेतलाई 'फौजी' नामकरण गर्दा शाब्दिक शुद्धता नभए तापनि यो संगठन सञ्चालन र कार्यविधिका दृष्टिले यसको सदस्यलाई फौजी भन्दा अन्यथा नहोला कि भन्ने बुझाइ छ मेरो।

    मानव जीवनमा सुख-दु:खका घडीहरू आउने असंख्य कारण वा वहानाहरू हुन्छन्। खुसी उमार्ने ती वहानामध्ये चाडपर्व, महोत्सव तथा यसका नाममा हुने पारिवारिक जमघट पनि हुन्। अझ हाम्रो जस्तो पूर्वीय समाजमा धार्मिक वा साँस्कृतिक रूपमै हुने अनिवार्य जस्तै पारिवारिक भेटघाटको महत्त्व पक्कै पनि बढी छ। फौजी हौँ वा गैरफौजी, हामी अधिकांश नेपाली यसरी हुर्किएका छौँ कि कहिले दसैँ-तिहार (वा अन्य चाडपर्व) आउला र नयाँ लुगा लगाउन पाइएला, मासुभात खान पाइएला, स्कुल छुट्टी होला, साथीभाइसँग भेटघाट होला, देउसी-भैलो खेल्न पाइएला, पिङ खेल्न पाइएला, मामाघर जान पाइएला, शहरबाट जागिरे आफन्तहरू कोसेलीसहित आइपुग्लान् भन्ने सोचिरहेका हुन्छौँ।

    यावत् कल्पनाहरूले बाल्यकालमा त्यसै-त्यसै मन असीमित नै फुरुङ्ग हुने गरेको भनुभव छ हामी धेरैसँग। हाम्रो मनोग्रन्थीको निर्माण नै यिनै चिजहरूको मिसमासबाट भएको छ। भलै, आज यी कुराहरूले नेपाली जनजीवनमा महत्त्व राख्न छाडिरहेका छन् क्रमश:। तर दसैँ आउनुअघिदेखि यी दृश्यहरू कल्पिएर खुसी हुँदै हुर्किएको ठूलो संख्यामध्ये एउटा प्रतिनिधि पात्र यो पंक्तिकार पनि हो। यसरी हुर्किएको जो कोहीलाई कुनै पनि वहानामा दसैँमा घर जान नपाउने कल्पनाले कति पिरोल्दो हो, यसको बयान गरिरहन जरुरी किन पो पर्छ र!

    चाहे चौबीसै घण्टा ड्यूटीमा खटिनेछु भनी कसम खाएको फौजी होस् वा परिआएको बेला मेरा छोरा/छोरी जतिबेला पनि खटिनुपर्छ भनेर बुझेका बाआमा नै किन नहुन्, यो कल्पना कदापि सुखद हुँदैन।

    प्राकृतिक विपत्ति, चुनाव वा कुनै विशेष समारोहमा जस्तै दसैँ-तिहार आउनुअघि नै हेडक्वार्टरले प्रहरी चौकीसम्म विशेषगरी चौबीसै घण्टा खटिनुपर्ने कार्यालयहरूलाई लक्षित गरी एउटा सञ्चार पठाउँछ, 'क्रिया र सुत्केरी बिदाबाहेक अन्य सबै बिदा बन्द गरिएको निर्देशानुसार जानकारी... !' त्यसपछि घरबाट आएको फोनको कारण उत्पन्न मानसिक पीडामाथि घिउ थप्ने काम गर्छ यस्तो सञ्चारले। फौजीको लागि बिदा अधिकार होइन, सहुलियत हो भन्ने पनि थाहा छ। र, कर्तव्यबोधका बाबजुद पनि ड्युटीमा निर्वाह गर्नुपर्ने जोश जाँगरमा नजानिँदो ढंगले ह्रास आउँछ विस्तारै।

    व्यावसायिक जीवनमा सफल कैयौँ सिनियर तथा जुनियर अधिकृतहरूको मुखबाट सुनेको छु, 'चाडबाडमा आफन्तहरूसँग बसेर मनाउन पाइन्न, यही नै फौजी हुनुको दु:खद पक्ष हो।' यो भनाइमा असहमत हुने ठाउँ पनि छैन।

    फौजीले आफ्नो मानसिकता कमजोर भएको छ भन्नु वाञ्छनीय वा शोभनीय त होइन, तर मन त आखिर मनै हो फौजीको पनि। यसको गठन अरूको भन्दा फरक तत्त्वले त हुने होइन। सबैजना रमाइलो गर्दै घरपरिवारसँग हुनेछन् तर आफू भने फौजी भएकै नाताले बिदा जान पाइन्न। उता, बाआमा र अरू आफन्तहरू बाटो हेरेर बस्नेछन्। दसैँ नजिकिँदै जाँदा मन यस्तै-यस्तै नमीठा तर्कनाहरूमा अल्झिन थालिसकेको हुन्छ र थिच्दै जान्छ चरम न्यास्रोपन र एक्लोपनको भारीले।

    फौजी जीवनको लागि एउटा नमीठो सत्य छ, जनता सुतेको बेला आफू चनाखो भएर जाग्नुपर्छ। सैद्धान्तिक रूपमा सबै सुरक्षाकर्मीहरूलाई राम्ररी थाहा छ, जनता चाडबाड वा उत्सवमा रमाइरहेको बेला अझ सचेत भएर ड्यूटीमा खटिनुपर्छ। यस्तो बेला चोरी, डकैती, लुटपाट, जुवातास वा दुर्घटना हुन सक्ने संभावना बढी नै हुन्छ। मादक पदार्थको सेवन तथा झैझडाले अकल्पनीय घटनाहरू बढेर जान्छन्। तर यथार्थ बुझेर पनि सधैँ दृढताकै लागि प्रशिक्षित फौजी मन दसैँको बेला किन-किन परास्त भइहाल्छ।

    भदौको अविरल झरीले गलेको पहिरोको माटो जस्तै गल्दै-गल्दै जान्छ क्रमश: फौजी मन। ‘टीका लाउन मात्र भए पनि घर जान पाए हुन्थ्यो’ भन्ने झिनो आशा लिएर आफ्नो कमाण्डरलाई रिपोर्ट गरे पनि उसले तजबिजी शैलीमा भनिदिन्छ, ‘बिदा हुन्न, दसैँमा थप ड्यूटीको आवश्यकता पर्छ।’ नरम स्वभावको हाकिमले भन्न सक्छ, 'नजिक घर हुनेले आलोपालो टीका लगाएर फर्किने।' हुनत यो आदेश एक हिसाबले कमाण्डरको व्यवस्थापकीय क्षमताको उपज पनि हो। दसैँलगायतका चाडपर्वमा विशेष सुरक्षा योजना बनाएर कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूको 'मोबिलिटी' बढाउनुपर्ने जिम्मेवारी त कमाण्डरमा छँदै छ, थोरै जनशक्तिलाई अधिकतम परिचालन गरेर पनि सुरक्षा प्रबन्ध मिलाउन सकिन्छ असामान्य अवस्था नआएको खण्डमा। तर यो क्षमता सबै कमाण्डरमा समान हुन्छ भन्ने छैन। यसको गहिरो असर मातहतका तमाम जवान तथा अधिकृतहरूमा परिरहेको हुन्छ।

    दसैँ नमनाउने वा मनाउन नमिल्ने, टाढा घर भएका तथा तिहारमा पालो गर्ने साथीहरू छन् र हाकिमले व्यवस्थापन गर्न जाने र आँटे भने थोरै भाग्यमानीहरूले मात्र छोटो समय घरमा पुगेर दसैँ मनाउने सौभाग्य पाउने छन् फौजमा। तर घर जानेहरूले पनि भारी मन लिएर तुरुन्तै अफिस फर्किनु त परिहाल्छ अरू साथीलाई पालो दिन। यसरी हतार-हतार घर छोडेर फर्किंदाको पीडा पनि भनिसाध्य हुँदैन। यसबाहेक बाँकी रहेकाहरूले कार्यालय वा ब्यारेकमै मनाउनुको विकल्प हुँदैन।

    दसैँको बेला फौजीको मेसमा मीठो मसिनो खाने कुराको व्यवस्था त गरिएको हुन्छ नै। सबै साथीभाइ एकै ठाउँमा बसेर खाँदाको मज्जा त छँदै छ तर चाडबाडमा भने जस्तोसुकै किन नहोस् आमाले बनाएको खाना अवश्य मिस हुँदोरहेछ। आमाको हातले बनाएको मीठो मसिनो खान्कीलाई कहिल्यै पनि ब्यारेकको बडाभोजका ब्यञ्जनहरूले माथ लाउन नसक्ने रहेछन्। सायद 'होमसिक'को कारण पनि यस्तो भएको हुन सक्छ। टीकाको साइतमा कमाण्डरले आफू मातहतका सबैलाई टीका लगाइदिने चलन छ। यसले एकहदमा टीका थाप्नेहरूको मन बुझाउने बाटो त हुन्छ तर कमाण्डर स्वयंलाई भने टीका लगाइदिने कोही हुँदैनन्। यतिबेला सबैलाई चित्त बुझाउनुपर्ने हाकिमको आफ्नै चित्त भने कुँडिएर जान्छ।

    यो पंक्तिकारले पनि एकाध कार्यालयको कमाण्ड समाल्ने क्रममा दसैँको टीकाको दिन नजानिँदो गरी आँसु खसेको अनुभव गरेको छ, बाआमा र घर सम्झिएर। तर अरू कसैले नदेख्ने गरी किनकि सबैलाई थाहा छ, फौजीको मनस्थिति कदापि कमजोर हुँदैन र कमजोर देखाउन पनि भएन। कमाण्डरले मातहतमा रहेकालाई नियन्त्रण, निर्देशन वा आश्वस्त पार्न सक्छ तर आफ्नै मनलाई त्यसो गर्न भने कठिन हुँदोरहेछ। कार्यालय नजिककै आफूभन्दा कुनै जेष्ठ व्यक्तिसँग रातो टीका लगाएर निधार ढाक्ने प्रयास त गरेको हुँ तर उडेर घरमै पुग्ने मनलाई भने ढाक्न नसकिने रहेछ। अझ सडकमा रमाउँदै रातो टीकामा सजिएर हिँडिरहेको मान्छेहरूको ताँती, वरपर रहेका निजामती कार्यालयहरू बन्द रहेको देख्दा नरमाइलोपनले हद नाघेर जाने कुरा भइहाल्यो।

    कार्यप्रकृति र जिम्मेवारीको हिसाबले नेपालका लगभग दुई लाख सुरक्षाकर्मीमध्ये दसैँ-तिहारलगायतका चाडपर्वमा बिदाको समस्या सबैभन्दा बढी नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बलमा रहेको छ। सुरक्षाकर्मीहरूमा फस्टाइरहेको चरम निराशा र तनावका विभिन्न कारणमध्ये बिदालाई व्यवस्थापन गर्न नसक्नु पनि एक हो। राजनीतिक हस्तक्षेप, अनुशासनहीनता, संगठनप्रतिको घट्दो जनआस्था, विश्वव्यापीकरणको प्रभाव, बढ्दो महँगीलगायतका अनेक कारणले सक्षम अधिकृतहरू संगठन छाडेर पलायन हुने र तल्लो स्तरका सुरक्षाकर्मीको ठूलो संख्याले धमाधम राजीनामा दिइरहेका छन्। उपयुक्त तरिकाले बिदाको व्यवस्थापन हुन नसक्दा पनि यस क्रमलाई थप प्रश्रय मिलेको हो। वर्षैभरि प्रेसरमा काम गर्नुपर्ने तर चाडपर्वमा भने बिदा नपाउँदा निश्चय नै काम गर्ने मनोबलमा ह्रास हुनु र डिप्रेशनले हमला गर्नु अस्वाभाविक पनि होइन।

    हामीले देखिरहेकै छौँ, सुरक्षाकर्मीहरूले गर्ने आत्महत्याको संख्या वर्सेनि बढिरहेको छ। यो आफैँमा सुरक्षा निकायमा तनाव व्यवस्थापनको महत्त्वपूर्ण 'इस्यु' पनि हो। यसले मुलुकको शान्ति सुरक्षा र अमन चयनलाई कायम राख्न गठित सुरक्षा निकायहरूको उद्देश्यमा पक्कै पनि नकारात्मक असर पारेकै छ। व्यावसायिक जीवनमा सफल कैयौँ सिनियर तथा जुनियर अधिकृतहरूको मुखबाट सुनेको छु, 'चाडबाडमा आफन्तहरूसँग बसेर मनाउन पाइन्न, यही नै फौजी हुनुको दु:खद पक्ष हो।' यो भनाइमा असहमत हुने ठाउँ पनि छैन। ‘देश र जनताको सेवा गर्नु छ। यसमा कुनै अफसोच छैन’ भन्नु त छँदै छ र सेवा पुर्‍याएकोमा सन्तुष्टि पनि हुन्छ नै धेरै हदसम्म।

    तर पनि हामी जुन दैनिकी, परिवेश, सँस्कृति र मानसिकताका बीच हुर्किएका छौँ, पक्कै पनि दसैँ जस्ता चाडपर्वको बेला परिवारसँग अलग भएर ड्युटीमा मात्र केन्द्रित हुँदा आँखामा आँसु त नदेखिएला तर अनुहार मलिनता, मन भारी र मनस्थिति कमजोर हुन्छ। जसरी आज फूलपातीको दिन अधिकांश फौजीहरू हात बन्दुकतिर र मन घरतिर बाँडेर ड्यूटीमा बस्नुपरेको छ, उता बाआमा पनि उस्तै मानसिकतामा छन् घरमा।

    कर्तव्य, जिम्मेवारी, बाध्यता र घरपरिवारको झल्झली यादहरूको दोहोरो चेपुवा र तापमा छुट्टी नपाउँदा फौजीहरूले ड्यूटीमै दसैँ यसरी बिताउनुपर्छ कि मानौँ, उनीहरूको मन कुनै फायर भएको बन्दुकको ब्यारेल जस्तो रापिएको छ।

वाक्सेली थापा

नेपाल प्रहरीमा कार्यरत थापा नेपाली साहित्यका विविध विधामा कलम चलाउँछन्। उनको 'भष्मासुरको देश' कविताकृति प्रकाशित छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]