|

पर्सा : वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले तलब र सरकारी सेवा–सुविधा नलिने घोषणा गरेका छन्। संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रहेका सरावगी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीभन्दा २१९६ मत बढी ल्याएर विजयी भएका हुन्।

सरावगीले १९३९३ मत ल्याए भने द्विवेदीले १७१९७ मत मात्रै ल्याए। तेस्रो स्थानमा सिमित भएका राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले भने १२१६५ मत प्राप्त गरेका छन्। नेपाल लोकतान्त्रिक फोरमका  विमल श्रीवास्तव भने ८७०१ मतका साथ चौथो स्थानमा रहे। नेकपा एमालेका बसरुद्धिन अन्सारी ८६८८ मतका साथ पाँचौ स्थानमा रहे। नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८३०५ मतका साथ  छैठौ भएका छन्।

यस्ता छन् सरावगीका योजना

उनले वीरगंज महानगरपालिकामा सबैभन्दा बढी भोजपुरी भाषा बोलिने भएकाले महानगरभित्र कामकाजीको भाषा भोजपुरी नै हुने बताएका छन्। यसैगरी निःशुल्क उच्च बालिका शिक्षा र आउँदो शैक्षिक सत्रदेखि महानगरभित्रका सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई हुने घोषणा गरेका छन्। 

उनले ३ मिहना भित्र यहाँको फोहर, नाला, खानेपानी, बिजुली बत्ति, सडकको खाल्डो–खुल्डो समेत पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै नवनिर्वाचित प्रमुख सरावगीले महिलाहरुको लागी हरेक घर घरमा रोजगारीको सृजना गर्ने उदेश्यले उद्यमशिलताको विकास गर्ने बताएका छन्। उनले विदेश पलायनबाट युवाहरुलाई रोक्नका लागि सीपमुलक कार्यक्रमहरु ल्याउने बताए। 

२० वर्षदेखि हुन नसकेको विकास ५ वर्षभित्रै गरेर देखाउने उनको दाबी छ। महानगरलाई स्याटेलाईन सिटीको रुपमा विकास गर्ने उनको योजना छ। 
उनले आफ्नो कार्यकालमा महानगरमा विश्वविद्यालय स्थापना गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

प्राविधिक शिक्षालाई जोड दिई हरेक युवाको केन्द्रबिन्दु वीरगंजलाई बनाएर छाड्ने उनले घोषणा छ। उनले नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्री अस्पतालका रुपमा स्तरोन्नती गरिने घोषणा गरेका छन्। 

व्यापारिक पृष्ठभूमिबाट आएका सरावगी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष र ३ पटक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन्। समाजसेवामा समेत सक्रिय रहेका उनी उद्योग वाणिज्य समितिका संयोजक, एशियन लाईफ इन्स्योरेन्सका अध्यक्ष, ज्ञानदा एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका अध्यक्ष समेत हुन्। अहिले उनी संघीय सामाजवादी फोरम नेपालका मधेश प्रदेश कोषाध्यक्ष समेत छन्। 

उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की विजयी 

महानगरको उप–प्रमुखमा कांग्रेसकी शान्ति कार्की विजयी भएकी छिन्। उनी निकटतम् प्रतिद्वन्द्वी फोरम नेपालकी उप–प्रमुखकी उम्मेदवार पिंकी यादवभन्दा १०७७ मतान्तरले अघि रहिन्। 

कार्कीले १९६०७ मतका ल्याइन् भने फोरम नेपालकी उम्मेदवार पिंकी यादवले १८५३० मत मात्र ल्याइन्।राजपाकी रम्भा मिश्राले १०६६३,  एमालेकी सोफिया आचार्य भने १०३४१,लोकतान्त्रिक फोरमकी रिंकु देवि यादवले ७५८६ र माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५०२८ मत मात्रै प्राप्त गरिन्।

वीरगन्जका १२ वटा वडामा फोरम र १० वटा वडामा काँग्रेस विजयी

महानगरका कुल ३२ वटा वडा मध्ये  फोरम नेपालले सबैभन्दा बढी १२ वटा वडामा जित हात पारेको छ। यस्तै नेपाली काँग्रेसले १० वटा वडामा,  नेकपा एमालेले ५ वटा वडामा, राजपाले ३ वटा वडामा, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक  वटा वडाको अध्यक्षमा जित हात पारेको छ। 

वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका शेख अब्बास, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानु, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया , वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल, वडा नम्बर ७ मा फोरम नेपालका बसन्त भक्कड, वडा नम्बर ८ मा एमालेका राज किशोर गुप्ता, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार, वडा नम्बर १० मा काँग्रेसका रामनगीना प्रसाद कानु, वडा नम्बर ११ मा एमालेका प्रधुम्न सेढाँइ, वडा नम्बर १२ मा फोरम नेपालका राम दरश प्रसाद कुशवाहा, वडा नम्बर १३ मा फोरम नेपालका तुफान फारुक अन्सारी, वडा नम्बर १४ को वडा अध्यक्षमा  फोरम नपालकै भरत कुर्मी विजयी भएका छन्।

वीरगन्जको वडा नम्बर १५ मा काँग्रेसका गजेन्द्र कुर्मी, वडा नम्बर १६ मा फोरम नेपालका श्यामबाबु चौरसिया, वडा नम्बर १७ मा फोरम नेपालका सुखरानी देवी, वडा नम्बर १८ मा काँग्रेसका ब्रम्हदेव कुर्मी, वडा नंबर १९ मा लोकतान्त्रिक फोरमका संतोष तिवारी, वडा नम्बर २० मा माओवादी केन्द्रका पारस प्रसाद यादव, वडा नम्बर २१ मा काँग्रेसका हबीब मिया, वडा नम्बर २२ मा फोरम नेपालका ग्यासुदीन मिया, वडा नम्बर २३ मा एमालेका अवध किशोर कुशवाहा, वडा नम्बर २४ मा काँग्रेस दशरथ प्रसाद कुर्मी, वडा नम्बर २५ मा फोरम नेपालका बिराज राउत कुर्मी, वडा नम्बर २६ मा काँग्रेसका शम्भु मिश्रा,वडा नम्बर २७ मा एमालेका प्रदीप यादव, वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी कुर्मीन्, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी  र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी भएका छन्।

कुल १ लाख ८ हजार ५ सय १ जना मतदाता रहेको वीरगन्ज महानगरपालिकामा असोज २ गते भएको निर्वाचनमा ८४ हजार एक सय ६० मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.