|

झापा : झापाको दूधेमा सम्पन्न प्रथम दूधे गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले हात पारेको छ। बुधबार भएको फाइनल खेलमा शसस्त्र प्रहरीको विभागीय टोली एपीएफलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइजले उपाधि आफ्नो पोल्टामा पारेको हो। 

जितसँगै चर्च ब्वाइजले नगद ३ लाख १ हजार मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ। उपविजेता बनेको एपीएफले १ लाख ५१ हजार नगद मेडल ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो।

खेलमा अग्रता भने एपीएफले लिएको थियो। पहिलो हाफको २८ औँ मिनेटमा एपीएफका सन्तोष श्रेष्ठले गोल गरे। उनले सेकेण्ड बारबाट प्रहार गरेको बल चर्च ब्वाइज गोल रक्षकले रक्ष ागर्न नसक्दा गोलमा परिणत भएको थियो।

यस्तै खेलको ४० औँ मिनेटमा एपीएफका लागि हरि कार्कीले गोल गरे। पहिलो हाफमा २ गोलको अग्रता लिएको एपीएफले दोस्रो हाफमा सम्हालिन सकेन। दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको चर्च ब्वाइजले लगातार २ गोल फर्कायो। 

चर्च ब्वाइजका लागि दोस्रो हाफको १३ औँ मिनेटमा कप्तान वर्षात गुरुङले पहिलो गोल गरे। त्यस्तै दोस्रो हाफको ३५ औँ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी अजय मार्टीनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

त्यसपछि भएको टाइब्रेकरमा समेत दुबैले बराबरी गोल गरे। जसका कारण सडेन डेथबाट खेलको निर्णय लिइयो। एपीएफका रुप बहादुर लामाको गोल पोलमा ठोक्किएर बाहिरिएपछि चर्च ब्वाइजले जित हात पारेको हो।

यसैबीच दूधे गोल्डकपको फाइनलको अवसर पारी विगत पाँच दशक भन्दा बढी समय फुटबल क्ष्ोत्रमा सेवा गर्ने झापाका सन्त रायमाझीलाई नगद ५ हजार सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। 

रायमाझीलाई नेपाल सरकारका आपूर्तिमन्त्री शिवकुमार मण्डलले उक्त अवार्ड प्रदान गरे। फाइनलमा विजयी टिमका छिरिङ गुरुङ म्यान अफ द म्याच घोषित  भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी प्रतियोगिताको हाइस्कोर एपिएफका युवराज खड्का घोषित भए। उनले प्रतियोगिता भर ३ गोल गरेका थिए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी चर्च ब्वाइजका वर्षात गुरुङ भए। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी आयोजक दूधे युथ क्लबका सन्जिव राई भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.